कतारमा जलेका पदमलाई सहयोग जारी


धरान । कतारमा जलेर घर फिरेका धरान ११ मंगलबारेका पदमबहादुर श्रेष्ठको उपचारमा एक समाजसेवी महिलाले आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अभावले उपचारमा समस्या भोगिरहेका श्रेष्ठलाई धरान १६ निवासी समाजसेवी सरोजा राईले आर्थिक सहयोग गरेकी हुन् । उनले पीडित श्रेष्ठलाई नगद २५ हजार सहयोग गरेकी हुन् । समाजसेवी राईले बुधबार श्रेष्ठको निवासमा पुगेर सो रकम हस्तान्तरण गरेकी थिइन् । जलेर गम्भीर घाइते भएका श्रेष्ठ घर फिरेपनि आर्थिक अभावले राम्रो उपचार गर्न सकेका थिएनन् । यसबारेमा पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि सहयोग जुट्ने क्रम भने जारी छ ।
समाजसेवी राईले उपचार पछि श्रेष्ठ गरिखान सक्ने अवस्थामा फर्कने आशा लिएर सहयोग गरेको बताइन् । सहयोग रकम सदुपयोग गर्न पनि उनले श्रेष्ठलाई आग्रह गरेकी छिन् । राईले श्रेष्ठका छोरीहरुको शिक्षामा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । ‘आवश्यक परेमा बच्चाहरुको शिक्षामा पनि सहयोग गर्नेछु र अन्य सहयोग पनि भविष्य गर्नेछु’–समाजसेवी राईले भनिन् ।


यसैगरि, श्रेष्ठलाई लिबर्टी रेसिडेन्सियल स्कुलले पनि आर्थिक सहयोग गरेको छ । स्कुलको तर्फबाट प्रिन्सिपल तेजमान राईले ११ हजार ८ सय रुपैया आर्थिक सहयोग गरेको श्रेष्ठकी श्रीमति सुजताले जानकारी दिइन् । आर्थिक सहयोगसँगै उक्त स्कुलले ठुली छोरीको पढाईमा पनि ४ बर्षको लागि निःशुल्क गरिदिएको उनले बताइन् । ठुली छोरी हाल कक्षा ६ मा अध्ययनरछिन् । उनलाई एसएलसीसम्म स्कुलले निःशुल्क पढाईदिने भएको हो । श्रेष्ठको उपचारमा यसअघि दुबईमा कार्यरत नेपालीहरुले पनि ६ हजार २ सय ५५ रुपैया सहयोग पठाइदिएका थिए ।
जलेर गम्भीर घाइते भएका श्रेष्ठको माघ तेस्रो साता राजधानीमा मुख र देब्रो हातको अप्रेशन भएको थियो । मोडल अस्पतालमा अप्रेशन खर्च निःशुल्क भएपनि खान, बस्नलगायतमा धेरै खर्च भएको थियो । अबको ६ महिनापछि अर्को अप्रेशन गर्नुपर्नेछ । विदेशमा कमाएर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर पदमबहादुर कता गएका थिए । गएको बर्ष मंसिरमा पार्टटाइम काम गर्न गएको ओख्रा भन्ने ठाउँको पेट्रोल पम्पका मालिकले सल्काएको चुरोटले पम्पमा आगो सल्किदा उनको शरीरभरी आगो सल्कियो । घटनापछि उनी करिब ६ महिना अस्पतालमा बेहोस अवस्थामा रहे । उनको खुट्टाको पैतलाबाहेक शरीरको प्रायः सबै भाग जलेर कुरुप भएको थियो । स्थानीय अस्पतालमा ६ महिना उपचार निःशुल्क भएपनि उनले काम गर्ने कम्पनी ला भिल्ला ल्याण्डस्केप एण्ड ट्रेडिङले १० महिनाको तलब दिएन । केही समय प्रहरीमा उजुरी दिएर तलब र विमाको लागि पहल गरेपनि खर्च धान्न सकेनन् । र, डाक्टर र नर्सहरुले नै पैसा उठाएर उनलाई असारमा नेपाल फर्काइदिएका थिए । घरको लागि कमाउने व्यक्ति नै थाल परेपछि परिवारजनलाई श्रेष्ठको उपचार खर्च र घर खर्च जुटाउन धौ धौं छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे