धरानमा स्कुलमै सिभिल इञ्जिनियरिङको पढाई


धरान । सामान्यत: इञ्जिनियरिङ पढ्न एसएलसी वा प्लस टु उतीर्ण गर्नैपर्छ । तर, चैनपुर २, चितवनका पवन बुर्लाकोटीलाई भने यो बाध्यता रहेन । कक्षा ८ पास गरेपछि उनी गएको जेठमा सिभिल इञ्जिनियरिङ पढ्न धरान आए । उनी अहिले धरान ६ स्थित शिक्षा निकेतन उच्चमाविमा कक्षा ९ मा यही बिषय अध्ययन गरिरहेका छन् ।
नेपाल सरकारले चालु शैक्षिक सत्रदेखि लागु गरेको प्राविधिक धारअन्र्तगतको शैक्षिक कार्यक्रमले स्कुल तहदेखि नै पवन झै विद्यार्थीहरुले प्राविधिक शिक्षा अध्ययन गर्न पाइरहेका छन् । प्राविधिक धारअन्र्तगत धरानस्थित शिक्षा निकेतनले कक्षा ९ मा सिलिभ इञ्जिनियरिङको पढाई यसै शैक्षिकसत्रदेखि शुरु गरेको हो । प्राविधिक धार पढ्ने विद्यार्थीहरुले एसएलसी परीक्षा दिइरहनु पर्नेछैन । विद्यालयका अनुसार यो बिषय अध्ययन गर्न विभिन्न जिल्लाबाट कक्षा ८ पास गरेका विद्यार्थीहरु आएका छन् । पहिलो बर्ष यहाँ ३० जनाले सिभिल इञ्जिनियरिङ पढिरहेका छन् । ‘यहाँ प्राविधिक धारको सिभिल इञ्जिनियरिङ पढाउने भएपछि देशभरबाट प्रवेश परीक्षा दिन डेढ सय बढी आएका थिए, उनीहरु आइएस्सी, बिएस्सी र प्लस टु पढिरहेकोले सबैलाई भर्ना लिन सकेनौं’–विद्यालयका प्राचार्य हिराकाजी बुढाथोकीले भने–‘कक्षा ८ उर्तिण गरेकालाई मात्रै पढाउनुपर्ने भएकोले पहिलो बर्ष ३० जना मात्रै छानिए ।’ विद्यालयमा कोटा भने ४८ जनाको थियो ।


शिक्षा विभागले सरकारी विद्यालयहरुमा प्राविधिक धार पढाई गर्ने योजना अघि सारेपछि धरानको शिक्षा निकेतनले विभिन्न ५ प्राविधिक बिषय मध्ये सिभिल इञ्जिनियरिङ छानेको थियो । यो बिषय पढाई हुने विद्यालय पूर्वाञ्चलमा मोरङको सुकना उच्चमावि र शिक्षा निकेतन मात्रै हो भने देशभर २१ वटा सरकारी विद्यालयमा यो बिषय पढाई भइरहेको छ । यो पुर्णतया निःशुल्क शिक्षा हो । चालु आर्थिक बर्षमा यो बिषयबाहेक प्राविधिक धारअन्र्तगत पशु विज्ञान, वाली विज्ञान, इलेक्ट्रिकल र कम्प्युटर साइन्स विभिन्न सय सरकारी विद्यालयमा पढाई भइरहेको छ । शिक्षा निकेतनमा सिभिल इञ्जिनियरिङ पढ्न कैलाली, चितवन, झापा, मोरङका साथै सुनसरीका गाउँ गाउँबाट विद्यार्थीहरु आएका छन् ।
विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिलाउने उद्देश्यले सरकारले चालु शैक्षिक सत्रदेखि स्कुल तहदेखि नै सीपमुलक शिक्षा दिन थालेको जनाएको छ । सिभिल इञ्जिनियरिङअन्र्तगत कक्षा ९ का विद्यार्थीहरुले मेशन(गाह्रो लगाउने काम), कार्पेन्ट्री( काठको सम्पुर्ण काम), प्लम्बिङ(धरानको सेनेटरी, फिटिङलगायत काम), वायरिङ्ग(विजुलीको काम), ड्रयइङ्ग(पुल, राजमार्ग, भवनको डिजाइन) को काम सैद्धान्तिक एवं व्यवहारिकरुपमा पढिरहेका छन् । ड्रयइङ्गलाई विद्यार्थीहरुले कम्प्युटरमार्फत तस्वीरमा पनि उतार्ने काम सिकिरहेको प्राचार्य बुढाथोकीले बताए । ‘कक्षा ९ र १० पढीसकेपछि उनीहरु स्वत सबओभरसियर र प्लस टु सकेपछि ओभरसियर हुनेछ’–प्राचार्य बुढाथोकीले भने–‘प्लस टु पछि बि.इ.पढ्न पाउछन् ।’

शिक्षा निकेतन स्कुलले भविष्यमा अन्य बिषयहरुलाई छोड्दै प्राविधिक धारको बिषयहरुलाई मात्रै पढाउने नमुना स्कुल बन्ने लक्ष्य लिएको छ । विद्यालयले सिटिइभिटीबाट छोटोअवधिका विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्ने योजना तयार गरेको जानकारी दिएको छ । प्राविधिक धारको पढाईमा विद्यार्थी तथा अभिभावकहरुको अत्यधिक चासो भएपनि खर्च धेरै हुने भएकोले सरकारले केही समयलाई सहयोग गर्नुपर्ने विद्यालयको भनाई छ । ‘अभ्यास गर्न धेरै सामानहरु चाहिने रहेछ, सरकारले पनि जन्माएर छोड्ने होइन, कम्तीमा पनि ५ बर्षसम्म हामीलाई सपोर्ट गर्नुपर्छ’–प्राचार्य बुढाथोकीले भने ।
...........

                वर्कसप तथा ल्याबको उद्घाटन


प्राविधिक धारको शिक्षाअन्र्तगत कक्षा ९ मा सिभिल इञ्जिनियरिङ पढाई भइरहेको धरानस्थित शिक्षा निकेतन उच्चमाविमा वर्कशप तथा ल्याबको स्थापना भएको छ । विद्यार्थीहरुलाई शैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानको लागि अभ्यास गराउन वर्कशप तथा ल्याबको स्थापना गरेको विद्यालयले जनाएको छ ।
सरकारको आर्थिक सहयोगमा स्थापना भएको वर्कशप तथा ल्याबको हालै एक कार्यक्रमबीच सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईले उद्घाटन गरेका थिए । विद्यालयका अनुसार ड्रयइङ्ग ल्याब, कार्पेन्ट्री ल्याब, वायरिङ्ग र कम्प्युटर ल्याब स्थापना भएको हो । सभासद राईले सिपमुलक शिक्षाले मुलुकमा वेरोजगारको समस्यालाई हल गर्ने आशा व्यक्त गरे । ‘सिपमुलक, व्यावहारिक शिक्षाले आफ्नै खुट्टामा उभिनसक्ने अवस्था बन्छ, विदेशमा जादा पनि मरुभुमिमा भोडा चराउन पदैन’–सभासद राईले भने ।


प्राचार्य हिराकाजी बुढाथोकीका अनुसार सरकारले प्राविधिक धारअन्र्तगतको सिभिल इञ्जिनियरिङ पढाउने स्कुललाई ५० लाख सहयोग दिनेछ । त्यसमध्ये पहिलो किस्तामा २० लाख प्राप्त भएपछि वर्कसप तथा ल्याबको स्थापना गरिएको प्राचार्य बुढाथोकीले बताए । ‘यो बिषय एकदमै महंगो रहेछ, विद्यार्थीहरुलाई अभ्यासको लागि सामानहरु किनेको किनेकै गर्नुपर्ने रहेछ’–उनले भने । विद्यालय व्यवस्थापन समितिका सदस्य माधवगोविन्द श्रेष्ठले सरकारले उपलब्ध गराउको पैसालाई अधिकतम सदुपयोग गर्दै ल्याब तथा वर्कसप स्थापना गरिएको बताए । ‘वर्कसप र ल्याब स्थापना गर्न गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं’–उनले भने–‘विद्यार्थीहरुलाई अब धेरै सजिलो भएको छ ।’









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे