बस यात्रामा लठ्याएर वृद्धालाई लुट्ने महिला पक्राउ


धरान । बस यात्राको क्रममा बृद्धाहरुलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि बृद्धाहरुलाई लठ्याएर लुटपाटमा संलग्न भरौल ७, सुनसरी घर भई हाल खनार ६ मा डेरा गरी बस्ने ५६ बर्षीय कुमारी विष्णु कटुवाललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
पछिल्लो समयमा यही फागुन १२ गते धरानबाट लेटाङ हिडेकी ७३ बर्षीय डिल्लीमाया लिम्बू पनि लुटिएपछि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान तीब्र बनाएको थियो । विभिन्न उपाय लगाउदै सक्रिय रहेको प्रहरीले अन्ततः लुटेरा कटुवाललाई खनारस्थित डेराबाट पक्राउ गर्न सफल भयो । अभियुक्त कटुवाल पेशेवार लुटेरा भएको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका कटुवाल र उनको साथबाट वरामद समानहरु सार्वजनिक गरेको थियो । डिएसपी सञ्जयसिंह थापाका अनुसार नौ गेडी सुन ९ थान, सुनको वाला एक थान, ५ थान मोवाइल, केही नगद र लठ्याउने औषधी एक सय २१ थान वरामद भएको छ । ‘डिल्लीमायाको लुटिएको करिब ५ तोला सुनको गहना, कपडा र मोवाइल वरामद भएको छ, अभियुक्तले अपराध पनि स्वीकार गरिसकेका छन्’–डिएसपी थापाले भने ।
वरामद सामानहरुका साथ अभियुक्त कटुवलालाई सार्वजनिक गर्दै प्रहरी ।
प्रहरीका अनुसार डिल्लीमाया र उनीअघि असोज १८ गते धरानबाट बेलबारी जानेक्रममा नशालु पेय पदार्थ खुवाएर लुटिएकी केरौन १, मोरङकी ६६ बर्षीय लहनसरी राईले पनि अभियुक्त कटुवालको सनाखत गरिसकेका छन् । लुटिएका सुनका गहनालाई कटुवालले विभिन्न सुन पसलहरुमा धितो राख्ने र विस्तारै थप रकम झिकेर बिक्री गर्ने गरेको डिएसपी थापाले जानकारी दिए । ‘एकै चोटी बिक्री गर्दा सुन पसलेले नपत्ताउने भएकोले शुरुमा धितो राख्ने र विस्तारै अरु पैसा झिक्ने गरेको देखियो’–डिएसपी थापाले भने–‘उनको डेरामा हेर्दा जीवनशैली पनि आश्चर्यजनकरुपमा भव्य रहेको भेटियो ।’ कटुवालले छिमेकीहरुलाई आफु जग्गाको कारोबार गर्ने भन्ने गरेको प्रहरीले जनायो ।
प्रहरी निरीक्षक मुकुन्द रिजालका अनुसार अभियुक्त कटुवालसँग लठ्याउने औषधी ठुलो मात्रा भेटिनुले उनी पेशेवर लुटेरा रहेको पुष्टि भएको छ । ‘कसरी लुट्ने, कसलाई लुट्ने र कहिले भनेर एकदमै योजनावद्धरुपमा घटना गराउने गरेकोले पेशेवर लुटेरा भएको पुष्टि हुन्छ’–उनले भने । अभियुक्त कटुवाललाई जर्बजस्ती चोरीको साथै ज्यान मार्ने उद्योगमा पनि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । कटुवालले विगतमा पनि थुप्रै लुटपाट गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालयमा मंगलबार घटनाबारे जानकारी दिदै पीडित वृद्धा लहनसरी राई(दाया) र अर्की वृद्धा डिल्लीमाया लिम्बू(बाँया) ।

वरामद सामानहरुका साथ अभियुक्त कटुवलालाई सार्वजनिक गर्दै प्रहरी ।

Comments

  1. नेपाली चलन चल्तीको उखान चरितार्थ - "धुवाँ र प्रेम लुकाएर लुक्दैन" त्यस्तै "लोभले लाभ, लाभले बिलाप" कुमारी कटुवाल जी ले गलत काम गरेर लुक्न सकिदैन भन्ने कुरा थाहा पाउनु भएकै थिएन रहेछ, अब बल्ल यो कुराको जानकारी भयो आफैलाई अनुभव । प्रिय ब्यबसायमा अब राम्रै गरी ब्रेक लागेछ, बेश भयो ।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे