लोडसेडिङले ग्रिल उद्योग संकटमा


धरान । नियमित विद्युत आपुर्ति नहुदा यहाँका करिब पाँच दर्जन ग्रिल उद्योग संकटमा परेको छ । राज्यले लोडसेडिङको ठोस विकल्प नल्याउदा करोडौंको लगानी जोखिममा परेको व्यावासायीहरुले गुनासो गरेका छन् ।
लोडसेडिङको कारण व्यावसायीहरुले भनेको समयमा ग्राहकलाई सामान उपलब्ध गराउन सकेका छैनन् । सयौंलाई सिपमुलक रोजगारी दिएको व्यावसाय बन्द भएमा मुलुकमा वेरोजगारीको समस्या अझ बढ्नसक्ने उनीहरुको भनाई छ । ‘लोडसेडिङले गर्दा अर्डर पनि लिनु कि नलिनु भन्ने अवस्थामा छौं, विजुली नहुदा भनेको समयमा काम पुरा हुदैन’–धरान ९, वगैचालाइनस्थित हरि ग्रिल उद्योगका प्रोपाइटर हरि बराइलीले भने–‘ऋण लिएर लगानी गरेको उद्योगीहरु साह्रै मारमा परेको छ ।’
केही व्यावसायीहरुले बाध्य भएर जेनेटर खरीद गरेपनि त्यसले खर्च मात्रै बढाएको छ । ग्रिल, सटर, रेलिङ, ट्रसलगायत घरायसी सामानहरु निर्माण गर्ने उद्योगको ९० प्रतिशत काम विजुलीमा भर पर्नुपर्ने हुन्छ । एउटा सटर बनाउने काम डेढ दिनमा सकिन्थ्यो भने लोसेडिङको कारण पाँच दिनभन्दा बढी समय खर्चनु परिरहेको व्यावसायीहरुको भनाई छ । मंसिरदेखि जेठ महिनासम्म ७ महिना लोडसेडिङले व्यावसाय चौपट हुन्छ । त्यसपछि  पाँच महिनाको कमाईले उद्योग धान्नु पर्ने व्यावसायीहरुको भनाई छ । ‘४, ५ घण्टापछि ३ घण्टा मात्रै विजुली आउछ, दिनभरि कामदारहरु त्यतिकै बस्नुपर्छ’–व्यावसायी बराइलीले भने–‘आम्दानी घटेको छ, तर कामदारलाई न तलब खुवाउनै पर्यो ।’


व्यावसायीहरुका अनुसार साना तथा घरेलु उद्योगमा दर्ता भएका धरानमा ६० भन्दा बढी ग्रिल उद्योगहरु खुलेका छन् । ती मध्ये संयुक्त ग्रील व्यावसायी संघमा अहिलेसम्म २८ वटा उद्योग मात्रै आवद्ध भएको छ । संघका अध्यक्ष तोर्णबहादुर बिकका अनुसार पाँच महिनाको कमाईले १२ महिना उद्योग टिकाउन व्यावसायीहरुलाई धौ धौ परिरहेको छ । ‘उद्योगलाई निरन्तरता दिने हो भने सबैले जेनेटर नकिनी धरै छैन, तर त्यसले त सर्वसाधारणहरुलाई नै महंगीको भार थपिन्छ’–न्यु विश्वकर्मा ग्रिल उद्योगका सञ्चालकसमेत रहेका अध्यक्ष विक भन्छन्–‘विजुली देऊ भन्दै प्राधिकरण जाउ भने कुनै आशा नै छैन, हाम्रो समस्या लिएर खै कहाँ जाने ?’
ग्रिल उद्योगहरुले बार्षिकरुपमा नगरपालिका र राजश्व कार्यालयमा कर तिरिरहेपनि राज्यबाट भने व्यावसायीहरुले केही पाउन नसकेको संघका अध्यक्ष बिकको गुनासो छ । ‘राज्यलाई हामीले दिइमात्रै राखेको छांै, राज्यले दिनुपर्ने सुविधा खै ? हामीले सयौं युवाहरुलाई रोजगारी पनि दिएकै छौं । उद्योग बन्द भयो भने ती जनशक्तिको व्यवस्थापन कहाँ गर्ने ?’–उनले भने । उनका अनुसार एउटा ग्रिल उद्योगमा कम्तीमा पनि ५ जना कामदार छन् भने ठुलोमा १५ जनासम्मले रोजगारी पाएका छन् । एउटा ग्रिल उद्योग शुरुवात गर्दा कम्तीमा ५ लाख लगानी हुने व्यावसायीहरुको भनाई छ । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे