दृष्टिविहिन र बहिरा विद्यार्थीसँग होली पर्व(फोटोफिचर)


धरान । रंगको पर्व होली त्यसैपनि रंगीन हुन्छ । प्रेम र सद्भावले एकअर्कामा अबिर दलेर खुशी साट्ने यो पर्वमा संगीतको मिश्रण हुँदा कस्तो होला ?
‘विन्दास !’ । सोमबार धरानका दृष्टिविहिन र बहिरा विद्यार्थीहरुले यही अनुभव गरे । धरान १५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा आयोजित होली कार्यक्रममा रंगको मात्रै होइन, संगीतको पनि उल्लास छायो । दृष्टिविहिन विद्यार्थीहरुले रंगलाई देख्न पाएनन्, तर उनीहरुले महसुस गरे अनि, संगीतको धुनमा मस्त बने । बहिरा विद्यार्थीहरुले संगीतको धुनलाई सुन्न सकेनन्, तर रंगसँग उधुमै रमे ।


दृष्टिविहिन विद्यार्थीहरु पढ्ने ज्ञान चक्षु विद्यालयमा सोमबार होली मनाउन पूर्वाञ्चल बहिरा विद्यालयका विद्यार्थीहरु पनि भेला भएका थिए । समाजसेवी एवं व्यापारी मनिष लोहिया, राजन बास्तोला र सुमन श्रेष्ठको पहलमा आयोजित कार्यक्रमलाई धरानको आउडसाइडर्स ब्याण्ड र चर्चित गायक गंगा वरदानले रोमाञ्चित बनाइदिए । आउटसाइडर्सका गायक डिल्ली फोम्बोले पल्ला घरका मोइका.., आज कहाँ भोली कहाँ.., जोगले हुन्छ भेट.., संर्घष गर्दै जाउ..लगायत चर्चित गीत गाएर मनोरञ्जन दिलाए । हरेक गीतमा विद्यार्थीहरु एकआपसमा पानी रंग छ्याप्दै रमाए, कम्मर मर्काइमकाई नाचे ।


नेपालका बब मार्लीको परिचय बनाएका गायक गंगा वरदान झुल्किएपछि त होलीको रौनक झनै बढ्यो । उनले आफ्नो चर्चित गीत बजारै भरौ न धरानै..र छपनीले छान छान..गाइदिदा विद्यार्थीहरु मात्रै होइन, त्यहाँ उपस्थित युवा, शिक्षक र व्यापारीहरु पनि नाच्न थालिसकेका थिए । उनलाई गायक डिल्ली फोम्बोले पनि साथ दिए । होली कार्यक्रममा आउटसाइडर्स र गंगा वरदानले मात्रै होइन, दृष्टिविहिन विद्यार्थीहरुले पनि थप रौनक थपिदिए । निकेश थापाले कालो कालो रातको..गीत गाएर आफ्नो प्रतिभा देखाए भने साना दृष्टिविहिन विद्यार्थी गगन आलेले तिमी आज भोली..बोलको गीत गाएर सबैलाई चकित पारे । यस्तै, दृष्टिविहिन विद्यार्थी रमेश प्रसाई र आशिष राईले पनि गीत गाएर सबैको मन जिते ।
आउटसाइडर्सका गायक डिल्ली फोम्बोले फरक क्षमता भएका विद्यार्थीहरुसँग होली मनाउन पाउदा खुशी लागेको बताए । दृष्टिविहिन शिक्षक सागर सुब्बाले पनि होलीसँगै संगीतको मजा लिन पाउदा रमाइलो भएको बताए ।
..................

            दुव्र्यसनरहित होली हंगामा

रंगको पर्व होली भन्नेबित्तिकै जथाभावी रंग दल्ने र मदिरा पिएर मस्ती गर्ने भन्ने सोच आउछ । तर, सोमबार धरानका युवाहरुले भने होली पर्वलाई दुव्र्यसन एवं मदिरा निषेध गरेर मनाए ।
बीपी प्रतिष्ठानको मुख्य गेटअघिको क्याम्प गेट परिवारले विकृति, विसंगतिलाई त्याग्न आग्रह गर्दै सोमबार दुव्र्यसनरहित होली हंगामा आयोजना गरेको थियो । रिकभरिङ धरानले संयोजन गरेको कार्यक्रमअवधिभर त्यसआसपासका पसलहरुमा मदिराजन्य उपभोग्य वस्तुमा बिक्रीवितरण निषेध गरिएको थियो । होली पर्वमा विकृति, विसंगती बढ्दै गएकोले त्यसलाई न्युनिकरण गर्न निषेध गरिएको रिकभरिङ धरानका अध्यक्ष सन्तोष राईले बताए । कार्यक्रम बेलुका ५ बजेसम्म आयोजना भएको थियो ।
अबिर दलेर आयोजित कार्यक्रममा सहभागीहरुलाई डिजे रास्पा, डिजे बाबा, डिजे लाक्पा र डिजे सुवोको डिजेइङले खुबै नचाएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलहरु पनि आयोजना भएको थियो ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे