बुढासुब्बा रेडबुल गोल्डकप सर्यो


धरान । चैत पहिलो सातादेखि हुने भनिएको अन्र्तराष्ट्रिय आमन्त्रण १६ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता आयोजनाको मिति एक साता पछि सरेको छ । धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरेर सम्पुर्ण तयारी पुरा भइसकेको भएपनि बाध्य भएर गोल्डकप आयोजनाको मिति सार्नु परेको जानकारी दिएको छ । बुढासुब्बा गोल्डकप यही चैत १४ देखि २२ गतेसम्मलाई सरेको आयोजक क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए । उनका अनुसार फिफाको नियमअनुसार नेपालको राष्ट्रिय टोलीले चैत ११ गते कतारमा यमनसँग मैत्रीपुर्ण खेल खेल्नुपर्ने र अधिकांश क्लबका राष्ट्रिय खेलाडीहरु त्यता जाने भएकोले बाध्य भएर गोल्डकप सार्नुपरेको हो । प्रतियोगिता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुनेछ ।
‘सम्पुर्ण तयारी भइसकेको थियो, तर राष्ट्रिय खेलाडीहरु यमनसँगको मैत्रीपर्ण खेलकोलागि कतार जाने हुनाले राष्ट्रिय खेलाडीहरुको अनुपस्थितिमा बुढासुब्बाको स्तरीयता र रौनकतामा असर पर्ने महसुस गरेकोले मिति सार्नुपरेको हो’–अध्यक्ष राईले भने–‘विभिन्न ए डिभिजन क्लबमा आवद्ध राष्ट्रिय खेलाडीहरु मैत्रीपुर्ण खेलको लागि अहिले बन्द प्रशिक्षणमा छन् ।’ नेपाली राष्ट्रिय टोली चैत ११ गते यमनसँग प्रतिस्पर्धा गरेर चैत १२ गते स्वदेश फर्कने भएकोले सोही अनुसार मिति तय गरिएको उनले खुलाए । यसअघि क्लबले चैत ७ देखि १५ गतेसम्म बुढासुब्बाको १६ औं सँस्करण आयोजना गर्ने तयारीमा थियो । आयोजकले प्रतियोगिताको खेल तालिकासमेत प्रकाशित गरिसकेको थियो । विजेताले ३ लाख २५ हजार र उपविजेताले १ लाख ६२ हजार ५ सय नगद पुरस्कार पाउनेछन् ।

                            आठ टिम सहभागी हुने


बुढासुब्बा रेडबुल गोल्डकपको १६ औं सँस्करणमा दुई विदेशी टिमसहित जम्मा ८ वटा टिमले सहभागीता जनाएको भएको छ । भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबले पहिलो पटक सहभागीता जनाउदा साविक विजेता हङकङ नेपाली महासंघको टोली भने यसपटक भाग लिने छैन । अर्को विदेशी टिमकोरुपमा ८ औं सँस्करणको विजेता अफ्रिकन युनाइटेड मैदानमा उत्रनेछ ।
यसैगरि, स्वदेशी टिममा शहीद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब, बुढासुब्बामा गत सँस्करणको उपविजेता नेपाल आर्मी, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, पोखराको सहारा क्लबले सहभागीता जनाउनेछ भने आयोजक धरान फुटबल क्लब र धरान एकेडेमी गरी २ वटा घरेलु टिमले भाग लिने अध्यक्ष राईले बताए । ‘यसपाली धरानको २ वटा टिम हुनेछ, क्लबको सिनियर टिममा थ्री स्टारका राष्ट्रिय खेलाडी हुनेछ भने अर्को एकेडेमीको टिम हुनेछ’–अध्यक्ष राईले भने ।
आयोजकलाई उपाधि जित्नै पर्ने दबाब
शनिबार पोखरामा सम्पन्न १२ औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबले शहीद स्मारक ए डिभिजन लिग च्याम्पिन मनाङलाई फाइनलमा १–० ले हराउदै पहिलो पटक च्याम्पियन बन्यो । प्रतियोगितामा दोस्रो पटक फाइनल खेलेको सहराले सशक्त टोलीलाई पाखा लगाएर गौरवमय इतिहास रच्यो ।

पोखरासँग फुटबलमा मितेरी साइनो गासिएको धरानको लागि सहाराको यो सफलताले इष्र्यालाग्दो बनेको छ । साथै, उसलाई फाइनल पुगेर जित्नै पर्ने दबाब पनि परेको छ । बुढासुब्बा गोल्डकपको आयोजकले अहिलेसम्म घरेलु मैदानमा ४ पटक फाइनल खलेपनि उपाधि चुम्ने धोको भने पुरा गर्न सकेको छैन । ‘सहाराको यो सफलता गौरवपुर्ण छ, यसले बुढासुब्बाको हामी आयोजकलाई पनि फाइनल जित्नैपर्ने दबाब महसुस गरेका छौं’–आयोजक क्लबका अध्यक्ष किसोर राईले भने ।
बुढासुब्बा जित्नैपर्ने दबाब भएपनि सहारा र धरानको पूर्वयोजनाअनुसार सफलता पाएको उनको दाबी थियो । दुवै प्रतियोगिताको आयोजकले यसपटक फाइनल जित्ने योजना बनाएर तयारी गरेको उनको भनाई थियो । उपाधि जित्ने योजनाअनुसार यसपटक आयोजकले थ्री स्टार क्लबका ७ जना राष्ट्रिय टिमका खेलाडीलाई अनुबन्धन गरेको पनि उनले खुलाए । आहा रारामा पहिलो पटक पहिलो खेल धरानले जित्नुको कारण पनि त्यही भएको उनको दाबी थियो । आयोजकबाट राष्ट्रिय टिमका सन्दिप राई, प्रकाश बुढाथोकी, किरण चेम्जोङ, निराजन खड्का, विजय धिमाल, प्रदिप मर्हजनलगायत खेलाडी खेल्नेछन् ।

                        मिडिया कप ६ गतेदेखि


बुढासुब्बा रेडबुल गोल्डकपको प्रचार एवं प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्ने भनिएको मिडिया कप चैत ६ गदेखि ८ गतेसम्म हुने भएको छ ।
बुढासुब्बा गोल्डकपको मिति सरेसँगै मिडिया कप पनि पछि सरेको हो । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा आयोजना हुन लागेको मिडिया कप यसअघि चैत २ र ३ गते आयोजना गर्ने भनिएको थियो । मिडिया कपको विजेतालाई ट्रफीसहित नगद १० हजार र उपविजेतालाई नगद ७ हजार दिइने क्लबका अध्यक्ष राईले जानकारी दिए । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्स, वेष्ट स्ट्राइकर, हाइ स्कोरलगायत विधामा पनि पुरस्कार दिइने उनले बताए । बुढासुब्बा गोल्डकपको १६ औं सँस्करण मिडियामा समर्पित गोल्डकपको नारा दिइएकोले प्रतियोगिता आयोजना गरिएको क्लबको भनाई छ ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने मिडिया कपमा ४ वटा टिमले सहभागीता जनाउनेछ । छापा(प्रिन्ट) मिडियामा कार्यरत पत्रकारहरुको २ वटा टिम हुनेछ भने रेडियोकर्मीहरु र टेलिभिजनमा कार्यरतहरु सञ्चारकर्मीहरुको एक एक वटा टिमले सहभागीता जनाउने संयोजक एवं पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष विकास राईले जनाए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे