मृगौला खराब भइसक्दा पनि रोगको लक्षण नदेखिने


धरान । नब्बे प्रतिशतसम्म मृगौला खराब भइसक्दा पनि रोगको कुनै लक्षण नदेखिने भएकोले आफ्नो स्वास्थ्यप्रति हरदम सचेत रहन चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुले सुझाव दिएका छन् ।
मार्च १३ लाई विश्व मृगौला दिन मनाउने तयारीमा रहेका उनीहरुले सामान्यरुपमा पिसाब र रगतको जाँच गरेमा मृगौला सम्बन्धि रोग पत्ता लागिहाल्ने भएकोले बेला बेला जाँच गराउन पनि आग्रह गरेका छन् । सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपाल(पिएसआरएन), विद्यार्थी च्याप्टर बीपी प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरेर उच्च रक्तचाप र मधुमेहका विरामीको मृगौला उच्च जोखिममा रहेकोले सचेत रहन पनि बताएका छन् । साथै, उनीहरुले धुमपान, मदिरा सेवन गर्ने ४५ बर्ष माथिका व्यक्तिहरु पनि बढी जोखिममा रहेको बतााएका छन् ।
‘मृगौला ९० प्रतिशतसम्म खराब भइसक्दा पनि कुनै लक्षण देखिदैन, त्यसैले आफ्नो स्वास्थ्यप्रति सचेत भइरहनुपर्छ’–निःशुल्क मृगौला रोग परीक्षण कार्यक्रमका संयोजक विमल खड्काले भने–‘सामान्य रगत र पिसाब जाँच गर्दानै थाह पाइहालिन्छ ।’ उनले मृगौला रोग नेपालमा साइलेन्ट किलर(मौन हत्यारा)को रुपमा वृद्धि भइरहेको पनि बताए । नेपालको कुल जनसंख्याको १० प्रतिशत अर्थात २६ लाख ५० हजारमा मर्गाला रोग भएको पनि खड्काले बताए । नेपालमा हरेकबर्ष १० हजारको संख्यामा मृगौला रोगी वृद्धि भइरहेको उनको भनाई  छ । ‘४५ बर्ष माथिका मानिस मृगौला रोगको जोखिममा हुन्छन्, तर ७५ बर्ष माथिकालाई ५० प्रतिशत अत्यधिक जोखिम हुन्छ’–खड्काले भने–‘नेपालमा १ लाख जनसंख्यामा १२.२५ जनाको मृत्यु मृगौला रोगबाट भएको तथ्यांक छ ।’ गएको बर्ष(सन् २०१२) नेपालमा २२ सय १२ जनाको मृत्यु मृगौगा रोगबाट भएको तथ्यांक छ ।

मृगौला खराब भएपछि प्रत्यारोपण वा डायलाइसिसबाहेक अन्य उपचार विधि नभएको र यी दुवै अत्यन्तै खर्चालु भएकोले रोग लाग्नुबाट बच्नु नै उत्तम उपाय भएको पिएसआरएनका अध्यक्ष सागर पौडेलले बताए । बिशेष गरि शहरी क्षेत्रका मानिसको दैनिक जीवनयापन र खानपानमा सन्तुलन नहुदा मृगौला सम्बन्धित गम्भीर प्रकृतिको रोगले ग्रसित भइरहेको उनको भनाई छ । मृगौला रोगबाट जोगाउन तथा सचेत गराउनकै लागि बिहिबार धरानको भानुचौकमा निःशुल्क परीक्षण कार्यक्रम राखिएको पौडेलले जानकारी दिए । ‘मृगौला खराब भइसक्दासमेत कुनै लक्षण नै देखिदैन, त्यसैले आफु रोगी हुँ भन्ने महसुस भइरहेको हुदैन’–उनले भने–‘हाम्रो सानो प्रयासले मानिसलाई बचाउन सक्छौं कि भनेर भानुचौकमा परीक्षण गर्दैछौं ।’
निःशुल्क गरिने परीक्षणमा प्रेसर, सुगर, मोटोपन, तौल, उचाई, पिसाबलगायतको परीक्षण गरिने र त्यसबाटे धेरै रोगहरुको जानकारी हुने पनि पौडेलले बताए । दीर्घ मृगौला रोग र बढ्दो उमेर नारा दिएर मनाउन लागिएको विश्व मृर्गाला दिवसको अवसर पारेर शनिबार बिहान धरानमा साइकल र्याली पनि निकालिने भएको छ । हाल बीपी प्रतिष्ठानमा दैनिक १५ जना डायलाइसिस गर्न आउने गरेका छन् भने महिनामा ३० जना नयाँ रोगीहरु सम्पर्कमा आउने गरेको तथ्यांक छ । ‘बीपीमा पूर्वक्षेत्रका विरामी धेरै आउने हो, यो तथ्यांकलाई हेर्दा पनि पूर्वमा सरदर एक जना नयाँ मृगौला रोगी देखापरेको देखिन्छ’–पौडेलले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे