अन्र्तराष्ट्रिय चेस प्रतियोगितामा भारतका बाल खेलाडी अगाडि


धरान, चैत ५ । यहाँ जारी अन्र्तराष्ट्रियस्तरको प्रथम बुढासुब्बा खुल्ला फिडे रेटिङ चेस प्रतियोगितामा मंगलबार आठौं चरणका खेल सकिएको छ । धरानस्थित कवर्ड हलमा आठौं चरणको खेल सकिदासम्म भारतीय दुई बाल खेलाडी समान अंकमा साथ अग्रस्थानमा रहेका छन् ।
एक चरणको मात्रै खेल बाँकी रहदा भारतका १२ बर्षीय सौरव आनन्द र १४ बर्षीय कुमार गौरव समान ७ अंकका साथ अग्रस्थानमा छन् । मंगलबार आठौं चरणको खेलमा १९७२ फिडे रेटिङका सौरवले भारतकै १९६० रेटिङका दिलिप दासलाई हराउदै महत्वपुर्ण एक अंक बटुलेका थिए । यस्तै, २००५ रेटिङका बालखेलाडी कुमार गौरवले मंगलबार नेपालका १९६४ रेटिङका पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुलकारलाई हराउदै एक अंक पाएका थिए । सौरवसँग मंगलबार हारेका दासको ६ अंक छ भने कुमारसँग पराजित तण्डुलकारको ५ अंक छ ।

यसैगरि, २०७० फिेड रेटिङ भएका सुरविर लामाले मंगलबार प्रकाश नेपाललाई पराजित गर्दै आफ्नो अंक ६ पुर्याएका छन् । १९७५ रेटिङ भएका प्रकाशको ५ अंक छ । यस्तै, २०३५ रेटिङका फिडे मास्टर मनिष हमालले १९४२ रेटिङका गणेशमान दुवाललाई हराउदै अंक ६ बनाएका छन् । पराजित दुवालको ५ अंक छ ।
 मंगलबार खेल बराबरी भएपछि २०८७ रेटिङका बद्री नेपाली र २०३३ रेटिङका राजेन्द्र राजभण्डारी दुवैको समान अंक ५.५ भएको छ । यसैगरि, मंगलबार ४.५ अंकबाट खेल शुरु गरेका प्रज्वल घिमिरले लक्ष्मण लिम्बूलाई हराउदै महत्वपुर्ण एक अंक थपे । १९०४ रेटिङका घिमिरले आफ्नो अंक ५.५ पुर्याउदा लिम्बू भने ५ अंकमै रोकिए ।

स्वीस लिग प्रणालीमा खेलाइएको प्रतियोगितामा मंगलबार ६० जना खेलाडी मात्रै सहभागी भएको राष्ट्रिय निर्णायक एवं प्रतियोगिताका सहायक निर्णायक विजयकुमार थापाले जानकारी दिए । उनका अनुसार बुधबार हुने अन्तिम तथा ९ औं चरणका खेलमा पनि पुछार अंक तालिकामा रहेका कतिपय खेलाडीले सहभागीता नजाउने जानकारी गराईसकेको उनले खुलाए । सुनसरी जिल्ला बुद्धिचाल संघको आयोजनामा फागुन ३० गतेबाट शुरु भएको प्रतियोगितामा शुरुमा ५५ नेपाली र १५ भारतीय खेलाडीहरुले भाग लिएका थिए ।
बुधबार सम्पन्न हुने प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ भने दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १७ हजार र १२ हजार पाउने आयोजक संघका अध्यक्ष गौतम कुलुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा चौथो हुने खेलाडीले नगद ८ हजार र पाँचौ हुनेले नगद ६ हजार पुरस्कार पाउनेछन् । छैठोदेखि १० औं स्थानसम्मका खेलाडीले जनही ४ हजार र प्रमाण पाउनेछन् भने ११ देखि १५ औं स्थानसम्मका खेलाडीले जनही ३ हजारका दरले नगद पुरस्कार पाउने संघले जनाएको छ ।
            (०७० चैत ५ गतेको नागरिक दैनिकमा प्रकाशित)








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे