सोयल कन्जरभेसनको भवनमा बसेकालाई प्रशासनले हटायो


धरान । सँस्कृत वेद विद्याश्रमले भोगाधिकार पाएको बराहक्षेत्र १, चतरास्थित सोयल कन्जरभेसनको भवनमा कब्जा गरेर बसेका परिवारलाई सोमबार प्रशासनले हटाएको छ । भवनमा बसेका परिवारलाई हट्न पटक पटक आग्रह गरेपनि अटेर गरेपछि सोमबार सुरक्षाकर्मीको मद्दत लिएर जिल्ला प्रशासन कार्यालय सुनसरीले भवन खाली गराएको हो ।
तीन पटक ३५ दिने सुचना निकाले पनि अटेर गरेको र अन्तिम पटक निकालेको २० दिनको सुचना आइतबार सकिएपछि सोमबार सुरक्षा निकायको मद्दतमा हटाइएको प्रशासनले जनाएको छ । विद्याश्रमले भोगचलनको अधिकार पाएको भवन कब्जा जमाएर बसेकोले खाली गराउन नेपाल सरकारबाटै आदेश आएकोले कार्यान्वयन गरेको सुनसरीका निमित्त प्रजिअ चण्डेश्वर पोख्रेलले बताए । ‘तीन पटक सुचना जारी गर्यौं, र अन्तिम पटक दिएको २० दिनको समय पनि हिजो सकियो’–पोख्रेलले भने–‘हामीले जर्बजस्ती भने गरेनौं, आज स्वेच्छाले उहाँहरुले छोड्नु भएको हो ।’


भारत सरकारले आफ्नो स्वामित्वको सोयल कन्जरभेसनको करिब १६ विघा जमिन र भवनहरुलाई सिचाईको क्षेत्रीय निर्देशनालयको जिम्मा लगाएको थियो । त्यहाँ डेढ दर्जन जति भवनहरु थिए । वाल सन्त मोहनशरण देवाचार्यले ०५९ सालदेखि सो स्थानमा विद्याश्रम स्थापना गरेर अध्यापनको शुरुवात गरेका थिए । उनको आग्रह वमोजिम नेपाल सरकारले ०६१ सालमा १७ वटा भवनसहित सोयल कन्जरभेसनको जग्गाको भोगाधिकार विद्याश्रमलाई दिएको थियो । आश्रमले विद्यार्थीहरुलाई छात्रावासको सुविधा पनि दिएको थियो । सरकारले विद्याश्रमलाई भोगचलनको अधिकार दिएको केही समयमा नै तत्कालीन माओवादीले भवनमा कब्जा गरेर परिवारलाई बसाएको थियो । माओवादीले बसाएका तिनै २१ घरपरिवारलाई सोमबार बिहान साढे १० बजेतिर प्रशासनले हटाएको हो । वाल सन्तले भवन खाली गराउन प्रशासनमा निवेदन दिएका थिए भने सरकारसँग निरन्तर पहल पनि गरिरहेका थिए ।
अन्यत्र घर भएका परिवारले नै भवन कब्जा गरेको प्रशासनको दाबी छ । कतिपयले स्वेच्छाले पहिला नै भवन छोडेको र केहीलाई मात्रै सोमबार सम्झाएर हटाउनु परेको निमित्त प्रजिअ पोख्रेलले बताए । भवनबाट विस्थापित परिवारजनले भने एक दशकदेखि बसोबास गरिरहेका जनतालाई नेपाल सरकारले जर्बजस्ती हटाएर विचल्ली पारेको आरोप लगाएका छन् । ‘हामी बस्न थालेको १० बर्ष भयो, अरुतिर घरखेत छैन । अब कहाँ जाने ?’–कमला लिम्बूले भनिन् । अर्का, कृष्ण थापाले पनि पाकेको भातसमेत खान नदिई जर्बजस्ती निकालेको बताए । आफुहरुले विद्याश्रमलाई कुनै वाधा नपुर्याई बसेपनि सरकारले आफ्नै देशका जनतालाई सडकमा पुर्याएको थापाको आरोप छ । ‘हामीले पढाईमा कुनै बाधा गरेका थिएनौं, तर ३ दिनदेखि विद्यार्थीहरु पाल टागेर पढेजस्तो गरेर आफै विजोग देखाउन थाले’–थापाले भने–‘अब हामी पो त्रिपाल टाँगेर बस्नु पर्ने अवस्था भयो ।’
जनस्तरबाट गठन भएको बराहक्षेत्र वृहत्तर विकास समितिका अध्यक्ष गणेश सुब्बा बिरहीका ती भवनमा मानिसहरु बस्नुअघि नै विद्याश्रम सञ्चालन भएकोले हटाउनु उचित भएको धारणा राख्छन् । उनका अनुसार तत्कालीन माओवादीले आश्रमको छात्रवासबाट विद्यार्थी र शिक्षकलाई खेदाएपछि मानिस बसाएका थिए । ‘पहिला विद्याश्रम नखुलेको भए अर्कै कुरा हुन्थ्यो, तर विद्यार्थी, शिक्षक भगाएर उनीहरु बसेका हुन’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे