बुढासुब्बा गोल्डकप आजदेखि, उद्घाटन खेल धरान र दार्जिलिङबीच हुने


धरान,चैत १४ । मोफसलको चर्चित अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको १६ औं सँस्करण आज शुक्रबारदेखि शुरु हुदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा चैत १४ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।
मैदानको मर्मतसम्भार, अस्थायीरुपमा बाँसको प्याराफिट निर्माणसँगै भव्यता दिलाउन विभिन्न माध्यमबाट प्रचारप्रसार भइरहेको क्लबका अध्यक्ष किसोर राईले बताए । ‘प्रतियोगिताको सम्पुर्ण तयारी भइसकेको छ, केही सानातिना काम मात्रै बाँकी छन् । सहभागी टिमहरु आजैदेखि आउन शुरु गरिसकेको छ’–एन्फा केन्द्रीय द्धितिय उपाध्यक्षसमेत रहेका राईले भने–‘खेलाडीहरुलाई कुनै गुनासो नहुने गरि खान, बस्न र सुरक्षाको प्रबन्ध मिलाईसकेका छौं ।’
खेल मैदानको पूर्वीक्षेत्रमा २५ सय क्षमताको पक्की स्थायी प्याराफिट छदैछ भने तीनतिर १८ सय क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन बिहिबार युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गर्नेछन् । प्रतियोगितामा दुई विदेशी टिमसहित ८ टिमले सहभागीता जनाएको छ । ‘एकदमै राम्रो र बलियो टिमहरु आउदैछ, त्यसैले प्रत्येक खेलहरु प्रतिस्पर्धात्मक र उत्कृष्ट हुनेछ’–अध्यक्ष राईले भने–‘माफसलको टिम सहारा क्लब भर्खरै आहा राहा गोल्डकपको च्याम्पियन हो, आयोजक पनि बलियो छ ।’

प्रतियोगितामा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबले पहिलो पटक सहभागीता जनाउदैछ भने अर्को विदेशी टिमकोरुपमा ८ औं सँस्करणको विजेता अफ्रिकन युनाइटेड मैदानमा उत्रनेछ । यसैगरि, स्वदेशी टिममा शहीद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब, गत सँस्करणको उपविजेता त्रिभुवन आर्मी, एनएमबि मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, पोखराको सहारा क्लबले सहभागीता जनाउनेछ । आयोजक धरान फुटबल क्लब र धरान एकेडेमी गरी २ वटा घरेलु टिमले सहभागीता जनाउदा साविक विजेता हङकङ नेपाली महासंघ र चार पटकको विजेता थ्री स्टार पनि मैदानमा देखिनेछैन । चैत २२ गते हुने फाइनलको विजेताले नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले एक लाख ६२ हजार ५ सय पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल दिइने आयोजकले जनाएको छ ।
          ................

                                 उपाधि जित्ने आयोजकको लक्ष्य


बुढासुब्बा गोल्डकपको १६ औं सँस्करणमा दुई वटा टिम सहभागी गराएको आयोजकले बिहिबार उद्घाटन खेलमा पाहुना टोली भारत(वेष्ट बंगाल)को कञ्चनजंगा फुटबल क्लब दार्जिलिङको सामना गर्नेछ । घरेलु मैदानमा भएको प्रतियोगिता १६ औं सँस्करण आइपुग्दासम्म धरानले उपाधि जित्न सकेको छैन । आयोजक चार पटकसम्म फाइनल पुगेपनि घरेलु दर्शकलाई निराश बनाएको थियो । यसअघि आयोजक ०५५ को पहिलो सँस्करण, ०५६ को दोस्रो सँस्करण, ०५८ को चौथो सँस्करण र ०६२ को आठौं सँस्करणमा फाइनल पुगेपछि उपाधिबाट बञ्चित बनेको थियो ।
यसपटक आयोजकले ४ जना अफ्रिकन मुलका खेलाडी र ७ जना नेपाली राष्ट्रिय टिमका खेलाडीलाई मैदानमा उतार्ने भएकोले पनि उसलाई उपाधि जित्नुपर्ने दबाब छ । साथै, मोफसलको प्रतियोगितामा पोखराको आहा रारा गोल्डकप र सिमरा गोल्डकपमा आयोजक नै च्याम्पियन बनेकोले पनि बुढासुब्बाको आयोजकले थप दबाब महसुस गरेको छ । उत्कृष्ट खेलाडीहरु भित्र्याएपनि योजनावमोजिम एक साताअघि टिमको सामुहिक प्रशिक्षण हुन नपाउदा भने खेलाडीमा तालमेल नहोला कि भन्ने चिन्ता भने छ । ‘पहिला एक साता अघि नै खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना थियो, तर राष्ट्रिय टिम कतारमा मैत्रीपुर्ण खेल खेल्न जानुपरेकोले त्यो हुन पाएन’–आयोजकका सल्लाहकार दिपक राईले भने–‘तथापी, निरन्तर खेलाडीहरु खेलिरहेकोले फिट छन्, टिम सेट पनि राम्रो छ ।’

आयोजकबाट राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ, सन्दिप राई, विजय धिमाल, सविन्द्र श्रेष्ठ, असिमजंग कार्की, जगजित श्रेष्ठ र निराजन खड्का मैदानमा उत्रनेछन् । चार अफ्रिकन मुलका खेलाडी पनि समावेश घरेलु टिम शेखर लिम्बूको नेतृत्वमा रहनेछ । सामुहिक प्रशिक्षण हुन नपाउदा दबाब महसुस भएपनि खेलाडीहरु फिट रहेकोले पहिलो खेल जित्ने प्रशिक्षक सागर घिमिरेको दाबी छ । तथापी, दार्जिलिङको खेल र खेलाडीबारे जानकार नभएकोले पहिलो खेल कठिन हुने उनी स्वीकार गर्छन् । ‘नयाँ टिम भएकोले कस्तो खेल्छ, खेलाडी कस्तो छ भनेर थाह छैन । शुरुमा हामी ४–३–३ अनुसार खेल्छौं र दार्जिलिङको खेल हेरेर रणनीति फेर्छौै’–प्रशिक्षक घिमिरेले भने ।

प्रशिक्षक घिमिरले भने झै कञ्चनजंघा क्लबलाई कमजोर आँक्नु कुनै पनि टिमको लागि भुल हुनेछ । करिब २ बर्ष अघि स्थापना भएको यो क्लबले नर्थ बंगाल क्षेत्रको उत्कृष्ट टिमकोरुपमा आफुलाई स्थापित गरिसकेको छ । भारतको आइलिग खेल्ने लक्ष्य लिएर खेलाडीहरुलाई आवासिय सुविधासहित निरन्तर प्रशिक्षणमा राखेको क्लबले सिक्किमको एलडि काजी कप र कलकत्ता कप जितिसकेको छ । नेपालमा पनि झापाको भृकुटी गोल्डकप जितिसकेको छ भने आदर्श गोल्डकपमा उपविजेता भएको थियो । ‘नेपालका क्लबहरुको खेलस्तर राम्रो छ, तर हामी पनि कम छैनौं । दुई बर्षदेखि व्यावसायिक क्लबकोरुपमा निरन्तरण प्रशिक्षण गर्दै प्रतियोगिता खेलिरहको छौं’–कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले भने–‘नेपालमा पनि खेलिसकेका अनुभवी खेलाडीहरु छन्, तयारी पनि राम्रो छ, बुढासुब्बा जितेरै फर्कन्छौं भन्ने विश्वास छ ।’ मैदानमा ४–४–२ को रणनीतिमा टिम उत्रने उनले बताए ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे