धरानको विकासको लागि सात दलीय मोर्चा


धरान । पहिचानसहितको संघीयता र संविधान सुनिश्चित गर्दै स्थानीयस्तरमा जनसरोकारका मुद्दा तथा विकास निर्माण कार्यमा सहकार्य गर्न विभिन्न सात राजनीतिक दलहरुले सुनसरी १ नम्बर क्षेत्र एवं नगरस्तरीय मोर्चा गठन गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक स्थानीय मोर्चा नाम दिइएको गठबन्धनले बुधबार पत्रकार सम्मेलन गर्दै संविधान निर्माण, जनताका आधारभुत आवश्यकता, विकास निर्माण तथा भ्रष्टचार, कलोबजारीविरुद्ध सरकार र स्थानीय निकायको ध्यानाकर्षण गर्ने जनाएको छ । मोर्चाले साझा अवधारणा एवं उद्देश्यहरु सार्वजनिक गर्दै त्यसलाई प्राप्त गर्न जनपरिचालनदेखि बन्द,हडतालसम्मका सशक्त आन्दोलन गर्ने घोषणा पनि गरेको छ । ‘पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान सुनिश्चित गर्न केन्द्रमा पनि मोर्चा बनेकै छ, तर स्थानीयस्तरको यो मोर्चाले यहाँका जनताको सरोकारका बिषयलाई पनि उठान गछौं, खबरदारी गछौं । विकास निर्माण र समस्यालाई हल गर्न साझा अवधारणा बनाएर सहकार्य गर्छांै’–मोर्चाका संयोजक एवं एकीकृत माओवादीको नेता अशोक राईले भने ।
मोर्चामा हाल सरकार सञ्चालनमा रहेको ठुला दल नेपाली कांग्रेस र एमाले भने सहभागी छैन । एमाओवादीसँगै संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेकपा–माओवादी, मञ्चसम्बद्ध संघीय लिम्बूवान राज्य परिषद र नेकपा एकीकृत स्थानीय मोर्चामा रहेको छ । यीमध्ये नेकपा–माओवादी, लिम्बूवान राज्य परिषद र नेकपा एकीकृत संविधानसभामा छैनन् । मोर्चाले आधाभूत सुविधाहरु शिक्षा, स्वास्थ्य रोजगारी र आर्थिक पहुँचबाट टाढा रहेको पक्षमा एकतावद्ध भएर अल्पकालिन तथा दीर्घकालीन योजनाहरु बनाउने जनाएको छ । यस्तै, उत्पीडिनमा परेको वर्गको विकास एवं प्रर्वद्धन गर्न सम्बन्धित निकायमा पहल गर्ने, सरकारी तथा सार्वजनिक निकायमा हुने अनियमितता, भ्रष्टचारप्रति खबरदारी गर्दै भण्डाफोर गर्ने, महंगी कलाबजारी एवं घुसपैठको विरुद्धमा संघर्षको कार्यक्रम तय गर्नेलगायत विभिन्न १० बुँदे साझा कार्यक्रम एवं अवधारणालाई मोर्चाले सार्वजनिक गरेको छ ।
मोर्चाले धरान क्षेत्रमा भइरहेको एडिबिको सहयोगमा सञ्चालित खानेपानी आयोजना, सर्दुजलाधार क्षेत्रसँगको विवाद, धरान बसपार्क, एयरपोर्ट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नगरपालिकाको गतिविधि, केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ कलेजजस्ता जनतको प्रत्यक्ष सरोकार राख्ने मुद्दामा मोर्चाले तत्काल साझा अवधारणा बनाएर जनताको पक्षमा आन्दोलन गर्ने पनि घोषणा गरेको छ । ‘विकास निर्माण, जनसरोकारको बिषयमा कुनै समस्या देखिएमा तत्काल मोर्चामा छलफलल हुन्छ र साझा अवधारणा बनाएर अघि बढ्छौं, धरानको विकासको लागि पहल कदमी गर्नेछौं’–संघीय समाजवादीका नगर अध्यक्ष अजय राईले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे