राजमार्गको पार्किङ हटेन, केही व्यापारीहरुको विरोध


धरान । कोशी राजमार्गअन्र्तगत पर्ने भानुचौकदेखि टेलिकम कार्यालयसम्मको सडकको साना सवारीको पार्किङलाई चैत १ देखि हटाउने निर्णय गरिए पनि नगरपालिकाले कार्यान्वयन गर्न सकेन । विकल्पमा खोजिएको पार्किङस्थल उपयुक्त नभएको भन्दै असन्तुष्ट स्थानीय व्यापारीहरुले नगरपालिकामा विरोधपत्र बुझाएपछि निर्णय कार्यान्वयन हुन नसकेको हो ।
नगरपालिकाले भने वैकल्पिक पार्किङस्थलमा पूर्वाधार निर्माण कार्य पुरा नभइसकेकोले साना सवारीको पार्किङ तत्काललाई स्थानान्तरण गर्न ढिलाई भएको जनाएको छ । स्थानीय व्यापारी, ट्राफिक प्रहरी र सुनसरी उद्योग वाणिज्य संघसँग छलफल गरेर चैत १५ गतेसम्मलाई स्थानान्तरणको समय सारिएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले बताए । ‘केही व्यापारीहरु वैकल्पिक ठाउँ टाढा भयो, अलिक पायक पर्नेतिर हुनुपर्छ भन्दै ज्ञापन बुझाउन आउनुभएको थियो’–अधिकृत खतिवडाले भने–‘अन्य विकल्पको बारेमा पनि छलफल भएको छ, तर पूर्वाधार पुर्णरुपमा तयार नभएकैले चैत १५ देखि मात्रै पार्किङ सार्ने पुनः निर्णय भएको छ ।’

नगरपालिकाले पार्किङको विकल्पमा लिजमा लिएको प्रतम श्रेष्ठको खाली जग्गा ।
यसअघि, सरोकारवाला सबै पक्षसँग छलफल गरेर नगरपालिकाले भानुचौकदेखि छाताचोकसम्मको सडकलाई पार्किङ निषेध क्षेत्र बनाउने तयारी गरेको थियो । पार्किङको विकल्पमा धरान २ स्थित भागवतकाजी रोड पश्चिम प्रितम श्रेष्ठको जग्गा एक बर्षको लागि नगरपालिकाले लिजमा लिइसकेको छ । बिशेष गरी छाताचोक क्षेत्रका व्यापारीहरुले विकल्पमा खोजिएको पार्किङस्थल टाढा भएको गुनासो गरेका छन् । वैकल्पिक पार्किङस्थलमा सुरक्षा गार्ड र सवारीसाधानको सुरक्षाको लागि तार घेराबारा गर्न बाँकी भएकोले स्थानान्तरण मिति सारिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले बताए । उनका अनुसार असन्तुष्ट व्यापारीहरुसँग छलफल गरेर सुनसरी उद्योग वाणिज्य संघलाई सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।
पार्किङस्थल सार्ने विकल्पको विरोधमा स्थानीय व्यापारीहरुले फागुन २९ गते नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । सडक खुला बनाउनु राम्रो भएपनि सबै मोटरसाइकललाई विकल्पमा खोजीएको स्थानमा सारिदा थेग्न नसक्ने स्थानीय व्यापारी पक्षका गिरीराज अधिकारीले बताए । ‘चार पांग्रे सवारीलाई मात्रै नयाँ ठाउँमा लैजानु ठिक छ, सबै मोटरसाइकल लैजादा त्यहाँ अट्दैन, झन् समस्या हुन्छ’–उनले भने–‘कोशीराजमार्ग नजिकैको ठाउँ खोजेर मोटरसाइकलको पार्किङस्थल बनाउनुपर्छ भनेका छौं ।’ कोशीराजमार्ग सडकखण्डमा बैकहरु भएकोले कारोबार गर्न आउनेहरु टाढा पार्किङ गर्न जादा असुरक्षित र अफ्ठयारो पनि हुनसक्ने उनको भनाई छ । भानुचौकस्थित बसपार्क अन्यत्र सारेर त्यहाँ मोटरसाइकल र साना सवारीको पार्किङस्थल बनाउनु नै उपयुक्त विकल्प भएको उनले बताए ।

कोशी राजमार्गअन्र्तगतको भानुचौक सडकखण्डमा सकडमा पार्किङ गरिएको मोटरसाइकलहरु ।
व्यापारीको ज्ञापन पत्रपछि विकल्पमा चतरालाइन, कलेज रोड, रेयुकाई लाइन, गीतामन्दिर लाइनलगायत सहायक सकडलाई विकल्पमा प्रयोग गर्नेबारे छलफल भएको थियो । तर, त्यहाँ पार्किङ गरिदा ती सडक साघुरिने र दमकल, एम्बुलेन्सलगयात आकस्मिक सेवाका सवारीलाई असहजन हुने देखिएकोले निर्णय भने हुन सकेन । सडकको एकातर्फमात्रै कार, मोटरसाइकललगायतका साना सवारी पार्किङ गर्ने व्यवस्था भएपनि ठाउँ अभावले जथाभावी पार्किङ हुने गर्छ । यसले सडक निक्कै साघुरो बनेको र दुर्घटनाको जोखिम पनि बढाएको गुनासो बढेपछि सरोकारवाला निकाय पार्किङलाई स्थानान्तरण गर्न जुटेको हो ।
नगरपालिकाले भानुचौकदेखि छाताचौकसम्मको पार्किङलाई धरान २ स्थित प्रितम श्रेष्ठको जग्गामा र भानुचौकस्थित घण्टाघर उत्तर र पूर्वको खुला क्षेत्र सार्ने तयारीमा छ । यस्तै, छाताचोकदेखि टेलिकमसम्मको पार्किङलाई पुरानो अस्पतालको खोली जग्गामा राख्न बीपी प्रतिष्ठानसँग पहल गरिरहेको छ । भानुचौकदेखि छाताचोकसम्मको सडकमा अस्थायी र स्थायी गरि दुई किसिमका पार्किङ हुने गरेको ट्राफिक प्रहरीको भनाई छ । त्यसक्षेत्रमा वित्तिय संस्था, व्यावसायी र घरधनीको दिनभरि(स्थायी) पार्किङ हुनेगर्छ भने अर्को किनमेल वा आफ्नो काम लिएर आएका सर्वसाधारणहरुले केहीबेर(अस्थायी)पार्किङ गर्छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे