सुनसरीका डेढ दर्जन क्लबहरुद्धारा टेक्निकल सेन्टरको नयाँ समितिको विरोध


धरान । ब्राजिलमा भइरहेको विश्वकप फुटबलको कारण छाँयामा परेको नेपाली फुटबलको विवाद पुनः सतहमा आउन थालेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष गणेश थापाले एकलौटीरुपमा धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको सञ्चालक समिति गठन गरेको भन्दै सुनसरी जिल्लाका विभिन्न डेढ दर्जन फुटबल क्लबहरुले विरोध जनाएको छ ।
अखिल नेपाल फुटबल संघ सुनसरीमा आवद्ध १७ वटा क्लबहरुले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकाय एवं पदाधिकारीसँग छलफल नगरी एन्फासँग आवद्ध नभएका असम्बन्धित व्यक्तिहरुको समुह बनाएर सेन्टर सञ्चालन समिति गठन गरेको भन्दै अध्यक्ष थापाको भत्र्सना गरे । साथै, उनीहरुले एन्फासँग आवद्ध पदाधिकारीहरुमार्फत नै टेक्निकल सेन्टर सञ्चालन गर्न पनि माग गरेका छन् । ती क्लबहरुलाई फुटबल खेलाडी र प्रशिक्षकले पनि साथ दिएको छ । सुनसरी जिल्लाले केन्द्रीय अध्यक्ष थापाको कार्यशैली र आर्थिक अपारदर्शीताको विरोध गर्दै तीन केन्द्रीय उपाध्यक्षको आन्दोलनमा साथ दिएकोले प्रतिशोधस्वरुप एकल निर्णयको आधारमा नयाँ समिति गठन गरेको ती क्लबहरुको ठहर छ ।
‘आफुविरुद्ध संघर्ष गरेकै कारण प्रतिसोधस्वरुप आज अध्यक्ष थापाद्धारा षडयन्त्र गरी कार्यसमिति हटाउने दुष्प्रयास भइरहेको छ, आर्थिक अभावको बहानामा आफैले बन्द गराएको टेक्निकल सेन्टर एन्फासँग असम्बन्धित व्यक्तिहरुको समुह बनाएर अध्यक्ष थापाले सञ्चालनको तयारी गरेका छन्’–राईजिङ्ग स्पोर्टिङ क्लबका अध्यक्ष धनबहादुर राईले भने–‘मुख्य सरोकारवाला एन्फा केन्द्रीय उपाध्यक्ष तथा जिल्ला फुटबल संघलाई वेवास्ता गरी सञ्चालक समिति गठन गरेकोले आधिकारिक क्लब, खेलाडी र प्रशिक्षकहरु घोर भत्र्सना गछौं ।’ जिल्ला संघमा आवद्ध धरान फुटबल क्लब, एलेभेन एरोज फुटबल क्लब दुहबी, टेम्के क्लक धरान, राष्ट्रिय जागृति क्लब इटहरी, मितेरी फुटबल क्लब इनरुवा, रेडस्टार क्लब खनार, गोल्डेन स्टार क्लब भलुवा, संयुक्त युवा क्लब सिमरियालगायत १७ वटा क्लबले संयुक्तरुपमा हस्ताक्षर गरेर एक विज्ञप्तीसमेत जारी गरेका छन् ।

यो सेन्टर बजेट अभाव भएको भन्दै एन्फा केन्द्रीय समितिले दुई बर्षदेखि सञ्चालनमा ल्याउन सकेको थिएन । जिल्ला समिति र सेन्टर सञ्चालक समितिका संयोजकसमेत रहेका केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राईले पहल गरेपनि सञ्चालनमा ल्याउन सफल भएका थिएनन् । एन्फाले असार १८ गते पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष सन्तोष बाँनिया संयोजक रहने गरी १६ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेपछि भने जिल्लामा तीब्र असन्तुष्टी बढेको हो । विगतमा बजेट नपुग्ने भन्दै पन्छिएपनि नयाँ समितिलाई भने एन्फाले एकेडेमी सञ्चालन गर्न पनि बजेट उपलब्ध गराउने भएपछि जिल्ला समिति झनै रुष्ट बनेको छ । नयाँ समिति गठन गर्दा प्रत्यक्ष सरोकारवाला जिल्ला समिति र सेन्टरका संयोजक एवं केन्द्रीय उपाध्यक्षसँग समन्वय र छलफल नगरेको भन्दै उनीहरुले नयाँ समितिलाई बहिष्कार गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । केन्द्रीय द्धितिय उपाध्यक्ष राईले आफु नै सेन्टरको संयोजक भएको दाबी गरेका छन् । यसअघि, सुनसरी जिल्ला फुटबल संघले केन्द्रबाट विस्तृत कार्ययोजना र स्पष्ट खाका नपाएको भन्दै होम एण्ड अवे प्रणालीको राष्ट्रिय लिगमा तत्काल सहभागी नजनाउने निर्णय गरेपछि अध्यक्ष गणेश थापा र जिल्ला समितिको दुरी बढेको थियो ।
फिफा गोल प्रोजेक्टअन्र्तगत धरान नगरपालिकासँग ३० बर्षको लागि जमिन लिजमा लिएर निर्माण भएको सेन्टर दुई बर्षदेखि एन्फाले सञ्चालन गरेको थिएन । करिब ४ करोड लगातमा बनेको सेन्टरमा पूर्व क्षेत्रका उमेर समुहका खेलाडीलाई आवासिय सुविधासहित प्रशिक्षण दिलाउने, प्रशिक्षक, रेफ्री, मेडिकल टिमलाई पनि तालिम दिने र विभिन्न गोष्ठी, सेमिनारहरु आयोजना गर्ने उद्देश्यले स्थापना गरिएको हो । यहाँ पहिलो ब्याच ०६६ सालदेखि प्रशिक्षण गराएपछि भने एन्फाले कुनै पनि उमेर समुहकालाई प्रशिक्षण गराउने वा नयाँ कार्यक्रम सञ्चालन गरेको थिएन । फिफाको अनुदानमा बनेको धरानस्थित सेन्टरमा एउटा सेमिनार हाल, वैठक कोठा, कार्यालय कोठा, किचन र ११ वटा आवासिय कोठा छन् । यहाँ एउटा खेल मैदानसमेत छ । बन्द अवस्थाको यो सेन्टरको मैदानमा तीन बर्षयता बुढासुब्बा गोल्डकप आयोजना हुदै आएको छ ।
...................

                                                   बजेटमा पनि असन्तुष्टी



अखिल नेपाल फुटबल संघ सुनसरीले एन्फा केन्द्रीय समितिबाट बर्षेनी प्राप्त हुने बजेटप्रति पनि असन्तुष्टी जनाएको छ । एन्फाले बर्षमा २२ करोड हाराहारीको बजेट सार्वजनिक गरेपनि जिल्ला फुटबल संघलाई भने मात्र ५० हजार दिदै आएको छ । यो रकमले फुटबल प्रतियोगिता गर्न र कार्यालय सञ्चालनको काम गर्न धौ धौ हुने जिल्ला फुटबल संघको भनाई छ ।
 ‘केन्द्रले २२ करोडको बजेट सार्वजनिक गर्यो, तर जिल्लालाई बर्षमा ५० हजार मात्रै दिन्छ, यति थोरै बजेटले जिल्ला लिग, उमेर समुहको छनौट प्रतियोगिता गर्नुपर्छ, कार्यालय पनि चलाउनुपर्छ’–पत्रकार सम्मेलनमा उपस्थित एन्फा जिल्ला उपाध्यक्ष नविन राईले भने–‘बजेट सबै केन्द्रमुखी मात्रै भयो, जिल्लालाई बलियो बनाउन र धेरै भन्दा धेरै खेलकुद गतिविधि गर्न बजेट नदिने हो भने फुटबलको विकास कसरी हुन्छ ?’ उनका अनुसार एन्फामा हालसम्म ४६ वटा जिल्ला आवद्ध छन् । ती मध्ये सुनसरीसहित १० वटा जिल्लालाई मोफसलको ए डिभिजनको दर्जामा एन्फाले राखेको छ । ए डिभिजन मान्यता दिएको जिल्लालाई नै बर्षमा ५० हजार मात्रै बजेट दिने गरेको र अन्यलाई झनै कम हुनसक्ने उनको भनाई छ । सबै जिल्लालाई समानुपातिकरुपमा बजेट उपलब्ध गराउन जिल्ला फुटबल संघ तथा आवद्ध क्लबहरुले जोडदाररुपमा मागसमेत गरेका छन् ।
...................

                                              क्लबले फुटबल प्रशिक्षण दिलाउने


धरान फुटबल क्लबले गर्मी विदाको सदुपयोग गर्दै विद्यार्थीहरुलाई दुई साता लामो फुटबल प्रशिक्षण दिने तयारी गरेको छ । क्लबले धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरमा ग्रास रुट लेभल समर फुटवल ट्रनिङ क्याम्पको तयारी गरेको हो ।
उक्त प्रशिक्षण साउन ५ गतेदेखि २० गतेसम्म रहने क्लबले जनाएको छ । दर्ता शुल्क तीन समय लाग्ने प्रशिक्षणमा १२ देखि १६ बर्षसम्मका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । बढीमा सय जना निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराउने योजना रहेको क्लबले जनाएको छ । प्रशिक्षार्थीहरुलाई खेलको सैद्धान्तिक, व्यावहारिक ज्ञानसँगै भ्युजअल क्लास पनि दिइने सहसंयोजक नविन राईले जानकारी दिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे