उपचारमा लापरवाही हुँदा आँखाको ज्योति गुम्यो


धरान । मोतियाविन्दु भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेशन गराएका एक वृद्धाको एउटा आँखाको ज्योति गुमेको छ । पीडित इटहरी ५ का ६० बर्षीय लालबहादुर गिरी र उनका परिवारले प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा गम्भीर लापरवाहीले ज्योति गुमेको आरोप लगाएका छन् ।
पीडित गिरीका अनुसार दाहिने आँखा मोतियाविन्दु भएकोले एक साताअघि(गएको आइतबार) अप्रेशन भएको थियो । अप्रेशनपछि आँखामा लगाएको पट्टी सोमबार खोलिएको थियो । राम्रो अवस्थामा घर फर्किएका गिरीको मंगलबार बेलुकीदेखि भने शरीरको दाहिने पाटो पोल्न थालेपछि बुधबार पुनः अस्पताल आएका थिए । चिकित्सकले जाँच गरेपछि इन्फेक्सन भएको भन्दै बेड भर्ना गरेर सुई हानेपछि भने उपचारमा लापरवाही भएर आँखा बिग्रिएको पीडित गिरीको भनाई छ । ‘आँखामा इन्फेक्सन देखियो, सुँई हाल्नुपर्छ निको भाइहाल्छ भनेर सुई हानिदिए ।’–पीडित गिरीले भने–‘त्यसपछि भने डाक्टर नै हेर्न आएनन्, नर्सलाई डाक्टर बोलाउन भने, तर कोही आएनन् । मेरो आँखा सुन्निएर खपिनसक्नु भएको थियो, अहिले त दाहिने आँखा नै बिग्रियो ।’


पीडित गिरीका अनुसार उनको अप्रेशन डाक्टर भुवन गोकुल(बि.जि.) श्रेष्ठको नेतृत्वमा भएको थियो । इन्फेक्सन भएको पुष्टि भएपछि भने उनले अर्कै डाक्टरलाई सुई लगाउन अह्राएका थिए । ती जुनियर डाक्टरले सुई लगाउदा नै गल्ती गरेको पीडित गिरीको आरोप छ । ‘म आफै पनि परिवार नियोजनमा काम गरेको मान्छे हुँ, सुई हान्दा नै आँखामा भित्रै चस्स घोचेको थियो । मैले डाक्टरलाई धेरै तल सुई हान्नु भो भन्दा केही हुन्न भने’–अवकाश पाइसकेका गिरीले भने । सुई लगाएपछि उनको आँखाको पटी खोलिदिन डाक्टर, नर्स कोही नआएपछि एक जना हेल्थ एडले पटी खोलिदिएका थिए । त्यतिबेला ती हेल्थ एडले रगत आएको भनेपनि डाक्टर नै नभेटिएको उनले बताए । बुधबार राती ८ बजे सुई हानेपछि एक घण्टादेखि नै आँखा सुन्निन थालेको थियो । पटक पटक डाक्टर बोलाईदिन भनेपनि कसैले सुनुवाई नगरेको र भोलीपल्ट बिहान ९ बजेमात्रै डाक्टर भेटिएको थियो । त्यतिबेलासम्म उनको आँखाको अवस्था नाजुक भइसकेको थियो ।


आँखा गम्भीर अवस्था भएपछि डाक्टरले गिरीलाई विराटनगरस्थित एक अस्पतालमा रिफर गरिदिए । त्यहाँका डाक्टरले उनलाई ६ घण्टाको बीचमा आँखामा पिप जमेको र चाडै आइदिएको भए आँखा नबिग्रने बताए । ‘त्यहाँका डाक्टरले ढिला भयो, चाडै आएको भए हुन्थ्यो भने’–उनले भने । पीडितका परिवारजन, अस्पताल प्रशासन उपचारमा संलग्न डाक्टरसहितको उपस्थितिमा घटनाबारे सोमबार छलफल भएको थियो । छलफल निष्कर्षमा नपुगेपनि विरामीको अवस्था बिग्रदै गएपछि परिवारजनले थप उपचारको लागि तत्काल राजधानीस्थित तिलगंगा आँखा अस्पताल लिएर गएका छन् । उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकले पनि उनलाई तिलगंगा अस्पतालमा लैजान सुझाएका थिए । ‘अस्पताल र डाक्टर जिम्मेवार नै भएनन्, गल्ती स्वीकार नगरी आलटाल गर्न थाले’–पीडितका ज्वाई शैलेनले भने–‘बुबाको अवस्था झन् खराब नहोस भनेर तिलगंगा लिएर जादैछौं ।’
गिरीको उपचार नेतृत्व गरेका डाक्टर बि.जि.श्रेष्ठ भने अप्रेशन पछि आँखाको पट्टी नखोल्नुपर्नेमा घर बस्दा पट्टी खोलिएकोले गिरीको आँखामा इन्फेक्सन भएको बताउछन् । गिरीको आँखाको ज्योति फर्कने सम्भावना पनि न्युन रहेको उनले बताए । इन्फेक्सन भएपछि त्यसलाई घटाउन विश्वव्यापीरुपमा प्रयोग गरिने औषधी नै इनजेक्सनमार्फत लगाएको दाबी गर्दै उनले उपचारमा कुनै लापरवाही नभएको बताए । ‘इनजेक्सन लगाएपछि पनि बेलुका एक जना डाक्टरले हेरेको छ, औषधी र उपचारमा गल्ती भएको छैन । इनफेक्सन कम होस भनेर सुई लगाएपनि उहाँमा कम भएन’–डाक्टर श्रेष्ठले भने–‘वार्डमा रहेको विरामीले डाक्टर खोज्दा नर्सले बोलाइदिएन भन्ने गुनासो छ, त्यो चाहि स्वीकार गछौं ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे