मृगौला परीक्षणको रिपोर्ट,अधिकांशको मृगौला जोखिममा


धरान । शहरी क्षेत्रमा मानिसहरु मृगौला सम्बन्धी रोगको उच्च जोखिममा रहेको भेटिएको छ । विश्व मृगौला दिवस(मार्च १३)को अवसरमा बिहिबार धरानमा आयोजित निःशुल्क मृगौला रोगको परीक्षणको क्रममा यस्तो तथ्य भेटिएको हो ।
सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपाल(पिएसआरएन), विद्यार्थी च्याप्टर बीपी प्रतिष्ठानले भानुचौकमा गरेको निःशुल्क परीक्षणमा अधिकांशको पिसाबमा प्रोटिन र सुगर(चिनी)को मात्रा बढी देखिएको छ । यस्तै, रगतममा ग्लुकोजको मात्रा बढी(मधुमेह) र उच्च रक्तचाप(प्रेसर)का रोगी पनि भेटिएका छन् । आयोजक संस्थाका अनुसार करिब पाँच सय जनाको परीक्षण गरिएको थियो । ती मध्ये ५४ जनाको पिसाबमा चिनी देखिएको थियो भने कतिपयमा प्रोटिनको मात्रा पनि भेटिएको अध्यक्ष सागर पौडेलले जानकारी दिए । ‘पिसाब परीक्षण गर्दा ५४ जनामा सुगर देखियो, प्रोटिनको मात्रा पनि देखियो’–अध्यक्ष पौडेलले भने–‘पिसाबमा प्रोटिन र सुगर नदेखिनु पर्ने हो, यसले मृगौला जोखिममा छ भन्ने संकेत गरेको हो ।’


परीक्षणको क्रममा २५ जनालाई मधुमेह रोग(रगतमा ग्लुकोज बढी) भएको पत्ता लागेको थियो भने ६२ जनामा उच्च रक्तचाप भएको आयोजक संस्थाले जानकारी दिएको छ । परीक्षणस्थलमा प्रेसर, सुगर, मोटोपन, तौल, उचाई, पिसाबलगायतको परीक्षण गरिएको थियो । परीक्षण गराएकामध्ये ५५ प्रतिशत महिला थिए भने २० देखि ७० बर्ष उमेर समुहकाहरु सहभागी भएको आयोजक संस्थाले जनाएको छ । ‘समस्या देखिएकाहरुले नियमित जाँच गराइरहनुपर्छ, नत्र मृगौला खराब हुने उच्च जोखिम छ’–अध्यक्ष पौडेलले भने–‘पानी धेरै भन्दा धेरै पिउनु र नियमित जाँच गरेर चिकित्सकबाट परामर्श लिनु नै उत्तम उपचार हो ।’

दीर्घ मृगौला रोग र बढ्दो उमेर नारा दिएर बिहिबार विश्वभर विश्व मृगौला दिवस मनाइएको हो । यही दिवसको अवसर पारेर शनिबार बिहान धरानमा साइकल र्याली पनि निकालिने भएको छ । हाल बीपी प्रतिष्ठानमा दैनिक १५ जना डायलाइसिस गर्न आउने गरेका छन् भने महिनामा ३० जना नयाँ रोगीहरु सम्पर्कमा आउने गरेको तथ्यांक छ । नब्बे प्रतिशतसम्म मृगौला खराब भइसक्दा पनि रोगको कुनै लक्षण नदेखिने भएकोले विश्वभर मृगौला रोगीको संख्या वृद्धि भइरहेको चिकित्सकहरुको भनाई छ । सामान्यरुपमा पिसाब र रगतको जाँच गरेमा मृगौला सम्बन्धि रोग पत्ता लागिहाल्ने भएकोले बेला बेला जाँच गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
उच्च रक्तचाप, मधुमेहका विरामी तथा धुमपान, मदिरा सेवन गर्ने ४५ बर्ष माथिका व्यक्तिहरु पनि बढी जोखिममा रहेको निःशुल्क मृगौला रोग परीक्षण कार्यक्रमका संयोजक विमल खड्काले बताए । उनका अनुसार नेपालमा हरेकबर्ष १० हजारको संख्यामा मृगौला रोगी वृद्धि भइरहेको छ । मृगौला खराब भएपछि प्रत्यारोपण वा डायलाइसिसबाहेक अन्य उपचार विधि नभएको र यी दुवै अत्यन्तै खर्चालु भएकोले रोग लाग्नुबाट बच्नु नै उत्तम उपाय भएको उनले बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे