हङकङेली नेपाली साहित्य र आधी रोकिएपछि माथि परिचर्चा
धरान । वाना ५, संखुवासभामा जन्मिएका टोपबहादुर याक्खा ०६२/०६३ को जनआन्दोलनताका तत्कालीन शाही नेपाली सेनामा जागिरे थिए । त्यसैले, तत्कालीन माओवादी जनयुद्धलाई उनले नजिकबाट नियाल्ने मौका पाए ।
माओवादी जनयुद्ध चरमोत्कर्षमा पुग्दा उनको मन भने युद्धको चपेटामा ज्यान गुमाइरहेका सर्वसाधारणलाई देख्दा छटपटि हुन्थ्यो । त्यस पीडालाई उनी कवितामार्फत अभिव्यक्त गर्न खोज्थे । जनआन्दोलन सफल पछि भने उनी सैनिक पेशा छोडेर विदेश हान्निए । मकाउमा २ बर्षसम्म बसेर सन् ००८ मा उनी हङकङ छिरे । त्यहाँ पुगेपछि उनको कवित्व भावना पुनः जाग्यो । उनी विदामा स्वदेश फर्कदा ‘आँधी रोकिएपछि’ कविता संग्रह कोसेली लिएर आएका छन् ।
त्यो सुन्दर मेरो गाउँ
आँगनको त्यो आरुको फूल
गुराँसे पाखा
भन्ञ्जाङको त्यो बुढो वरपीपल
र,
टारबारी सिमलको भुवा !
हङकङमा साहित्य साधानारत कवि याक्खा शनिबार धराने साहित्यकार एवं साहित्यानुरागीहरुमाझ यसरी आफ्नो गाउँको सम्झना सुनाए । उनलाई महेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभाग र फ्यान क्लब अफ रमेश क्षितिजले धरानमा साहित्यिक माहौलमा उभ्याएको थियो । कार्यक्रममा कवि याक्खाको कविता मात्रै सुनिएन, हङकङेली साहित्यमा कवि टोपबहादुर याक्खाको योगदान तथा उनको कविता संग्रहमाथि परिचर्चासमेत भयो । ‘दश बर्षे जनयुद्धपछि हामीले केही पाउछौं भन्ने थियो, तर जनताले केही पाउन सकेन । जनयुद्धरुपी आधि रोकिएपछि जनताले के पायो त ?’–आधि रोकिएपछि संग्रहको परिचर्चा हुनुअघि नै उनले भने–‘विदेशिएपछि गाउँघरको माया, सम्झनाहरुलाई पनि समेटेको छुँ ।’

कवि तथा पत्रकार गोपाल देवानले याक्खाको कवितामा ग्रामिण नोष्टाल्जिक परिवेश समेटिएको धारणा राखे । मन छुने खालका कविताहरु भएको उल्लेख गदै उनले तीब्र अनुभुतिलाई पाठक समक्ष प्रस्ततु गर्ने कविको कौशललाई सह्राना गरेका थिए । ‘कतै विद्रोह छ, कतै असन्तुष्टी छ त कतै शान्तिको चाहना छ’–उनले भने । अर्का परिचर्चाकार रामजी तिम्सिनाले याक्खाका कविताहरु अत्यधिकरुपमा डायस्पोरिक भएको धारणा राखे । साहित्यकार चन्द्र गुरुङले पनि याक्खाका कविताको बारेमा चर्चा गरेका थिए ।
क्याम्पसका नेपाली विभागका प्रमुख एवं भाषाविद प्राध्यापक डा. टंक न्यौपानेले हङकङमा नेपाली साहित्य फष्टाउदै गएकोले त्यहाँका नेपाली साहित्यकोबारेमा परिचर्चा गर्न आवश्यक भएको बताए । ‘हङकङमा रहेर पनि नेपाली साहित्यमा नयाँ नयाँ विचार र प्रयोग गर्ने साधकहरुको जन्म भइरहेको छ, त्यसैले हङकङेली साहित्यको योगदानकोबारेमा चर्चा गर्न आवश्यक छ’–डा. न्यौपानेले भने । कार्यक्रमको बीच–बीचमा फ्यान क्लब अफ रमेश क्षितिजका सदस्य डा. कुम्भराज जोशी, निला तामाङलगायतले कवि याक्खाको कविता वाचन गरेका थिए ।
वृद्धाश्रमलाई २५ हजार सहयोग

यसैगरि, कवि याक्खाले गाउँको स्कुल सरस्वती प्राविमा कम्तिमा एक लाखरुपैयाको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धतासमेत जनाएका थिए । ‘मेरो पुस्तक बिक्रीबाट रकम जुट्न सक्यो वा सकेन भनेपनि म न्युनतम एक लाखको अक्षयकोष बनाउनेछु’–उनले भने ।
Comments
Post a Comment