एन्फा टेक्निकल सेन्टर सञ्चालन गर्न माग

दुई बर्षदेखि बन्द अवस्थामा रहेको धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको भवन ।
धरान । विगत दुई बर्षदेखि बन्द अवस्थामा रहेको धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरलाई सञ्चालनमा ल्याउन पुराना खेलाडी एवं स्थानीयले अखिल नेपाल फुटबल संघ(एन्फा)सँग माग गरेका छन् ।
    सेन्टर बन्द हुदा पूर्वाञ्चलबाट प्रतिभावान विभिन्न उमेर समुहका खेलाडीहरुको उत्पादनमा असर पुगेको र यसले समग्र फुटबल खेलको विकास प्रभावित भएको निष्कर्ष निकाल्दै खेलकर्मी एवं स्थानीयको एक टोली एन्फा केन्द्रीय कार्यालयमा डेलिगेशनसमेत जान लागेका छन् । उनीहरुले सेन्टर बन्द हुनुको कारण र भविष्यमा कसरी सञ्चालन गर्ने भनेर छलफल एवं खोजी गर्ने बताएका छन् । टोलीको नेतृत्व पुराना खेलाडी तिलक राई, सुवास राई र अनिल श्रेष्ठले गर्दैछन् ।
राज्यकोसमेत लगानी भएको सेन्टर बन्द हुँदा भौतिक संरचना खण्डहरमा परिणत हुन लागेको र खेलाडी उत्पादनमा पनि रोकिएकोले खेलकर्मीहरुले चासो राख्दै सञ्चालनमा ल्याउन पहल थालेको तिलक राईले बताए । ‘विभिन्न उमेर समुहलाई राखेर पढाईसँगै फुटबलको ज्ञान दिने र राष्ट्रिय खेलाडी उत्पादन गर्ने सेन्टरको लक्ष्य हो, तर यो दुई बर्षदेखि बन्द हुँदा धरानमात्रै होइन, पूर्व क्षेत्रलाई नै असर परिरहेको छ’–उनले भने–‘यो किन सञ्चालन हुनसकेन ? के कस्ता कमी कमजोरी भयो र अब कसरी सञ्चालन गर्ने भनेर छलफल गर्न राजधानी जादैछौं ।’ टोलीले बन्द हुनाको कारण खोजी गरेर सञ्चालनको लागि दबाब दिने र स्थानीयस्तरबाट सहयोगको प्रतिवद्धता पनि एन्फासँग गर्ने उनको भनाई छ ।
धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको खेल मैदानतर्फको भत्किदै गएको प्याराफिट ।
फिफा गोल प्रोजेक्टअन्र्तगत नगरपालिकासँग जमिन ३० बर्षको लागि लिजमा लिएर यो सेन्टर निर्माण भएको हो । करिब ४ करोड लगातमा बनेको सेन्टरमा पूर्वा क्षेत्रका खेलाडीलाई प्रशिक्षण दिलाउने मात्रै नभै प्रशिक्षक, रेफ्री, मेडिकल टिमलाई पनि तालिम दिने उद्देश्यले बनाइएको हो । साथै, विभिन्न गोष्ठी, सेमिनारहरु आयोजना यहाँ हुनुपर्ने थियो । तर, उद्देश्य वमोजिम एकेडेमीले न उमेर समुहका खेलाडीलाई नियमित प्रशिक्षण नै गराउन सक्यो, न गोष्ठी सेमिनार नै यहाँ हुनसक्यो । यहाँ पहिलो ब्याच ०६६ सालदेखि प्रशिक्षण गराएपछि भने एन्फाले कुनै पनि उमेर समुहकालाई प्रशिक्षण गराउने वा नयाँ कार्यक्रम दिएको छैन ।
खेलकर्मी एवं स्थानीयबासी सुवास राई एन्फाले सञ्चालन गर्न नसक्ने हो भने स्थानीय वा नगरपालिका आफैले सञ्चालन, व्यावस्थापनको जिम्मा लिनुपर्ने धारणा राख्छन् । ‘नगरपालिकाको पनि लगानी छ, करोडौंको संरचना खेर जान दिनु त भएन । यो पूर्वाञ्चलकै संरचना भएकोले निर्वाध सञ्चालन हुनुपर्छ भन्ने हाम्रो एक मात्र माग हो’–धरान फुटबल क्लबका पूर्वअध्यक्षसमेत रहेका राईले भने । यसअघि बुटवलस्थित सेन्टर एन्फाले स्थानीयलाई सञ्चालन गर्न जिम्मा दिएकोले एन्फाले नसक्ने भए यहाँ पनि स्थानीयलाई जिम्मा दिन उनले माग गरे । सेन्टरका संयोजक एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले भने मंगलबार एक विज्ञप्ती जारी गर्दै एन्फाआवद्ध व्यक्तिसँग गोप्यरुपमा साँगगाठ गरी सेन्टर सञ्चालनको तयारी गरेको भन्दै विरोध जनाएका छन् । एन्फा पूर्वाञ्चल उपाध्यक्ष र जिल्ला फुटबल संघलाई जानकारी नगराई नै सञ्चालनको प्रयास गरेको भन्दै उनले विरोध जनाएका छन् । उनले पनि युवा खेलाडीहरुको भविष्यको लागि एन्फा एकेडेमी सञ्चालन गर्नै पर्ने विज्ञप्तीमा जनाएका छन् ।
एन्फाले गत बैशाख दोस्रो साताको केन्द्रीय बैठकबाट अब जिल्लास्तरमा नै उमेर समुहलाई प्रशिक्षण दिलाउने निर्णय गर्दै क्षेत्रीयस्तरको सेन्टर सञ्चालनलाई प्राथमिकतामा राखेको छैन । फिफाको अनुदानमा बनेको धरानस्थित सेन्टरमा एउटा सेमिनार हाल, वैठक कोठा, कार्यालय कोठा, किचन र ११ वटा आवासिय कोठा छन् । यहाँ एउटा खेल मैदानसमेत छ । बन्द अवस्थाको यो सेन्टरको मैदानमा तीन बर्षयता बुढासुब्बा गोल्डकप आयोजना हुदै आएको छ । संरक्षण र मर्मतसम्भारमा ध्यान नदिदा एकेडेमीको फेन्सिङ वाल भत्किएको छ भने भवनमा पानी चुहिन्छ । आवासिय कोठा लथालिङ अवस्थामा छ भने सेमिनार हल गोदाममा परिणत भएको छ ।
.................

                                           ग्रासरुट ट्रेनिङ क्याम्प

भावी पिढीलाई फुटबलमा आकर्षित गर्न र खेल कौशल निर्खाको लागि धरान फुटबल क्लबले तीन साता लामो प्रशिक्षण आयोजना गर्ने भएको छ । क्लबले धरान १७ स्थित पूर्वाञ्चल टेक्निकल सेन्टरमा ग्रास रुट लेभल समर फुटवल ट्रनिङ क्याम्प ०७१ आयोजना गर्ने घोषणा गरेको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै क्लबले गर्मी विदाको सदुपयोग गर्दै साउन १ गतेदेखि २० गतेसम्म ट्रेनिङ आयोजना गर्ने जानकारी दिएको छ । उक्त ट्रेनिङमा निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराउने संयोजक सुवास राईले बताए । ‘दुई जना प्रशिक्षकको व्यवस्था गर्नेछौं, यसले सेन्टर सञ्चालनमा नल्याउदा फुटबलको विकास हुने बाधा र अड्चनलाई चिर्नेछ र विद्यार्थी खेलाडीहरुले राम्रो सिप सिक्ने अनि खेल कौशल परिष्कृत गर्ने अवसर पाउने आशा गरेका छौं’–उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे