छापा मारेको विरोधमा सुनचादी पसल बन्द


धरान । घरमा छापा मारेर सुनचादीको गहना र नगद पक्राउ गरेको विरोधमा धरानका सुनचादी व्यावसायीहरुले आइतबार पसल बन्द गरेका छन् । उनीहरुले व्यावसायिक सुरक्षा दिनुपर्नेमा घरमा छापा मारेर व्यावसायीहरुलाई थप त्रसित बनाएको आरोपसमेत लगाएका छन् ।
सुनसरी सुनचादी व्यावसायी संघका उपाध्यक्ष किशन मास्केले व्यावसायिक सुरक्षाको लागि व्यावसायीहरुले स्वतस्फुर्तरुपमा आइतबार पसल बन्द गराएको बताए । ‘काचो सुन पनि होइन, व्यावसायिक सामानलाई सुरक्षाको लागि आफन्तको घरमा राखिएको हो’–संघका जिल्ला उपाध्यक्ष किसन मास्केले भने–‘घरमा सुरक्षाको लागि राखिएको सामानबारे अर्नगल प्रचार भयो, छापाले गर्दा व्यावसायीहरु डराउनुपर्ने अवस्था भयो । त्यसैले सांकेतिक विरोधमा व्यावसायीहरु आफैले पसल बन्द गरेका हुन् ।’


कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले शनिबार धरान ४ स्थित दिपक अग्रवालको घरमा छापा मारेर सुनचादीको तयारी गहना र नगद ५२ लाख वरामद गरेको थियो । वरामद भएको चादीको गहना ७० किलो र सुनको गहना ८० तोला भएको खुलेको छ । दिपक अग्रवालको घरमा वरामद भएको ती गहना र नगद सुनचादी व्यावसायी संघ सुनसरीका अध्यक्ष सुनिल अग्रवालको भएको पुष्टि भइसकेको छ ।
घटनाको विरोधमा सुनसरी उद्योग वाणिज्य संघसहितको सुनचादी व्यावसायीहरुको एक टोलीले आइतबार इलाका प्रहरी कार्यालय र कोशी अञ्चल प्रहरी कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् । उनीहरुले पक्राउ परेका घरधनी गहना र नगद राख्ने बेलामा घरमा नभएकोले निर्दोष भएको जिकिर गर्दै रिहाईको माग गरेका छन् । यद्यापी, उनीहरुले एसएसपी ज्ञानबिक्रम थापालाई सत्य, तथ्य छानबीन गर्न पनि माग गरेका थिए । व्यावसायीहरुका अनुसार धरानमा करिब सयको हाराहारीमा सुनचादी पसलहरु छन् ।
व्यावसायी फेला नपरेको कारण वरामद भएको गहना र नगदको वैद्यताबारे खुल्न सकेको छैन । अध्यक्ष अग्रवाल परिवारसहित उपचारको लागि भारतमा रहेकोले पनि यसबारेमा अन्यौलता बढाएको हो । व्यावसायीहरु भने प्रहरीले वरामद गरेको गरगहना र नगद व्यावसायिक उद्देश्यको भएको र सुरक्षाको लागि आफन्तको घरमा राखेको दाबी गर्दै आइरहेका छन् । नेपाल सुनचादी व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले सुनचादी व्यावसायलाई नै धरापमा पार्ने काम भएको बताए । ‘उपचार गराईरहेको बुबाले बोलाएपछि छोरा अचानक भारत जानुपर्यो, घरमा महिला मात्रै रहने भएपछि सुरक्षाको लागि शुक्रबार पसलको व्यावसायिक सामान आफन्तको घरमा राखेर गएको हो । प्रहरीले शनिबार छामा मार्यो’–केन्द्रीय उपाध्यक्ष शाक्यले भने–‘आफन्तकोमा सामान राख्नै नपाइने ?’ उपाध्यक्ष शाक्यका अनुसार नेपालमा दैनिक ४० केजी सुनको माग छ । तर, दैनिक १५ केजी मात्रै सुन भित्र्याउने अनुमति दिएकोले सरकारले नै गैरकानुनीरुपमा आयात गरिएको सुन किन्न व्यावसायीहरु बाध्य बनाएको उनको आरोप छ ।
...............

                        सुनको परिमाण ८० तोला 


प्रहरीले शनिबार धरान ४ स्थित दिपक अग्रवालको घरबाट वरादम गरेको सुनको तयारी गहना ८० तोला भएको खुलेको छ । आइतबार सुनचादी व्यावसायीहरुको सहयोगमा नापतौला हुदा सुनको गहनाको यो परिमाण खुलेको हो ।
शनिबार वरामद भएको चादीको तयारी गहना ७० किलो र नगद ५२ लाख भएको खुलेपनि सुनको गहनाको तौल भने खुल्न सकेको थिएन । व्यावसायीको सहयोगमा आइतबार सुनको नापतौल भएर परिमाण खुलेपछि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार सुनका गहनाहरु ८० तोला भएको खुल्यो । वरामद भएका तयारी गहनाहरु १८, २० र २४ क्यारेटको भएको पनि उनले बताए । आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिइएका घरधनी अग्रवाललाई पनि राजश्वमा बुझाइने उनले बताए ।

धरानस्थित कोशी अञ्चल प्रहरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार बिहानै अग्रवालको घरमा छापा मार्दा बोरामा प्याक गरेर खाटमुनि लुकाईरहेको अवस्थामा गरगहना र नगद फेला परेको थियो । घरधनी अग्रवाल भने सुनचादी व्यावसायी होइनन् । उनको धरान ८, तीनकुनेस्थित औद्योगिक क्षेत्रमा प्लाष्टिक उद्योग छ । वरामद भएको सुनचादीको गहना र नगद सुनचादी व्यावसायी संघ सुनसरीका अध्यक्ष सुनिल अग्रवालको भएको पुष्टि भइसकेको प्रहरीले जनाएको छ । उनी परिवारसहित हाल उपचारको लागि भारतमा छन् । सुनिल र दिपक अग्रवाला नातेदार भएको र सुरक्षाको लागि सुनिलका छोराले गहना र नगद दिपकको घरमा राखेर शुक्रबार भारत गएको सुनचादी व्यावसायीहरुले जिकिर गर्दै आएको छ । अध्यक्ष सुनिल अग्रवाल हाल उपचारको लागि भारत गएको र वरामद सामान एवं नगदको आवश्यक कागजपत्र नभेटिएकोले वैद्यताबारे प्रष्ट भइनसकेको प्रहरीको भनाई छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे