टेक्निकल सेन्टरको नयाँ समिति गठनले विवाद

धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको भवन ।
धरान । दुई बर्षदेखि बन्द अवस्थामा रहेको धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)ले नयाँ सञ्चालक समिति गठन गरेपछि स्थानीयस्तरमा भने विवाद सृर्जना भएको छ । एन्फाकै केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राई संयोजक रहेको पुरानो समिति विघटन गर्दै नयाँ समिति गठन गरिएपछि स्थानीयस्तरमा विवाद उठेको हो ।
नयाँ समिति गठन गर्दा प्रत्यक्ष सरोकारवालासँग समन्वय र छलफल नगरेको भन्दै सुनसरी जिल्ला फुटबल संघले पनि चर्को असन्तुष्टी जनाएको छ । एन्फा अध्यक्ष गणेश थापाको गलत कार्यशैली र अपारदर्शीताको विरोध गरेकोले नै सरोकारवालालाई जानकारी नगराई एकलौटीढंगले पुरानो समिति विघटन गरेको भन्दै नयाँ समितिलाई बहिष्कार गर्ने उनीहरुले घोषणा गरेका छन् । ‘टेक्निकल सेन्टर सुनसरी जिल्लामा छ, यहाँको जिल्ला फुटबल संघ मुख्य सरोकारवाल निकाय हो, तर हामीसँग समन्वय र सल्लाह नगरी एकलौटीढंगबाट नयाँ समिति गठन गरिएको रहेछ’–जिल्ला फुटबल संघका उपाध्यक्ष नविन राईले भने–‘अध्यक्ष ज्यू(गणेश थापा)ले यस्तो गर्नुहुदैनथ्यो, यो दुर्भाग्यपुर्ण निर्णय हो, यो समितिले भोली कसरी काम गर्छ ? सहज वातावरण नै बन्दैन ।’
एन्फा अध्यक्ष गणेश थापाको निर्णयप्रति रुष्ट द्धितिय उपाध्यक्ष किसोर राई ।
एन्फाले बिहिबार पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष सन्तोष बाँनिया संयोजक रहने गरी १६ सदस्यीय सञ्चालक समिति गठन गरेको जनाएको छ । नयाँ समितिमा पूर्वका १६ जिल्लाका अध्यक्ष सदस्यकोरुपमा राखिएको छ भने धरानका पूर्वखेलाडी तिलक राई सदस्य सचिवकारुपमा छन् । यो समितिले एकेडेमी सुचारु गर्न सदस्य सचिवको संयोजकत्वमा स्थानीयस्तरमा एक व्यावस्थापन समिति गठन गर्ने पनि एन्फाले जनाएको छ । तर, एन्फाकै केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राई भने आधिकारिक व्यक्तिसँग छलफल नगरी अध्यक्ष थापाले एक्लै निर्णय गरेकोले त्यसलाई स्वीकार नगर्ने चेतावनी दिए । ‘अहिले पनि सेन्टरको संयोजक म नै हुँ, यसको रेखदेखमा हामी नै खटिएका छौं । आफ्नो गलत काम, भ्रष्टचार ढाकछोप गर्न २, ४ जनालाई काठमाण्डौं बोलाएर राख्दैमा हामी मान्दैनौं’–उपाध्यक्ष राईले भने–‘पुरानो समिति किन विघटन गर्नुपर्यो ? एकेडेमी सञ्चालन गर्ने कि नगर्ने ? भनेर केन्द्रीय समितिमा छलफल नगरी अध्यक्षको एकल निर्णयमा गर्दैमा हुन्छ ?’ उनले आफुसहित केन्द्रीय उपाध्यक्ष र जिल्लाहरुमा पनि अध्यक्ष थापाको भ्रष्टचारको विरोध गरिरहेकोले फुट ल्याउनको लागि केही व्यक्तिलाई प्रलोभनमा पारेको पनि आरोप लगाए ।

एन्फा अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्टी जनाउदै द्धितिय उपाध्यक्ष राईसहित केन्द्रीय उपाध्यक्षहरुले विरोध जनाइरहेका छन् । उनीहरुलाई सुनसरी जिल्ला फुटबल संघले पनि साथ दिएको छ । सुनसरी फुटबल संघले राष्ट्रिय लिगलाई पनि बहिष्कार गर्ने निर्णय गरिसकेको छ । एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले सेन्टरका संयोजकसमेत रहेका केन्द्रीय उपाध्यक्ष राईले अध्यक्षप्रति असन्तुष्टी व्यक्त गरिरहेकोले सञ्चालनमा बाधा नपुर्याउने उद्देश्यले नयाँ समिति गठन गरेको बताए । ‘धरानको एन्फा टेक्निकल सेन्टर सुचारु होस र पूर्वाञ्चलको प्रतिभावन खेलाडी बञ्चित नहोस् भनेरै नयाँ समिति गठन गरिएको हो, अझ व्यवस्थित हुनेछ र जिल्ला फुटबल संघले सहयोग गर्छ भन्ने आशा छ’–प्रवक्ता श्रेष्ठले भने । नवगठित समितिका सदस्य सचिव तिलक राईले सबैसँग समन्वय गरेरै अघि बढ्ने बताए । ‘एन्फासँगको असन्तुष्टी भए सम्बन्धित निकायमा जानुपर्छ, व्यक्तिगतरुपमा केसँग कस्को के छ हामीलाई सरोकार हुदैन । हामीसँगको असन्तुष्टी हो भने वहस, छलफल गर्न तयार छौं । यो समितिले सेन्टरलाई पूर्नंजीवन दिनेछ र फुटबल खेलको विकासमा केन्द्रीत हुनेछ’–उनले भने ।
फिफा गोल प्रोजेक्टअन्र्तगत धरान नगरपालिकासँग ३० बर्षको लागि जमिन लिजमा लिएर निर्माण भएको सेन्टर दुई बर्षदेखि एन्फाले सञ्चालन गरेको थिएन । करिब ४ करोड लगातमा बनेको सेन्टरमा पूर्व क्षेत्रका उमेर समुहका खेलाडीलाई आवासिय सुविधासहित प्रशिक्षण दिलाउने, प्रशिक्षक, रेफ्री, मेडिकल टिमलाई पनि तालिम दिने र विभिन्न गोष्ठी, सेमिनारहरु आयोजना गर्ने उद्देश्यले स्थापना गरिएको हो । यहाँ पहिलो ब्याच ०६६ सालदेखि प्रशिक्षण गराएपछि भने एन्फाले कुनै पनि उमेर समुहकालाई प्रशिक्षण गराउने वा नयाँ कार्यक्रम सञ्चालन गरेको थिएन । फिफाको अनुदानमा बनेको धरानस्थित सेन्टरमा एउटा सेमिनार हाल, वैठक कोठा, कार्यालय कोठा, किचन र ११ वटा आवासिय कोठा छन् । यहाँ एउटा खेल मैदानसमेत छ । बन्द अवस्थाको यो सेन्टरको मैदानमा तीन बर्षयता बुढासुब्बा गोल्डकप आयोजना हुदै आएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे