च्यारिटी पेन्सनर वृद्धवृद्धाहरुको लागि धरानमा आवासगृह


धरान । वृद्धवृद्धाहरुको लागि पूर्वाञ्चलकै सुविधासम्पन्न करोडौंको आवस गृह सञ्चालनमा आएको छ । गोर्खा वेल्फेयर ट्रष्टअन्र्तगतको गोर्खा वेल्फेर स्किमले धरान १३ स्थित गोर्खा वेल्फेयर अफिस परिसरमा आवास गृह सञ्चालन गरेको हो ।
च्यारिटी पेन्सन खाइरहेका वृद्धवृद्धाहरुलाई राहत दिलाउने उद्देश्यले आवास गृहको निर्माण गरिएको वेल्फेयर अफिसले जनाएको छ । भिसि विजेता रामबहादुर लिम्बूको नाममा निर्माण गरिएको आवास गृहको शुक्रबार लेफिटनेन्ट जनरल सर फिलिप ट्रउसडेल केइबि सिबिले उद्घाटन गरेका थिए । यस्तै, गृहको परिसरमा स्थापना गरिएको भिसि लिम्बूको नाम अंकित र गृह निर्माणका सहयोगीको नाम अंकित दुई स्तम्भको भिसि लिम्बू र सर फिलिपले संयुक्तरुपमा अनावरण गरेका थिए । भिसि विजेता नेपालीहरुमध्ये रामबहादुर मात्रै ज्यूदा छन् ।


आवास गृह करिब ९ करोडको लागतमा निर्माण भएको हो । आवास गृह बनाउन बेलायती नागरिक एवं व्यावसायी माइकल युरेनले आर्थिक सहयोग गरेको सहायक वेल्फेयर अधिकृत वीरबहादुर लिम्बू(रत्न)ले जानकारी दिए । उनका अनुसार आवास गृहमा हाल च्यारिटी पेन्टसन पाइरहेका २५ जना वृद्धवृद्धाहरु राखिएका छन् । गृहको क्षमता २६ जनाको हो । ‘यहाँ उहाँहरुलाई एउटा घरमा पाइने भन्दा बढी सेवा सुविधा उपलब्ध गराएका छौं, यहाँ डाक्टर, नर्स, केयर टेकरदेखि खान,बस्नको लागि एकदम राम्रो सुविधा छ’–अधिकृत लिम्बूले भने ।
आवास गृहको निर्माण सन् २०११ देखि शुरु भएर सन् २०१३ फेब्रुअरीमा सकिएको थियो । गृहको ३ वटा भवन छन् भने वृद्धवृद्धाको लागि बस्ने २६ वटा कोठासहित ३३ वटा कोठा बनाइएको छ । आवास गृहमा ७५ बर्ष उमेर पुगेका च्यारिटी पेन्सनर एकल वृद्ध वा वृद्धालाई मात्रै राखिने वेल्फेयर अफिसले जानकारी दिएको छ । ‘च्यारिटी पेन्सन पाइरहेकाहरु पनि सबैलाई होइन, खुशीले आउन चाहने र जसलाई आवश्यकता छ, उहाँहरुलाई मात्रै यहाँ राखिन्छ’–सहायक अधिकृत लिम्बूले भने ।

बेलायती सेनामा भर्ती भएपनि विभिन्न कारणले पेन्सन नपाएकाहरुलाई गोर्खा वेल्फेयर ट्रष्टले राहतस्वरुप च्यारिटी पेन्सन दिने गरेको छ । हाल यस्ता च्यारिटी पेन्सनरहरु करिब ८ सयको हाराहारीमा भएको गोर्खा वेल्फेयरले जनाएको छ । ती मध्ये ७५ बर्ष उमेर पुगेका वृद्ध वा वृद्धाहरुको संख्या करिब २ सयको हाराहारीमा भएको लिम्बूले जानकारी दिए । ‘पूर्वाञ्चलका च्यारिटी पेन्सनर वृद्ध वृद्धाहरुलाई राहत दिलाउन आवास गृह बनाएका हौं, यहाँ उहाँहरुलाई खाना, बस्नदेखि स्वास्थ्य सुविधासम्म उपलब्ध गराउछौ। उहाँहरुले घरकै वातावरण पाउनुहुनेछ’–उनले भने ।
आवास गृहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लेफ्टिनेन्ट जनरल सर फिलिपले वीरहरुका पनि वीर भिसि विजेता रामबहादुर लिम्बूसँगै उभिदा आफु गौरवान्वित भएको बताए । यस्तै, कर्णेल सिन ह्यारिसले गोर्खालीहरुले २ सय बर्षदेखि बेलायतको सेवा गरिरहेको उल्लेख गर्दै बेलायती जनताबाट पनि गोर्खालीहरुको शुख दुःखमा साथ दिन ट्रष्टमार्फत सहयोग गरिरहेको बताएका थिए ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे