अर्की आइमाई, एकल मुक्तक वाचन र बहुभाषिक कविता गोष्ठी

वरिष्ठ साहित्यकार राजेन्द्र थापा एकल मुक्तक वाचनमा मुक्तक सुनाउदै ।
 धरान । कलाकारहरुलाई ताली चाहिन्छ भन्दै स्टेजबाट दर्शक एवं स्रोतालाई ताली बजाउन आग्रह गर्ने चलन हामीमाझ छ । तर, वरिष्ठ गीतकार एवं स्रष्टा राजेन्द्र थापाको मान्यता भने अलिक भिन्ने रहेछ । ‘हामीमा खै ताली भन्दै ताली माग्ने गरिन्छ, तर संसारभर ताली मागेर होइन, आफै पाइन्छ’–उनले भने ।
धरान साहित्य महोत्सवको दोस्रो दिन आइतबार सैनिक भवनमा साहित्यकार एवं अनुरागीहरुमाझ उभिएपछि उनले केहीबेर यसरी नै भुमिका बाँधे, अनि शुरु गरे आफ्नो एकल मुक्तक वाचन ।
फाली मागेर पाइन्छ ?
पाइन्दैन हो पाइन्दैन !
साली मागेर पाइन्छ ?
पाइन्दैन हो पाइन्दैन !
पाइदैन भने किन मागी रहन्छ त ताली  ! ?


उनको मुक्तकले कलाकारहरुको ताली प्रवृत्तिलाई मात्रै होइन, भ्रष्टचारी, नेता र विकृति,विसंगतिहरुलाई निमर्म प्रहार गर्यो । उनका हरेकजसो मुक्तकले नमागीकनै ताली पाइर्हयो ।
घुस खान्न भन्नेले 
घुस खाएको देखेको छौं ?
रक्सी खान्न भन्नेले 
जुस खाएको देखेको छौं ?
...........
रक्सीमा मात होइन
पिए पछि मान्छेमा मात्रै मात हुन्छ
अरु बेला खुट्टा खुट्टा हुन्छ
उठाएपछि मात्रै लात हुन्छ ।


स्रष्टा थापाले करि डेढ दर्जन आफ्ना चोटिला मुक्तकहरु सुनाएका थिए । धरानमा विभिन्न साहित्यिक कार्यक्रमहरु हुदै आएपनि एकल मुक्तक वाचन भने नगन्य मात्रामा भएको थियो । स्रष्टा थापाले धेरै समयपछि धरानको साहित्यिक महौलमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । ‘म २३ सालतिर धरान आएको थिएँ, यतिको समयपछि यहाँको साहित्यिक माहौलमा आएर आफ्नो मुक्तक सुनाउन पाए’–उनले भने ।
स्रष्टा थापाले नेपाली साहित्यमा कविता, गीत, गजल, मुक्तक, कथा, उपान्यासलगायत एघार विद्यामा कलम चलाएका छन् । तथापी उनी गीतकारकोरुपमा बढी चर्चित छन् । उनले रचना गरेको यसपाली त मनै फाट्यो.., पर लैजाउ फुलहरु..बोलको गीत कालजयी छन् ।

एकल मुक्तक वाचनअघि शब्द यात्राको संयोजनमा नीलम कार्की निहारिकाको उपान्यास अर्की आइमाईसँगै नेपाल बहिरको नेपाली साहित्य र नेपाली जाति, भाषा, सँस्कृति र साहित्यमा डायस्पोरिक सन्दर्भबारे बहस एवं विमर्श भएको थियो । विमर्शमा प्राध्यापक जंगबहादुर भट्राईले डायस्पोरिक साहित्यमा नेपालको चिन्ता र पीडा भन्दा विदेशको पीडा हुनुपर्ने धारणा राखे । यस्तै, साहित्यकार सीमा आभाषले उपन्यास उत्कृष्ट भएको उल्लेख गर्दै पात्रमा विद्रोह थपिएको भए झनै राम्रो हुने धारणा राखिन् । प्राध्यापक डा.टंक न्यौपानेले परदेशमा बसेर पनि नेपालको बारेमा लेखेमा त्यो नेपाली साहित्य नै हुने तर परदेश र त्यहीको भोगाई लेखिएमा डायस्पोरिक हुने बताए ।


बहस र एकल मुक्तक वाचनपछि बहुभाषिक कविता वाचन भएको थियो । भारतबाट आएका कविसँग लिम्बु, राईलगायत भाषाका कविहरुले पनि कविता वाचन गरेका थिए । यसैगरि, दर्जन बढी अग्रज स्रष्टाहरुलाई सम्मान र युवा प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार पनि प्रदान गरिएको आयोजक समितिले जनाएको छ । महोत्सवकै सन्र्दभमा नाट्य महासंघको संयोजनमा सडक नाटक पनि प्रर्दशन भएको थियो । सोमबार चोक तथा सडकमा कविता वाचन हुनेछ भने सांगीतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे