फुर्सद हुनासाथ साइकलमा सरर(फोटोफिचर)

धरान । राजु सुनचादी पसलका सञ्चालक राजु दर्नाल सधै पसल बन्द गरेर घर जान्थे । तर, शुक्रबार भने पसल बन्द गरेर उनलाई माउण्टेनबाइकमा धरान डुल्न रहर जाग्यो । आफ्नो रहर पुरा गर्न उनी धरान १९ स्थित आफ्नो पसल नजिकैको ग्रिनह्विल्स माउण्टेन बाइक शो रुममा गए, अनि कलिला र युवाहरुसँगै निस्किए क्रिटिकल मास राइडमा ।
धरानमा सबै क्षेत्रका मानिसहरुको हिजोआज साइक्लिङप्रतिको रुचि बढ्दो छ । ती मध्ये एक प्रतिनिधि पात्र हुन्, राजु । साइकल सिटि अभियानले गति लिन थालेपछि राजु जस्तै विभिन्न पेशा एवं क्षेत्रका मानिसहरुको ध्यान माउण्टेन बाइक एवं साइक्लिङले तानेको छ । शुक्रबार क्रिटिकल मास राइडमा राजुसँगै टोकियो वल्र्ड ल्याङ्वेज एकेडेमीका सागर लिम्बू, एटु कोल्ड स्टोरका अजय लिम्बू पनि पहिलो पल्ट साइक्लिङको अनुभव लिए । ‘सधै केटाकेटी र युवा भाईहरु साइकलमा डुलेको देख्छु, आज त मलाई पनि धरान साइकलमा घुम्ने रहर भयो’–सुनचादी व्यावसायी दर्नालले भने ।


धरानका साइकल सिटि अभियानका अगुवाहरुले ग्रिनह्विल्स माउण्टेन बाइक शोरुमसँग मिलेर प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार गर्वका साथ साइकल चढौं भन्दै ‘क्रिटिकल मास राइड’ आयोजना गर्छन् । यो अभियान शुरु भएको बर्षदिन पुग्न लागेको छ । अभियानमा कलिला बालबालिकादेखि युवा, गृहिणी, व्यावसायी र सामाजिक क्षेत्रमा क्रियासिलहरुको सहभागीता बढ्दै गइरहेको अभियान्ताहरु बताउछन् । ‘हरेक हप्ता सबै क्षेत्रको सहभागिता बढ्दो छ, यसले साइक्लिङ र आफ्नो स्वास्थ्यप्रति मानिसमा सचेतना बढ्दै गएको देखिन्छ’–अभियन्ता एवं शिक्षक दिपक राईले भने ।
अर्का साइकल सिटि अभियन्ता एवं ग्रिनह्विल्सका प्रमुख हेम लिम्बूका अनुसार विश्वभर कुनै पनि योजना विना नै क्रिटिकल मास राइड स्वःफुर्तरुपमा प्रचलनमा आएको हो । यसको उद्देश्य प्ले कार्ड, नारा जुलुस र ब्यानर विना नै कुनै पनि बिषयको विरोध गर्नु हो । विश्वभर अंग्रेजी महिनाको अन्तिम शुक्रबार साँझमा ‘क्रिटिकल मास राइड’ हुने गरेको छ । ‘नेपालमा पनि पेट्रोलियम पदार्थबाट चल्ने साधनलाई कम गरौं, साइकल चढेर वातावरण र स्वास्थ्य जोगाऊ भन्ने अभियानको लागि शुरुवात गरेका हौं’–लिम्बूले भने–‘धरानलाई साइकलमैत्री शहर बनाउने उद्देश्य हो ।’ क्रिटिकल मास राइडको अभियान सबैभन्दा पहिला सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा २० जना साइक्लिष्टहरुले शुरु गरेको इतिहास छ । पछि, सन् २००३ मा विश्वका ३ सय शहरमा यो अभियान विस्तार भएको थियो । नेपालमा यसअघि यो राइड काठमाण्डौंमा मात्रै आयोजना हुन्थ्यो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे