बहिरा क्रिकेटमा रुपन्देही र काठमाण्डौं विजयी


धरान । पाँचौ राष्ट्रिय टि २० बहिरा क्रिकेट प्रतियोगितामा शुक्रबार रुपेन्देही बहिरा क्रिकेट संघ र काठमाण्डौं बहिरा क्रिकेट संघ विजयी भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको क्रिकेट मैदानमा जारी प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा रुपन्देहीले झापा बहिरा क्रिकेट संघलाई ५८ रनले पराजित गर्यो । टस जितेर झापाले फिल्डिङ रोज्दै रुपेन्देहीलाई ब्याटिङ गर्न निम्ता दिएको थियो । रुपन्देहीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रनको योगफल बनाएको थियो । रुपन्देहीको लागि नसिब खड्काले सर्वाधिक ३० रन जोडे भने होमबहादर खड्काले २९, जयेन्द्र तिवारीले १८, जितेन्द्र खुसियाले १६ र सन्तोष पौडेल २ रन जोड्दै पेभिलियन फर्किएका थिए । अनआउट खेल्दै रविन्द्र यादवले २ रनको योगदान गरे भने कृष्ण शाहीले भने रन बटुलेनन् । झापाका विवेक लिम्बू, मिलन अधिकारी, खेमचन्द्र थापा र खेमचन्द्र कोइरालाले एक एक विकेट लिएका थिए ।


एक सय ४४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको झापा भने १९ ओभरमा अलआउट हुदै ८५ रनमा समेटियो । झापाका विवेक लिम्बू नटआउट रहदै सर्वाधिक ३८ रनको योगदान गरे भने खेमचन्द्र कोइरालाले १० रन बटुले । अन्य खेलाडीहरुले दोहोरो अंक पनि नबटुलि सस्तैमा पेभिलियन फर्किए । झापाका हरि खनालले २, ताल्ची पौडेलले २, सुमन चौहानले ३, खेमचन्द्र थापाले ५ र मिलन अधिकारीले ५ रन बटुले भने संगम गुरुङ र भोजगाज मगर शुन्यमा आउट भए । रुपेन्देहीका होमबहादुर खड्का, सन्तोष पौडेल र जयन्द्र तिवारीले दुई दुई विकेट लिए भने सुन्दर कर्कीले एक विकेट लिएका थिए । सो खेलको म्यान अफ दि म्याच रुपेन्देहीका जयेन्द्र तिवारी घोषित भए ।
यसैगरि, दोस्रो खेलमा काठमाण्डौंले केन्द्रीय बहिरा उच्चमावि, नक्साललाई ७४ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको काठमाण्डौंले २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको विशाल योगफल तयार गरेको थियो । काठमाण्डौंको लागि म्यान अफ दि म्याच रिवेश श्रेष्ठले ८२ रनको योगदान दिए भने सिद्धार्थ तामाङले १३ र रिजिङ लामाले १० रन लिएका थिए । नक्सालका सन्तोष नेपाल र प्रशान्त सुवेदीले दुई दुई विकेट लिएका थिए ।
एक सय ८९ रनको विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको नक्सालले २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो । नक्सालका ध्रुव कुँवरले ३९ र अमित तामाङले २८ रनको योगदान दिए । वलिङतर्फ काठमाण्डौंका सिद्धार्थ लामा, उत्तम मर्हजन र रिवेश श्रेष्ठले दुई दुई विकेट लिएका थिए । प्रतियोगिताको फाइनल शनिबार हुने भएपनि सुनसरीसँग कुन टिमले फाइनल खेल्ने भनेर निश्चित भइसकेको छैन । लिग कमनकाउट आधारमा जारी प्रतियोगितामा शनिबार बिहान मोरङ बहिरा क्रिकेट संघ र झापा बहिरा क्रिकेट संघबीचको खेल पछि मात्रै फाइनल खेल्ने टिम निश्चित हुने आयोजकले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे