नाट्य संस्था अनाममा भएको अनियमितता सार्वजनिक

अनाम धरानका पदाधिकारी बुधबार पत्रकार सम्मेलन गर्दै ।
धरान । पूर्वाञ्चलको अग्रणी नाट्य संस्था अनाम धरान भित्रको आर्थिक अनियमितता छताछुल्ल भएको छ । सन् २०१२ मा आरडिआइएफबाट प्राप्त भएको ५६ लाख परियोजना कार्यान्वयनको क्रममा अनियमितता भएको स्वयम संस्थाको नेतृत्वबाट सार्वजनिक गरेका हुन् ।
अनाम पदाधिकारीले बुधबार पत्रकार सम्मेलन गर्दै संस्थाका पूर्वअध्यक्ष एवं कार्यकारी निर्देशक राजेन्द्र रिमालले परियोजनाको हिसाबकिताब कार्यसमितिमा नबुझाएको र अहिले सम्पर्कमा पनि आउन नचाहेको बताएका छन् । उल्टै संस्था र पदाधिकारीहरुको वदनाम गराउने अर्नगल प्रचारबाजी गर्न थालेपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पदाधिकारीहरुले बताए । ‘परियोजनाको पैसा बचाएर संस्थाको अधुरो भवन बनाउने योजना थियो, तर राजेन्द्र रिमालले आफैलाई कार्यान्वयनको जिम्मा(ठेक्का) दिनुपर्छ भनेपछि संस्थालाई एघार लाख बुझाउने सर्तमा जिम्मा दियौं’–अध्यक्ष विनोद तंखाछेले भने–‘उसले अरु जे जे गर्यो त्यसमा सरोकार रहेन, तर परियोजनाको हरहिसाब र दिनुपर्ने रकम अहिलेसम्म बुझाएकै छैन ।’
उता, रिमाल भने आरोप असत्य भएको दाबी गर्दै २ बर्षअघि नै परियोजना सकिएपछि हरहिसाब बुझाईसकेको र कार्यसमितिले पनि अनुमोदन गरिसकेको दाबी गर्छन् । ‘साझेदार संस्था आरडिआइएफबाट पनि क्लियरेन्स लेटर आइसकेको छ, कार्यसमितिले हरहिसाब अनुमोदन गरिसकेको अवस्थामा यतिबेला किन यस्तो गर्यो मैले बुझ्न सकिन’–रिमालले भने । संस्थाका पदाधिकारीहरु भने परियोजना चलाउनको लागि संस्थाको अध्यक्षबाट राजिनामा दिएर रिमाल कार्यकारी निर्देशकको पदमा बसेको बताउछन् । थप तीन जना कर्मचारी पनि राखिएको थियो भने सडक नाटकको लागि विभिन्न जिल्लाबाट कलाकारहरु झिकाइएको थियो । निर्देशक रिमालले संस्थाको भवन बनाउने भन्दै कलाकारहरुलाई पनि परियोजनाले तोकेभन्दा न्युन पारिश्रमिक दिएर पनि पुरै बुझिलिएको सहीछाप गराएको र तीन जना कर्मचारीलाई पनि तीन महिना परिक्षणकाल भन्दै रकम कटौती गरेको भेटिएको र त्यसबारेमा जानकारी माग गर्दा पनि रिमाल अटेर गर्दै सम्पर्कमा नआएको अध्यक्ष तखाछेले बताए । उनका अनुसार निर्देशक रिमालले परियोजना मिलाईदिएवापत अमुक व्यक्तिलाई २० प्रतिशत कमशिन दिनुपर्ने जिकिर गरिरहे पनि अन्त्यमा भने ५ लाख रुपैया रिमालले लिएर गएको थिए । तर, त्यो पैसा कस्लाई बुझाएको भनेर भर्पाइसमेत नल्याएको उनले आरोप लगाए ।
‘हामी ठेक्कामा लगाउने पक्षमा छदै थिएनौं, परियोजना सम्झौता भइसकेको ३ महिना वितिसकेपछि पनि काम शुरु नगरेपछि बाध्य भएर दिनुपर्यो’–अनामका कोषाध्यक्ष हिमाल दाहालले भने–‘उसले एकदमै बार्गेनिङ गर्यो, पैसा फिर्ता हुनु राम्रो होइन भनेर ठेक्का लगाउन बाध्य भयौं, संस्थाको भवन बन्छ भनेर पनि चुप लाग्यौं, तर परियोजना सकिएपछि हरहिसाब बुझाउनै आउदैनन्, उल्टै अनेक प्रचारबाजी गरेर हिड्न थाले ।’ साझेदार संस्थाले हिसाब मिलानको लागि ताकेता गरेपछि रिमाल आफैले वकिल बोलाएर संस्थालाई बुझाउनुपर्ने रकम एक महिनामा बुझाउछु भन्ने व्यावहोराको तमसुक गरेका थिए, र संस्थाले पनि निर्णय गरि पढाईदिएको थियो । तर, हिसाब मिलान गर्न गएपछि भने उनी सम्पर्कमा नआएको दाहालले बताए ।
अनामले उपलब्ध गराएको तमासुक अनुसार रिमालले संस्थालाई ५ लाख ७२ हजार रुपैया बुझाउन बाँकी रहेको देखिन्छ । त्यसमध्ये २५ हजार भने उनले संस्थालाई बुझाएका छन् । हरहिसाब मिलान गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि संस्थाले चाडै साधारण सभा आयोजना गरेर त्यहाँबाट म्याण्डेड लिएर कानुनी कारबाहीको प्रक्रियामा अघि बढ्ने अध्यक्ष तखाछेले बताए । ‘संस्थाले परियोजना कुनै व्यक्तिलाई ठेक्का लगाउनु हुदैनथियो, तर संस्थालाई नै एउटा व्यक्तिले परिबन्धमा पार्यो । हामी गल्ती छौं भनेपनि कारबाही भोग्न तयार छौं, तर अब कानुनी प्रक्रियामा अघि बढ्छौं’–अध्यक्ष तखाछेले भने । विवाद बढ्दै गएपछि केही समयअघि अग्रज रंगकर्मी सुनिल पोख्रेलको पहलमा पत्रकार हर्ष सुब्बाको संयोजकत्वमा तीन सदस्यीय पहल समिति गठन भएको थियो । उक्त समितिले पनि विवाद टुंगो लगाउन सकेन ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे