तीन दिने अनलाइन आइटी मेला शुरु
धरान । सुचना प्रविधिको नयाँ आविष्कार एवं उपलब्धीहरुसम्म सर्वसाधारणहरुको पहुँच पुर्याउने उद्देश्यले धरानमा तीन दिने अनलाइन आइटी मेला शुरु भएको छ ।
कम्प्युटर तथा सुचना प्रविधिबारे पढाईसँगै बिक्रीवितरण गर्दै आएको धरानस्थित अनलाइन कम्युटरले आफ्नो १३ औं बार्षिकोत्सवको अवसर पारेर आइतबारदेखि आइटी मेला आयोजना गरेको हो । तीन दिनसम्म चल्ने आइटी मेलाको उद्घाटन नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खगेन्द्र प्रसाद खतिवडाले गरेका थिए । मेलामा सुचना प्रविधिका पछिल्ला उपलब्धीहरुलाई प्रर्दशन गरिनुका साथै सस्तो एवं सुलभ मुल्यमा विक्रीवितरण पनि गरिने अनलाइनका प्रबन्ध निर्देशक प्रदिप दाहालले जानकारी दिए । उनका अनुसार मेलामा डेल, एसर, एसस, एचपिलगायत चर्चित ब्राण्डका ल्यापटप, ट्याब्लोइट पिसि, विभिन्न ब्राण्डका इन्टरकम, पेनड्राइभ, हार्डडिस्कलगायत प्रर्दशनी र बिक्री राखिएका छन् । यी सबै सामानहरुमा क्यास छुट दिइएको उनको भनाई छ ।
‘मेलाको मुख्य उद्देश्य सुचना प्रविधिको क्षेत्रमा पछिल्लो समयमा के कस्ता कुराहरु आएको छ, भनेर सर्वसाधारणहरुलाई साक्षात्कार गराउनु नै हो’–दाहालले भने । मेलाको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सफरले सेवा लिने उपभोक्ताहरुलाई एन्टेना र इन्टरनेट जडानमा लाग्ने खर्च मिनाहा गरिदिने घोषणा पनि गरेको छ । यो कम्पनीले जडान खर्च वापत तीन हजार शुल्क लिने गरेको थियो । आइटी मेलामा ५० वाटको पावरले चल्नसक्ने ताइवानको फक्स कर्न कम्पनीले उत्पादन गरेको न्यानो पिसी नामको डेस्कटप कम्प्युटरको बिषेश प्रर्दशनी राखिएको छ । वायरलेस सुविधासमेत भएको यो कम्पयुटर दुर्गम क्षेत्रमा ५० वाटको सोलरले पनि चलाउन सकिने प्रबन्ध निर्देशक दाहालले बताए । ‘यसको मनिटरलाई ५ वाट र सानो सिपियुलाई ४५ वाटको वापर चाहिन्छ, विकट पहाडी क्षेत्रमा ५० वाटको सोलरले मजाले चलाउन सकिन्छ’–उनले भने–‘यसको मुल्य ३० हजार मात्रै हो ।’

Comments
Post a Comment