काठ तस्करलाई दोस्रो पटक सात दिनको म्याद थप


धरान । ठुलो परिमाणमा तस्करी गरिरहेको सखुवाको गोलियासहित रंगेहात पक्राउ परेका चार जनालाई वन कार्यालयले दास्रो पटक म्याद थप गरेको छ । अनुसन्धान बाँकी रहेको दाबी गर्दै धरानस्थित सेक्टर वन कार्यालयले न्यायिक हिरासतमा राख्न १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले बिहिबार ७ दिनको म्याद थप गरेको हो ।
यसअघि, अदालतले अनुसन्धान गर्न पहिलो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद बुधबार सकिएपछि वन कार्यालयले चार जनालाई बिहिबार अदालतमा उपस्थित गराएर थप समय माग गरेको थियो । ‘अनुसन्धानको काम अझै पुरा भएको छैन, तस्करीमा अरु पनि संलग्न भएको नाम पाएका छौं । उनीहरुको खोजी जारी नै छ’–घटनाको अनुसन्धान अधिकृत एवं सहायक वन अधिकृत लखनलाल चौधरीलले भने–‘त्यसैले थप १० दिनको म्याद मागेका थियौं, अदालतबाट ७ दिनको लागि म्याद थप भएको छ ।’


प्रहरीले यही साउन ५ गते धरान १५ का काजिमान राई र धरान ११ का रमेश भनिने नरेन्द्र राईलाई मिनि ट्रकमा सखुवाको गोलिया धरान ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुको वयानको आधारमा धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा छापा मारेर प्रहरीले सञ्चालक चन्द्र श्रेष्ठ र सहयोगी रमेश राईलाई पनि पक्राउ गरेको थियो । उक्त उद्योगमा पनि सखुवाको गोलिया र चिरान गरिसकेको अवस्थामा सखुवाको काठ फेला परेको थियो । प्रहरीले कुल २०३.१३ क्युफिट काठ वरामद गरेको थियो । यो धरानमा पक्राउ परेको हालसम्मकै ठुलो परिमाण काठ भएको वन कार्यालयले जनाएको छ ।


पक्राउ परेकामध्ये नरेन्द्र र रमेश राई लामो समयदेखि काठ तस्करीमा संलग्न रहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ । उनीहरुले धरानमा सञ्जाल बनाएर नै वन क्षेत्रबाट सखुवाको गोलिया तस्करी गर्ने र उत्तम फर्निचर उद्योगमा ल्याउने गरेको पनि अनुसन्धानबाट खुलेको छ । नरेन्द्रले यसअघि पनि सुनसरीको दक्षिणी वन क्षेत्रबाट रातको समयमा गोलिया तस्कारी गरेर धरान ल्याउने गरेको स्विकार गरिसकेका छन् । उनले धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा पनि तस्करीको काठ ल्याएको वयान दिइसकेका छन् । यो उद्योगमा गत माघ २३ गते पनि रातको समयमा ठेला गाडा प्रयोग गरेर लांघाली वन क्षेत्रमा सखुवाको रुख ढालेर गोलिया ल्याएको फेला परेको थियो । तर, त्यसबेला भने वन कर्मचारीले नै उद्योगलाई कारबाही हुनबाट जोगाएको थियो ।
अनुसन्धान अधिकृत चौधरीका अनुसार पक्राउ परेकाले वयानमा थप केही व्यक्तिको नाम खुलाएका छन् । तर, उनीहरुको थर, ठेगाना प्रष्ट नभएकोले पक्राउ गर्न सकिएको छैन । फर्निचर उद्योग सञ्चालक श्रेष्ठलाई जोगाउन विभिन्न दलका नेतासँगै उनका गिरोहका व्यक्तिहरु दौडधुप गरिरहेका छन् । तर,अधिकृत चौधरी प्रमाणसहित रंगेहात पक्राउ परेकोले जुतिसुकै दबाब परेपनि अनुसन्धान पुरा गरेर सरकारी वकिलमाफर्त अदालतमा पेश गरिने बताउछन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे