आँखाको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाही गर्न माग


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोतियाविन्दुको अप्रेशन गरेपछि आँखाको ज्योति गुमेका इटहरी ५ का ६० बर्षीय लालबहादुर गिरीले लापरवाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरेका छन् ।
गत असार दोस्रो साता दाहिनो आँखाको मोतिया विन्दु अप्रेशन सफल भएपछि पनि गिरीको आँखामा इन्फेक्शन भएको थियो । चिकित्सकले इन्फेक्शन रोक्न भन्दै लापरवाहीपुर्ण तरिकाले सुई लगाइदिएको र डाक्टरले हेर्न पनि नआएपछि आँखाको ज्योति गुमेको गिरी परिवारको आरोप छ । चिकित्सककै सल्लाहमा राजधानीस्थित तिलगंगा आँखा अस्पतालमा जचाउन गएपनि गिरी निराश भएर फर्किएका छन् । ‘सुई लगाएपछि २९ घण्टासम्म मलाई हेर्न डाक्टर किन आएनन् ? डाक्टरले विरामीप्रति गरेको लापरवाही हो कि होइन ?’–बुधबार पत्रकार सम्मेलन गर्दै पीडित गिरीले भने–‘डाक्टर, नर्स नआएपछि सुई हानेपछि लगाएको पट्टी पनि हेल्परले खोलिदिएको थियो । हेल्चेक्राई गर्ने डाक्टरलाई कानुनी कारबाही हुनुपर्छ ।’ पटक पटक डाक्टर बोलाउन आग्रह गर्दा पनि नआएको उनको भनाई छ ।

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै पीडित गिरीले बुधबार नै बीपी प्रतिष्ठानका उपकुलपतिलाई निवेदन दिएका छन् । उनले डाक्टरलाई कारबाहीसँगै उपचारमा लागेको खर्च दिलाउन पनि माग गरेका छन् । उपकुलपति हाल भारतमा भएको कारणले पीडित पक्षसँग शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले छलफल गरेका थिए । उपकुलपति फर्किएपछि निवेदन उपचर विचार गर्ने डा.श्रेष्ठले आश्वासन दिएको पीडित पक्षले जानकारी दिएका छन् । गिरीको अप्रेशन तथा उपचार प्रतिष्ठानका डाक्टर भुवन गोकुल(बि.जि.) श्रेष्ठको नेतृत्वमा भएको थियो ।
पीडित परिवारजनले इन्फेक्सन देखिएपछि बि–स्कान गरेर किटाणुको पहिचान गरेर मात्रै सुई लगाउनुपर्ने भएपनि चिकित्सकले जथाभावीरुपमा लगाएको आरोप छ । ‘इन्फेक्सन देखिएपछि कुन किटाणु हो भनेर पहिला बि स्कान गर्नुपर्ने रहेछ, तर हाम्रो बुबाको त्यस्तो केही गरिएन’–तिलगंगाका चिकित्सकको भनाई उल्लेख गर्दै छोरी लक्ष्मी गिरी शाक्यले भनिन्–‘इन्जेक्सन लगाएपछि डाक्टरले राम्रो केयर गरिदिएको भए आँखा नबिग्रिने थिएछ ।’ अप्रेशन भएको दाहिने आँखाको पर्दा, लेन्स र रेटिना पनि असर पुगेकोले अप्रेशन गर्नुपरेको उनले बताइन् ।

देब्रे आँखा ठिक अवस्थामा भए पनि नशाको कनेक्सन हुने भएकोले असर पुग्नसक्नेतर्फ तिलगंगाका चिकित्सकहरुले सचेत गराएको परिवारजनले जनाएको छ । पीडित गिरीको देब्रो आँखाबाट पनि निरन्तर आँशु बगिरहेकोले परिवारजन चिन्तित छन् । दाहिने आँखाको रेटिनामा अझै पिप बाँकी रहेकोले एक महिनापछि निकाल्न चिकित्सकले सुझाएका छन् । ‘हामीलाई क्षतिपूर्ति चाहिदैन, हाम्रो बुबाको यस्तो हालत बनाउने डाक्टरलाई कारबाही होस्, अरुले पनि यस्तो पीडा भोग्न नपरोस्’–अर्की छोरी सरस्वतीले भनिन् ।
पीडित गिरीको बीपी प्रतिष्ठानमा दाहिने आँखाको मोतियाविन्दुको अप्रेशन गत असार १५ गते आइतबार भएको थियो । अप्रेशनपछि आँखामा लगाएको पट्टी सोमबार खोलिएको थियो । सबै ठिक भएर घर फिरेका गिरीलाई मंगलबारदेखि भने शरीरको दाहिने पाटो पोल्न थालेपछि बुधबार पुनः बीपी प्रतिष्ठान आएका थिए । चिकित्सकले आँखामा इन्फेक्सन भएको भन्दै बेड भर्ना गरेर सुई लगाएपछि लापरवाही भएर आँखा बिग्रिएको पीडित गिरी र परिवारजनको आरोप छ । सुई लगाइदिएपछि डाक्टर, नर्स कोही पनि हेर्न नआएको र पट्टी पनि एक जना हेल्परले खोलिदिएका थिए । उनले पट्टी खोल्ने क्रममा रगत आएको बताए पनि डाक्टर, नर्स हेर्न पनि नआएको र २९ घण्टा पछि मात्रै डाक्टरसँग भेट भएको पीडितको आरोप छ । आँखाको अप्रेशनमा संलग्न चिकित्सक श्रेष्ठले भने उपचारमा लापारवाही नभएको दाबी गर्दै आइरहेका छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे