राष्ट्रिय बहिरा क्रिकेटमा सुनसरी च्याम्पियन(फोटोफिचर)


धरान । पाँचौ राष्ट्रिय टि २० बहिरा क्रिकेट प्रतियोगितामा सुनसरी बहिरा क्रिकेट संघ च्याम्पियन बनेको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा छिमेकी जिल्ला मोरङ बहिरा क्रिकेट संघलाई ३७ रनले हराउदै सुनसरी च्याम्पियन बनेको हो ।
समय अभावको कारण १२ ओभरमा खेलाइएको फाइनलमा टस जितेर मोरङले पहिला फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङमा उत्रिएको सुनसरीले १२ ओभरमा ५ विकेट गुमाएर ७३ रनको योगफल बनाएको थियो । सुनसरीको जितमा महेन्द्र लिम्बूले महत्वपुर्ण ३१ रनको योगदान दिए भने कृष्ण धामीले १३ र सन्तोष झाले ६ रन बटुलेका थिए । बलिङतर्फ मोरङका नन्दन यादवले २ विकेट लिए भने ललन चौधरी र मनोज राईले एक एक विकेट लिएका थिए ।

दोस्रो इनिङमा ७४ रनको लक्ष्य लिएर ब्याटिङ उत्रिएको मोरङले १० ओभर २ वलमा सबै विकेट गुमाउदै ३६ रन मात्रै बनाउन सक्यो । मोरङका मनोज राईले सर्वाधिक १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मोरङका जय प्रकाश चौधरी र दिपेन्द्र मण्डलले ४–४ रन जोडे भने नन्दन यादव, आरिफ अन्सारी शुन्यमा आउट भए । बलिङतर्फ फाइनलका म्यान अफ दि म्याच विवेकचन्द्र राईले ४ विकेट लिदै मोरङलाई सस्तोमा समेट्न महत्वपुर्ण भुमिका खेले । यस्तै, सामबहादुर राईले ३ र कृष्ण धामीले एक विकेट लिए ।
च्याम्पियन बनेको सुनसरीले ट्रफीसहित नगद २५ हजार हात पार्यो भने उपविजेता मोरङले ट्रफीसहित नगद २० हजारमा चित्त बुझायो । रनरेटको आधारमा तेस्रो बनेको काठमाण्डौं बहिरा क्रिकेट संघले नगद १० हजार पायो । प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट सुनसरीका कृष्ण धामी घोषित भए भने वेष्ट वलर मोरङका ललन चौधरी र वेष्ट ब्याट्सम्यान काठमाण्डौंका रिवेश श्रेष्ठ घोषित भए । विजेता एवं उपविजेता टिमका खेलाडीहरुलाई आयोजक राष्ट्रिय बहिरा क्रिकेट संघका अध्यक्ष सरयुप्रसाद सेरचन, प्रमुख अतिथि एवं समाजसेवी, व्यापारी मनिष लोहिया, पूर्वाञ्चल बहिरा विद्यालयकी प्रअ रेणु बुढाथोकी, पूर्वाञ्चल ज्ञान चक्षुकी प्रअ केशरी थापालगायतले पुरस्कार वितरण गरेका थिए । सुनसरी बहिरा क्रिकेट संघको व्यवस्थापनमा फागुन ३० गतेदेखि शुरु भएको प्रतियोगितामा ६ वटा टिमले सहभागीता जनाएको थियो ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे