कोशी जलाधार क्षेत्रमा पूर्वसुचना प्रणाली लागु गरिने


धरान । जल तथा मौषम विज्ञान विभागले बाढीको समयमा मानवीय क्षति कम गराउने उद्देश्यले कोशी जलाधार क्षेत्रमा पूर्व सुचना प्रणाली लागु गर्ने तयारी गरेको छ । विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आइतबार धरानमा आयोजना गरेको एक कार्यक्रममा विभागका महानिर्देशक डा.ऋर्षिराम शर्माले यस्तो जानकारी दिएका हुन् ।
हाल कोशी जलाधार क्षेत्रको विभिन्न १२ स्थानमा पानीको लेभल र बर्षाको मात्रा जानकारी दिने डिभाइस भएपनि समुदायले त्यसबाट लाभ लिन नसकेको उनले बताए । उनका अनुसार सुचना र समुदायबीच कस्तो सम्बन्ध रहन्छ र त्यसबाट समुदायमा आइपर्ने खतरा टर्नसक्छ भन्ने पर्याप्ट ज्ञान नभएकोले व्यवस्थितरुपमा पूर्वसुचना प्रणाली लागु गर्न लागिएको हो । ‘अहिले कोशी जलाधार क्षेत्रको १२ ठाउँमा कुन खोलामा कति पानीको लेभल छ र कति पानी पर्यो भनेर सुचना दिने डिभाइस राखेका छौं, तर यसको सुचना हाम्रो वेभसाइटमा मात्रै सिमित भएको छ’–महानिर्देशक शर्माले भने–‘यो सुचना प्रणालीलाई अब समुदायस्तरसम्म लैजानुपर्छ र सम्भावित क्षति हुनबाट जोगाउनु पर्छ भनेर नै लागु गर्ने तयारीमा छौं ।’


उनका अनुसार सुचना प्रणाली लागु भएपछि कति पानी पर्यो भने असर गर्छ, अथवा खतराको चिन्हसम्म पानी भयो भने घरबार छोड्नुपर्छ भन्ने ज्ञान समुदायस्तरमा दिन जरुरी छ । यस्तो प्रणाली पश्चिम क्षेत्रमा ठुला नदीहरुमा लागु भइसकेको भएपनि पूर्व क्षेत्रमा भने अहिलेसम्म सरकारीस्तरबाट लागु भएको छैन । विभागले पूर्वक्षेत्रमा कोशी जलाधार क्षेत्रबाट नै पूर्वसुचना प्रणाली लागु गर्ने तयारी गरेको हो । विभागले हाल दर्जन स्थानबाट प्रत्येक १५ मिनेटमा सुचना संकलन गरिरहेपनि कोशी जलाधार क्षेत्रका जनतासँग भने त्यो सुचनालाई जोड्न सकेको छैन । ‘ठुलो क्षति हुनबाट जोगाउनको लागि पूर्वसुचना प्रणाली लागु गर्न अतिआवश्यक छ, बाढी भन्दा पहिला सुचना पुगोस र मानवीय क्षति नहोस् भन्ने यसको उद्देश्य हो’–शर्माले भने ।
विभागका अनुसार बाढी प्रभावित क्षेत्रको पहिचान गरेर समुदायस्तरमा संयन्त्र गठन गरिनेछ र समुदायलाई विपत आइपर्दा कसरी काम गर्ने भनेर तालिम दिइनेछ । सुचना संकलन गर्ने डिभाईसको संख्या पनि थप गरिनेछ । त्यहाँबाट कुनै खतराको अवस्थामा पानीको लेभल पुगेमा १० वटा निकायमा टेक्स्ट मेसेज पुग्नेछ र सरोकारवाला निकाय एवं समुदाय सक्रिय हुने विभागले जनाएको छ । ‘पानी चेतावनीको अवस्थामा पुगेपछि सतर्क रहदै गतिविधि शुरु हुन्छ, गृहमन्त्रालय, सिडियो, रेडक्रस, मौसम विभाग, वेसिन कार्यालय, प्रहरी कार्यालय, समदायलगायत १० ठाउँमा तत्काल मेसेज जान्छ र प्रभावित क्षेत्रमा सुरक्षार्की, उद्दारटोली परिचालित हुनेछ’–शर्माले भने ।
.....................

                    जलवायु परिवर्तन रोक्न युवाको भुमिका


जलवायु परिवर्तन तथा मौसमको उतारचढावको प्रकोपलाई न्युनिकरण गर्न युवाहरुको भुमिका महत्वपुर्ण भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ६४ औं विश्व मौसम दिवसको अवसरमा आइतबार धरानमा आयोजित मौसम र हावापानी ः युवाहरुको सहभागीता बिषयक प्राविधिक गोष्ठी कार्यक्रममा वक्ताहरुले भविष्य युवाहरुको हातमा रहेकोले उनीहरुको भुमिका महत्वपुर्ण रहेको जोडदिए ।
जल तथा मौसम विज्ञान विभागका, मौसम पूर्वानुमान महाशाखा प्रमुख सुमनकुमार रेग्मीले विश्वव्यापीरुपमा मौसम र जलवायुबाट सिर्जित दुष्प्रभावलाई न्युनिकरण गर्न युवाहरुको सक्रियता अपरिहार्य रहेको बताए । ‘जुटिल भु बनोटको बिशेषताले गर्दा जलवायु परिवर्तनको लागि हाम्रो देश अत्यन्त संवेदनशील मानिन्छ, हिमाली क्षेत्रहरु विस्तारै हिउरहित क्षेत्रमा वदलिने क्रम द्रुततर गतिमा बढीरहेको छ भने हिमतालहरुको आकारमा अप्रत्यासित वृद्धि हुन गई हिमताल बिष्फोटको बढ्दो समस्या पनि छ’–रेग्मीले भने–‘तसर्थ, जोखिम न्युनिकरणमा युवाहरुले बिशेष सक्रियता र भुमिका निर्वाह गर्न आवश्यक छ ।’


विश्व मौसम संगठनका महासचिव माइकल जेराडको सन्देश सुनाउदै विभागका उपमहानिर्देशक सरजुकुमार बैद्यले विश्वको छ भागको एक भाग १५ देखि २४ बर्षका युवाहरुको जमातले भरिएकोले उनीहरुलाई जलवायु परिवर्तनको प्रभाव न्युनिकरणमा नेतृत्वदायी भुमिका निर्वाह गराउनुपर्ने बताए । ‘युवा समुदाय समस्याहरुको पहिचान र सम्भावित समाधान खोज गर्न सक्छन्, आगामी पुस्ताले वदलिदो मौसम र जलवायु परिवर्तनसँग आफुलाई तयारी हालतमा राख्नेछ, युवा पुस्ताले आज र भोलीको मौसम र जलवायुको अवस्थाको अनुगमन, बुझाई र यसलाई आत्मसाथ समेत गर्नेछ’–वैद्यले भने–‘जलवायु सचेतना, न्युनिकरण तथा अनुकुलतालाई बढावा दिन युवाहरुसँग क्षमता छ, पृथ्वीको भविष्यलाई सहि दिशा देखाउन युवा जमातको महत्वपुर्ण भुमिका रहन जान्छ ।’


कार्यक्रमका प्रमुख अतिथि एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलति डा.बलभन्द्रप्रसाद दासले पनि युवाहरुलाई बढीभन्दा बढी सहभागीता गराएर समाजमा सचेतना जगाउनुपर्ने धारणा राखे । नयाँ नयाँ स्वास्थ्य समस्याका विरामीहरु प्रतिष्ठानमा आउने गरेको उल्लेख गर्दै उनले मौसम एवं जलवायु परिवर्तनकै असर हुनसक्ने पनि आशंका जताए । ‘हाम्रो भावी सन्ततीको लागि प्रकृतिको संरक्षण गर्न जरुरी छ, यसको लागि जिम्मेवारी लिएका निकायले आम जनतालाई, युवाहरुलाईसचेत गराउनुपर्यो’–दासले भने । कार्यक्रममा कोशी वेसिन कार्यालय विराटनगरका जलविद् सकेत कर्ण, मौसमविद् शिवप्रसाद नेपाल, त्रिविका जल तथा मौसम विभागका विभागीय प्रमुख डा.लोचन देवकोटा, सोहम नेपालका भक्तलाल महर्जनलगायतले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीहरुबीच अन्र्तक्रिया पनि गरिएको कार्यक्रममा माविस्तरीय वत्तृत्वकला प्रतियोगिता पनि आयोजना भएको थियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे