विश्वकपको जुवा खेलाएको आरोपमा पाँच पक्राउ


धरान । विश्वकप फुटवलको मौका छोपेर धरानमा सट्टेबजार सञ्चालन गरिरहेका गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । एक साता लामो गोप्य अनुसन्धान गरेर प्रमाणसहित इलाका प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सट्टे बाजका मुख्य नाइके धरान १६ का २७ बर्षीय ज्याकी लिम्बू, धरान १८ का २९ बर्षीय विन्ते राई, धरान १० का ३२ बर्षीय सोम लिम्बू, धरान १२ का ३४ बर्षीय सुरेन प्रधान र २७ बर्षीय सूर्य लिम्बू रहेका छन् । उनीहरुलाई पहिलो सेमीफाइनल खेल हुनुअघि मंगलबार साँझ पक्राउ गरेको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार उनीहरुले राजधानीको विभिन्न क्यासिनोसँग सहकार्य गरेर धरानमा विश्वकपको सट्टेबजार चलाइरहेकासमेत खुलेको छ । उनका अनुसार मुनाल पथस्थित ज्याकी लिम्बूको घरबाट उनीसहितका युवाहरुले सट्टेबाज सञ्चालन भइरहेको थियो ।
‘धरानमा पनि भित्रभित्रै सट्टेबाजी भइरहेको भन्ने शुरुमा नै खबर पाएका थियौं, अनुसन्धान गर्नेक्रममा प्रमाणसहित फेला पार्यौं’–डिएसपी थापाले भने–‘यिनीहरुको सञ्जाल काठमाण्डौंको क्यासिनोहरुसम्म रहेछ, तर यिनीहरुले त्यो कुरा खोल्न मानिरहेको छैन ।’ प्रहरीले युवाहरुको साथबाट ४ थान आइफोन र एक थान कलर्स मोबाइल पनि वरामद गरेको छ । ती आइफोन र मोवाइलको एसएमएस संवादले सट्टेबजारमा पैसा मात्रै नभएर सुन र आइफोन पनि जुवाको दाउमा राख्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले विभिन्न खेलको दररेट पनि वरामद गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले जुवा ऐन २०२० अनुसार मुद्दा दर्ता गरेर म्याद थप गरिसकेको छ ।
प्रहरीका अनुसार सट्टे बजारका स्थानीय सञ्चालकहरुले राजधानीको क्यासिनोको एजेन्ट(प्रतिनिधि)कोरुपमा पनि काम गर्थे । उनीहरुले धेरै पैसा संकलन गर्दा आफ्नो कमिशन उठाएर राजधानी पठाउने र पैसा अपुग भएमा ती क्यासिनोबाट पनि लिने प्रहरीको भनाई छ । विश्वकप फुटबलको सट्टेबजारमा अडकलबाजी गर्दै लाखौं रुपैया दाउमा बाजी राख्ने गरेका छन् । कानुनले बन्देज गरेपनि फुटबल, क्रिकेटलगायतको विश्व प्रतियोगिता हुँदा गोप्यरुपमा सञ्जाल बनाएर सट्टेबजार सञ्चालन हुने गरेपनि ती गिरोह अहिलेसम्म प्रहरीको फन्दामा परेको थियो । यस्तो गिरोह समातिएको पूर्व क्षेत्रमा यो नै पहिलो घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार धरानमा मात्र २ सय भन्दा बढी व्यक्ति जुवाजन्य यो सट्टेबाजमा नियमित संलग्न हुने गरेको अनुमान छ । यसले धरानबाट मात्रै दशौं लाखको कारोबार हुने अनुमान छ । यो जुवाजन्य खेलको नशाले कसैको घरबार नै तहस नहस पार्नसक्ने भएकोले शुरुदेखि नै निगरानी बढाएको प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए । ‘खेल्ने भन्दा पनि खेलाउने नै बढी दोषी हुन्, यो गिरोहको पहिचान पनि भएकोले पक्राउ गर्यौं’–उनले भने ।
लाखौंको जुवा खेलाउनेहरु प्रमाणसहित समातिए पनि ेपालको कानुन नै फितलो भएकोले कडा काबारही हुनबाट जोगिदै आएको प्रहरीको गुनासो छ । जुवा ऐनमा पहिलो पटक खेलाएमा दुई सय सम्मको जरिवाना, दास्रो पटक वा सो भन्दा बढी खेलाएमा एक देखि तीन महिनासम्म थुना तथा विगो र परिमाण अनुसारको दण्ड सजाय व्यवस्था गरिएको छ । ‘जुवा ऐन २०२० सालमा बनेको हो, त्यसयता संशोधन भएको छैन र कानुन नै कमजोर छ, जति नै ठुलो जुवाको अखडाबाट समातिए पनि उन्मुक्ति पाइहाल्छन्’–एक प्रहरी अधिकृतले भने । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे