डन छुटाउन कांग्रेसको धरानमा चक्काजाम


धरान । मादकपदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका तरुण दलका सुनसरी कार्यबाहक सभापति सिजन गुरुङको रिहाईको माग गर्दै नेपाली कांग्रेस सुनसरी जिल्ला समितिले शनिबार चक्काजाम गरेको छ ।
प्रहरीले निर्दोष कार्यकर्तालाई फसाएको भन्दै कांग्रेस सुनसरीले दिउँसो एक बजदेखि २ बजेसम्म एक घण्टा चक्काजाम गराएको हो । कांग्रेस नेता,कार्यकर्ताहरुले धरानको भानुचौक क्षेत्रमा चक्का जाम गर्दा केहीबेर स्थिति तनावग्रस्त बनेको थियो । धरानबाट पहाडी क्षेत्र र तराईतर्फ जाने सवारीसाधान ठप्प बन्यो । कांग्रेसले घोषणा गरेअनुसार इटहरी, इनरुवा क्षेत्रमा भने चक्काजामको प्रभाव पर्न सकेन ।
धरानमा भने कांग्रेस कार्यकर्ताहरुको उपस्थिति बाक्लो रह्यो । चक्काजाम गर्नेक्रममा उनीहरु वडा प्रहरी कार्यालयअघि नै पुगेपछि झडप हुने आशांकामा वरीपरीका पसलहरु बन्द भएको थियो । जनपद र सशस्त्र प्रहरी पनि ठुलो संख्यामा परिचालन भयो । स्थिति तनावपुर्ण बन्दै गएको र सर्वसाधारण यात्रु मर्कामा परेपछि प्रहरीले माइकिङ गरेर चक्काजाम फिर्ता नगरे हस्तक्षेप गर्ने चेतावनी दिएपछि भने समयअगावै चक्काजाम अन्त्य गरिएको थियो ।
राजनीतिको आवरणमा पूर्वमा ठेक्कापट्टा र गुण्डागर्दीमा कहलिएका तरुण दलका सुनसरी अध्यक्ष गुरुङलाई गत असार २१ गते धनकुटाको भेडेटारबाट पक्राउ परेका थिए । मादक पदार्थ सेवन गरेका उनले चेकिङको क्रममा प्रहरीमाथि नै हातपात गरेको आरोप छ । उनीसँगै अन्य ४ जना कार्यकर्ता पनि समातिएको छ । उनीहरुलाई तत्काल धनकुटा सदरमुकाम पठाइएर सार्वजनिक अपराध ऐनअन्र्तगत मुद्दा चलाइएको छ । सुनसरीको हाँसपोशा गाविस घर भएका गुरुङले गुण्डागर्दी, ठेक्कापट्टाबाट अकुत सम्पत्ति जोडेको प्रहरीको भनाई छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पनि प्रहरीमा उजुरी छ । केही महिनाअघि तरहरा बजारमा एक युवालाई दिउसै तरबारले काटेको अभियोग लागेपछि उनी फरार भएका थिए । गत चैत महिनामा उनी धरानमा तास–जुवा खेलिरहेको अवस्थामा पनि समातिएका थिए । उनी पार्टीको संरक्षण र आडमा कानुनी कारबाही हुनबाट भने जोगिर्दै आएका छन् ।

उनको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको कांग्रेस सुनसरीका जिल्ला सहसचिव विकास आचार्य भने प्रहरीले उनलाई झुटो आरोपमा फसाएको दाबी गर्छन् । ‘सिजन मादकपदार्थ सेवन पनि गर्दैनन्, र घटनामा उनले हातपात गरेको पनि होइन । झुटो आरोप लगाइएको छ’–सहसचिव आचार्यले भने–‘अपराधिक गतिविधि नियन्त्रण हुनुपर्छ भन्ने हाम्रो पनि भनाई हो, तर पुष्टि नभई नै कारबाहीको भागिदार गराउने, निर्दोषलाई फसाउने प्रहरी कार्यको विरोध गछौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे