वडाबासीद्धारा जनसरोकार मञ्चको कार्यालय घेराऊ



धरान । जनताको सरोकारका मुद्दा उठाउने भन्दै गठन भएको संस्थाले जनतालाई नै दुःख दिएको शनिबार धरान १३ वडाबासीहरुले जनसरोकार मञ्चको कार्यालय घेराउ गरेका छन् । सर्दु जलाधार क्षेत्रको वन जंगल फडानी गर्न र कित्ताकाटमा रोक लगाउन माग गर्दै मञ्चले पुनरावेदन अदालतमा मुद्दा हालेको र त्यसैको आधारमा धरानको वडा नम्बर १३ को घरजग्गा पनि रोक्का भएपछि स्थानीयबासीहरुले मञ्चको कार्यालय घेराउ गरेका हुन् । निजी घरजग्गा रोक्का भएपछि आफुहरु अन्यायमा परेको भन्दै स्थानीयबासीहरुले तीन दिनअघि बिहिबार बाँझगरा ९ ‘क’ सचेतना समिति गठन गरेका थिए । सोही समितिको अगुवाईमा शनिबार वार्ता गर्न गएका स्थानीयसँग मञ्चका पदाधिकारीहरुले आफुहरुले रोक्का नगरेको भन्दै गैरजिम्मेवार जवाफ दिएपछि केहीबेर तनाव सृर्जना भएको थियो । पीडित वडाबासीहरुले प्ले कार्डसहित मञ्चको छाताचोकस्थित कार्यालय अघि विकास विरोधी, जनता विरोधी भन्दै विरुद्ध नाराबाजी समेत गरे ।
‘सल्लाहअनुसार आज मञ्चसँग छलफल गर्न आएका थियौं, हाम्रो एक मात्र कुरा के हो भने रोक्का भएको घरजग्गा फुकुवा कसरी गर्न सकिन्छ भन्ने थियो’–सचेतना समितिका उपाध्यक्ष एवं स्थानीयबासी महेन्द्र प्रधानले भने–‘तर उहाँहरु आफ्नो गल्ती स्वीकार नै गर्न चाहेनन्, हामीले त जलाधारको जग्गा मात्रै रोक्का गर्न माग गरेको भन्ने अड्डी कस्छन्, नगरपालिका, मालपोत, नापी कार्यालय जिम्मेवार छन् भन्दै पन्छिन खोजेकाले केहीबेर तनाव भयो’ वार्तामा सरोकार मञ्च जिम्मेवारी लिनबाट पन्छिएपछि स्थानीयबासी आक्रोशित भएका थिए । उनीहरुले तीन दिनभित्र आफुहरुलाई राहत हुने गरी सरोकार मञ्चले कदम अघि नबढाए आन्दोलन शुरु गर्ने चेतावनी दिएको पनि उपाध्यक्ष प्रधानले जानकारी दिए ।
मञ्चको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा ज्ञानबहादुर राईले जेठ पहिलो साता सर्दुजलाधार क्षेत्रको वन जंगल फडानी गर्न एवं कित्ताकाट गर्न रोक लगाउन माग गर्दै रिट निवेदन हालेका थिए । उनको निवेदनमा सुनुवाई गर्दै पुनरावेदनले जेठ १ गते र जेठ ६ गते अन्तरिम आदेशमार्फत रोक लगाएको थियो भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिएको पत्र जेठ २७ गते पुनरावेदनले विपक्षीलाई पठाएको थियो । अदालतले पाँचकन्या गाविस ९ र साविक घोपा गाविस हाल विष्णुपादुका ७ स्थित सर्दुजलाधार क्षेत्रको जग्गामा अन्तरिम आदेश जारी गर्दै रोक लगाएको छ । निवेदकले जलाधार क्षेत्र संरक्षणको लागि पुनरावेदनमा रिट हालेको जिकिर गरेपनि पुनरावेदनले रोक लगाएको पाँचकन्या गाविस ९ लाई स्रेस्तामा हाल सुनसरी बाँझगरा ९क भनेर उल्लेख गरिन्छ । जहाँ धरानको वडा नम्बर १३ को ठुलो भुभाग पनि पर्ने स्थानीयको भनाई छ ।

निवेदकले जलाधार क्षेत्रबाट सट्टा भर्ना पाइसकेको कित्ता पहिल्याएर मात्रै रिट हाल्नुपर्नेमा साविक वडा उल्लेख गर्दा जलाधार क्षेत्रमा नपरेको घरजग्गा पनि रोक्का भएको स्थानीयबासीको गुनासो छ । निवेदकले जलाधार क्षेत्रको कुन कुन जग्गा विवादमा छ वा पहिला सट्टा भर्ना पाइसकेको कित्ता नम्बर पहिचान नगरी रिट हालेको उनीहरुको गुनासो छ । पुनरावेदनको अन्तरिम आदेशले धरान १३ जिरोप्वाइन्ट उत्तर क्षेत्रको अमर हाट, शिवधारा, स्वास्तिक मार्ग, वेल्फेयर, फुस्रेलगायत क्षेत्रको घरजग्गा रोक्का भएको छ । यी सबै क्षेत्र हाल स्रेस्तामा बाँझगरा ९ ‘क’मा पर्छ, जुन निवेदकले रिट हाल्दा दाबी गरेको पाँचकन्या गाविस ९ भएको उनले बताए । यो क्षेत्रमा एक हजार भन्दा बढी घरधुरीको रोक्का भएको स्थानीयको दाबी छ ।
जनसरोकार मञ्चका पदाधिकारीहरु भने आफुहरुले सर्दु जलाधार क्षेत्रको जग्गा रोक्का गर्न मात्रै मुद्दा हालेको जिकिर गर्छन । पहिला सट्टाभर्ना पाइसकेर पनि अहिले जलाधार क्षेत्र कब्जा गर्न खोज्नेहरुबाट जोगाउने आफुहरुको उद्देश्य भएको उनीहरुको दाबी छ । मञ्चकी सचिव तुलसा गुरुङले आफुहरुले कागजपत्रको आधारमा मुद्दा हालेको र धरानको वडा नम्बर १३ पनि त्यसमा पर्छ भन्ने जानकारी नभएकोले समस्या भएको बताइन् । ‘हामीलाई त्यहाँ वडा १३ पर्छ भन्ने थाहै भएन, तर हामीले उहाँहरुको घरजग्गा रोक्का गर्ने मनसाय थिएन’–उनले भनिन् ।
धरानको खानेपानीको प्रमुख स्रोत रहेको सर्दु जलाधार क्षेत्र चार दशकअघि घोषणा गरिएको थियो । त्यहाँका बासिन्दालाई सट्टाभर्ना दिइसकेता पनि सरकारी निकायले सिमांकन र लागतक्टटा नगर्दा पुरानै बासिन्दाको आडमा जग्गा व्यापारीहरु सक्रिय भएका थिए । शुरुदेखि नै विवादित यो जलाधार क्षेत्रको स्वामित्वबारे नगरपालिका, जिविस र जग्गाधनीबीच पटक पटक मुद्दा परेको थियो । पछि, सर्वोच्च अदालतले जग्गाधनीको पक्षमा फैसला गरेपछि पुनरावलोकन गर्न माग गरेपनि सर्वोच्चले अस्वीकार गरेको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे