धरान र पाँचकन्याको विकास गर्न कांग्रेस क्षेत्रीय समितिको १४ बुँदे माग

धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले धरान र पाँचकन्या गाविसको विकासको लागि भन्दै नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालसमक्ष विभिन्न १४ बुँदे माग पेश गरेको छ । मन्त्री रिजाल आइतबार धरान आएको बेला कांग्रेस क्षेत्रीय समितिले माग पत्र पेश गरेको हो ।
धरान र पाँचकन्याको विकासको लागि भनिएपनि केही मागहरु राष्ट्रिय बिषय पनि समेटिएका छन् । मन्त्रीसमक्ष पेश गरिएको माग पत्रमा धरानको मूख्य समस्याको रुपमा रहेको खानेपानी व्यवस्थापनका लागि पानीको स्थायी एवं दिगो स्रोतको खोजी गरी दिगोरुपमा समाधान गर्न माग गरिएको छ । हाल एडिवीको लगानीमा खानेपानी आयोजना शुरु भएतापनि पानीको स्थायी एवं दिगो श्रोत बारे अन्यौल भईरहेकोले आयोजनाको सफलताको लागि स्थायी र दिगो स्रोतको यकिन गर्न आवश्यक भएको माग पत्रका उल्लेख छ । यस्तै, धरान बजारको मूख्य क्षेत्र भानुचौकमा अव्यवस्थितरुपमा रहेको बसपार्कलाई आधुनिक एवं व्यवस्थित बनाउनु पनि माग गरिएको छ भने डाडाघोपास्थित प्रस्तावित विमानस्थलको प्रकृयालाई अगाडि बढाउन पनि मन्त्री समक्ष कांग्रेस क्षेत्रीय समितिले माग गरेको छ ।
यसैगरि, धरान १४ मा निर्माणाधीन आदिवासी जनजाति बहुजातीय संग्रहालयलाई राष्ट्रिय योजनामा समावेश गर्न, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर जस्ता ऐतिहासिक एवं पुरातात्विक महत्वको धार्मिक स्थलहरुलाई राष्ट्रिय सम्पदाको सूचिमा सुचिकृत गर्न, पञ्चकन्या जंगल, भताभुङ्गे दरवार, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, निर्माणाधीन संग्रहालय आदि भएको विजयपुर क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी सो क्षेत्रको संरक्षण र विकास गर्न पनि मन्त्री रिजालसमक्ष माग गरिएको कांग्रेस क्षेत्रीय सचिव तामाङले बताए । उनका अनुसार धरानवाट बराहक्षेत्र, विष्णुपादुका जाने बाटोमा कालापत्रे गर्नुका साथै सर्दू खोलामा पुल निर्माण गरिदिन पनि सरकारसमक्ष माग गरिएको छ ।
यसैगरि, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन र सेवा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गर्न, सुकुम्वासी क्षेत्रमा खानेपानी, ढल तथा सडक, विद्यालय आदिको विकास गर्नुका साथै सुकुम्वासीहरुको समस्याहरुलाई समाधान गर्न पनि माग गरिएको छ । जनतालाई परिवर्तन, विकास र सुशासनको अनुभूति दिलाउनको लागि स्थानीय निकायको निर्वाचन गर्न सरकारसँग माग गरेको छ । स्थानीय निकाय जनप्रतिनिधिविहिन हुँदा जनताले सुशासन र विकास पाउन नसकेको भन्दै कांग्रेसले स्थानीय निकायको चुनाव गराउन सरकारसँग माग गरेको जनाएको हो । ‘परिवर्तन, विकास र सुशासनको अनुभूति गराउन स्थानीय निकायको निर्वाचन गराउनुपर्ने’–मागपत्रमा भनिएको छ । माग पत्र पेश गर्दै क्षेत्रीय सचिव सुजेन्द्र तामाङले भने–‘एक बर्षभित्र संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समानता, स्वतन्त्रता र मानवअधिकारसहित बहुलवादमा आधारित लोकतान्त्रिक संविधान निर्माण गर्न पनि माग गर्दछौं ।’ उनले खानेपानी, दुध र ग्यांस तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न र महंगी नियन्त्रण गर्न पनि माग गरेको बताए ।
मन्त्री रिजालले आफु, पार्टी र सरकार संविधान निर्माणसँगै स्थानीय निकायको निर्वाचन गर्न कटिवद्ध रहेको दाबी गरेका थिए । ‘म, मेरो पार्टी नेपाली कांग्रेस र सरकार संविधान निर्माण गर्न र स्थानीय निकायको निर्वाचन गराउन प्रतिवद्ध छ’–मन्त्री रिजालले भने । उनले क्षेत्रीय कमिटिको मागको सम्बन्धमा सम्बन्धित मन्त्रालय र निकायहरुमा पुरा गराउन बिशेष भुमिका खेल्ने प्रतिवद्धता जनाए । मन्त्री रिजालले आफु पनि धराने भएको भन्दै धरानको विकासमा योगदान गर्ने बताए । कार्यवाहक सभापति शुरेसमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ४ का सभासद सिताराम  मेहता, जिल्ला सभापति राजिव कोइराला, महिला संघका क्षेत्रीय सभापति नेत्र कुमारी राई लगायतले मन्तव्य राखेका थिए ।

                     मन्त्री रिजाललाई सम्मान


नेपाल आदिवासी जनजाति महासंघ, सुनसरीले धरान १४ मा निर्माणाधिन बहुजातीय संग्रहालय निर्माणमा बिशेष सहयोग गरेको भन्दै सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई सम्मान गरेको छ ।
यसअघि, संघीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री हुँदा रिजालले संग्रहालय निर्माणको लागि बजेट विनियोजन गरेर हौसला प्रदान गरेको भन्दै महासंघले आइतबार धरानमा सम्मान गरेको हो । सँस्कृति मन्त्री हुँदा रिजालले संग्रहालय निर्माणको लागि २० लाख बजेट विनियोजन गराएका थिए । मन्त्री रिजाललाई महासंघका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार सुजेन्द्र तामाङ र निवर्तमान सचिव गजेन्द्र मुखियाले कदरपत्र र मायाको चिनो प्रदान गरेर मन्त्री रिजाललाई सम्मान गरेका थिए ।
यसैबीच, जनजाति महासंघ सुनसरीको एक टोलीले संग्रहालय निर्माणमा थप सहयोग गर्न मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष खम्बासिंह तमु, प्रमुख सल्लाहकार सुजेन्द्र तामाङ, सचिव रवि भुजेल, निवर्तमान सचिव गजेन्द्र मुखिया, निर्माण समितिका उपाध्यक्ष रामबहादुर ग्यावा लगायतको टोलीले ज्ञापन बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले नेपालको विविध जातीय संस्कार एवं संस्कृति राज्यको सम्पदा भएकोले संग्रहालय निर्माणमा राज्यले सहयोग गर्ने बताएका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे