युवालाई रोजगारको ग्यारेण्टी वा बेरोजगार भत्ताको माग


धरान । युवाहरुलाई स्वदेशमै रोजगारको ग्यारेण्टी वा न्यायिक बेरोजगार भत्ताको व्यवस्था गर्न राष्ट्रिय युवा मोर्चाले सरकारसँग माग गरेको छ । छैठौ राष्ट्रिय सम्मेलनबारे जानकारी दिन बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाले यस्तो माग गरेको हो ।
मोर्चाले १६ बर्ष पुगेका युवालाई मताधिकारको संवैधानिक व्यवस्थासँगै राज्यको हरेक निकायमा कम्तिमा ५० प्रतिशत युवाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको छ । ‘राज्यको ठुलो हिस्सा ओगटेका युवाहरुलाई स्वदेशमा बस्ने सहज वातावरण संवैधानिकरुपमा नै व्यवस्था गरिनुपर्छ’–सम्मेलन मुल आयोजक कमिटिका संयोजक वम दर्लामीले भने–‘युवा मन्त्रालय त बन्यो तर युवाहरुलाई मुलधारमा समाहित गरिएन, युवा क्षमताको सही सदुपयोग भएको छैन ।’ उनका अनुसार सम्मेलन भ्रष्टाचारलाई राष्ट्रदोह सरहको अपराध घोषणा गरी सर्वस्वसहित जन्मकैद सजायको व्यवस्था संविधानमा गर्न, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको मताधिकार सुरक्षित गर्न, सबै खाले जातिय, क्षेत्रीय, धार्मिक, भाषिक, लैगिक शोषण तथा विभेद अन्त्यलगायतका मुद्दामा केन्द्रीत रहनेछ ।


चैत २२ देखि २४ गतेसम्म धरानको सभागृहमा हुने मोर्चाको राष्ट्रिय सम्मेलनले युवाहरुको यिनै मुद्दालाई प्रमुखताका साथ उठाउने र ती मागलाई दस्तावेजकोरुपमा सरकारसमक्ष प्रस्तुत गरिने मोर्चाले जनाएको छ । ‘युवाहरु राजनीतिक दलको गोटीकोरुपमा मात्रै प्रयोग भइरहे, परिवर्तनका संवाहक युवा शक्ति सिमित फाइदाको लागिमात्रै प्रयोग भइरहे’–संयोजक दर्लामीले भने–‘सम्मेलन यो प्रवृत्तिको अन्त्य र युवा शक्तिलाई स्वेदशमा स्थापित गराउने एजेण्डाहरुमा केन्द्रीत रहनेछ ।’ उनका अनुसार मुलुकका विभिन्न ६४ जिल्लाबाट सम्मेलनमा कुल ३ सय २० प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुनेछन् । मोर्चा राष्ट्रिय जनमुक्ति पार्टीको जनवर्गीय संगठन हो ।
मोर्चाका केन्द्रीय अध्यक्ष राजेन्द्र राईका अनुसार मोर्चाको तेस्रो महाधिवेशनले राजनीतिक, सामाजिक र आर्थिक उन्नतीको अधिकारबारे सुक्ष्मरुपमा विश्लेषण गरेर युवा नीति तयार गरेको थियो । राष्ट्रिय सम्मेलनले त्यो नीतिलाई थप परिमार्जन गर्ने एवं नीति निर्माण, वितरण र कार्यान्वयन गर्ने निकायसम्म युवाहरुको पहुँच पुर्याउन खाका तयार गर्ने अध्यक्ष राईले बताए । ‘राष्ट्रको नीति निर्माण, वितरण र कार्यान्वयनको तहसम्म युवाहरुलाई पुर्याउन हामीले युवा नीति तयार गरेका थियौं, त्यसलाई सम्मेलनले थप परिमार्जन गर्नेछ र हाम्रो संगठन आम युवाको संगठन बन्नेछ’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे