सरकारी निकाय नै नक्सा पास गर्दैनन्

नक्सा पास नगरी धमाधम निर्माण भइरहेको केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको भवन ।
धरान । विश्व बैंकको सहयोगमा धरान १४,हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसले पूर्वाधार निर्माणतर्फ विभिन्न संरचनाहरु बनाइरहेको छ । तर, ती भौतिक संरचना नियम वमोजिम निर्माणपूर्व नगरपालिकाबाट नक्सा पास र स्वीकृति लिएको छैन । यो क्याम्पसले झै धरान १५ स्थित शिक्षा सदन उच्चमाविले पनि नक्सा पास नगरी विद्यालयमा विभिन्न प्रयोजनको भवन निर्माण गर्यो । हाल निर्माणाधिन धरान रंगशालामा पनि राष्ट्रिय खेलकुद परिषदले नगरपालिकाबाट नक्सा पास र स्वीकृति नलिइकनै धमाधम विभिन्न संरचनाहरु बनाइरहेको छ ।
ऐनमा व्यक्तिको निजी होस वा सार्वजनिक तथा सरकारी निकाय, संघसंस्थाको घर, भवन सबै नक्सा पास गरी नगरपालिकाबाट स्वीकृति लिएर मात्रै बनाउन पाउने व्यवस्था छ । तर, राज्यको लगानीमा रहेको सरकारी निकायको संरचनाहरु ऐन तथा नियम उल्लंघन गर्दै नक्सा पास नगरी नै बनाउने गरेको पाइएको छ । सरकारी भवन एवं संरचनाको नक्सा पास गर्दा दस्तुरमा लाग्दैन, तरपनि अधिकांश विभिन्न सरकारी निकायहरुले भवन तथा भौतिक संरचना बनाउदा कानुनी प्रक्रिया पुरा गर्दैनन् ।
नगरपालिकाका अनुसार बढी मात्रामा क्याम्पस, विद्यालयका भवनहरु निर्माण गर्दा ऐनविपरीत काम भएका छन् । स्थानीय स्वायत्त शासन ऐन ०५५ को परिच्छेदको दफा १४९ र १५० मा नगर क्षेत्रमा भवन निर्माण गर्न चाहने व्यक्ति, सरकारी कार्यालय वा संघसंस्थाले पुरानो भत्काएर नयाँ बनाउन, तला थप गर्न, मोहडा फर्न वा साविकमा थपघट गर्न तथा टहरा, ग्यारेज वा कम्पाउण्डवाल लगाउदा सम्बन्धित नगरप्रमुखबाट स्वीकृति लिनैपर्ने उल्लेख छ । यस्तै, नगरपालिकाले भवन निर्माण सँहिता ०६० कार्यान्वयन गरिसकेको र भवन तथा योजना मापदण्ड ०५६लाई समेत कार्यान्वयन गरेकोले नगर क्षेत्रमा निर्माण हुने सबै प्रकारका भवनहरुले दुवै मापदण्ड पालना गर्न आवश्यक छ । ‘सरकारी संरचनालाई त दस्तुर पनि छुट छ, तरपनि नक्सा पास नगराई भवन बनाउने गरेका छन्, त्यस्तो थाह पाएपछि काम रोक्का गरेर नक्सा पास र स्वीकृति लिएर मात्रै बनाउन भन्छौं, तर टेर्दैनन्’–नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने ।

नक्सा पास नगरी धमाधम निर्माण कार्य शुरु गरेपछि नगरपालिकाले गत बैशाख २१ गते निर्माण कार्य तत्काल रोक्का गर्न र नक्सा पास गरेर मात्रै निर्माण शुरु गर्न केन्द्रीय प्रविधि क्याम्पसलाई पत्राचार गर्यो । नगरपालिकाको पत्र तत्काल प्राप्त भएर पनि क्याम्पस प्रशासनले टेरेन । नगरपालिकाले पुनः बैशाख २९ गते पत्राचार गर्दै बन्दै गरेको भवनको निर्माण कार्य रोक्न र नक्सा पास गर्न पत्राचार गर्यो । तर, क्याम्पस प्रशासनले न निर्माण कार्य नै रोक्यो, न त नगरपालिकाबाट नियमअनुसार नक्सा पास नै गर्यो । क्याम्पस प्रशासनले अटेर गरेपछि बैशाख ३० गते त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गर्दै विश्वविद्यालयको सहयोगमा निर्माण हुने सार्वजनिक क्याम्पसका भवनहरु अनिवार्यरुपमा भवन नक्सा पासको इजाजत लिएर मात्रै भवन निर्माण गर्ने व्यवस्थाको लागि सम्बन्धित क्याम्पसहरुलाई आवश्यक निर्देशन दिन अनुरोध गरेको छ । यस्तै, अनुरोधसहितको पत्र नगरपालिकाले जिल्ला शिक्षा कार्यालयमा पनि पठाएको छ, तर थप प्रतिक्रिया नपएको नगरपालिकाको गुनासो छ ।
‘भुकम्पलगायत विपदले मावनीय क्षति नहोस भनेर भवन निर्माण गर्दा बिशेष ध्यान दिनको लागि नक्सा पास र भवन संहिता पालना नगरी निर्माण गर्न नहुने कानुनी प्रावधान बनाइएको हो । धेरै विद्यार्थी पढ्ने स्कुल, क्याम्पसमा, सर्वसाधारणको भिडभाड भइरहेन रंगशाला, सरकारी कार्यालय त झन् संवेदनशील क्षेत्र हो’–नगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठले भने–‘तर, तिनै निकायहरु भने कानुनी प्रावधान उल्लंघन गर्दै भवन बनाउछन् ।’ उनका अनुसार नक्सा पास गर्ने अर्को निकाय शहरी तथा भवन निर्माण विभाग पनि छ, तर त्यहाँबाट नक्सा पास गरेपनि नगर क्षेत्रमा बन्ने भएकोले नगरपालिकाबाट पनि स्वीकृति लिनैपर्छ । नक्सा पास नगरी बन्ने संरचनाको निर्माण कार्य तत्काल रोक्ने र अटेर गरेमा भत्काउनेसम्मको अधिकार नगरपालिकासँग भएर पनि कार्यान्वयन फितलो छ । ‘स्थानीय निकायलाई त्यस्ता भवन भत्काउनसक्ने सम्मको अधिकार छ, तर हामीसँग त्यस्तो संयन्त्र छैन’–ईञ्जिनियर श्रेष्ठ भन्छन्–‘सरकारले नै आफु मातहतको विभागीय निकायलाई नक्सा पास नगरी भवन नबनाउन कडा निर्देशन दिनुआवश्यक छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे