अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु

उद्घाटन खेल हुनुअघि शिक्षा निकेतन र धरान मोडेलका खेलाडीहरुसँग तस्बिर खिचाउदै आयोजक र अतिथिहरु ।
धरान । कोको–कोला अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगिता ०७१ शुक्रबारदेखि धरानमा शुरु भएको छ । जिल्ला फुटबल संघ सुनसरीले आयोजना गरेको प्रतियोगिता धरान १८ स्थित डिपोट उच्चमाविको मैदानमा सञ्चालन हुनेछ । तीन दिनसम्म हुने प्रतियोगितामा धरान क्षेत्रका ५ सरकारी र २ वटा निजी विद्यालयले भाग लिएको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो दिन भएको दुई खेलमा क्रमश धरान मोडेल स्कुल र पञ्चकन्या माविले जित हात पार्दै सेमीफाइनल पुगेको छ ।


उद्घाटन खेलमा धरान मोडेलले शिक्षा निकेतन उच्चमाविलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हरायो । निर्धारित समयको खेल १–१ बराबरी गोलमा टुंगिएपछि खेल टाइब्रेकरबाट निर्णय भएको हो । निर्धारित समयको खेलमा धरान मोडेलका खेलाडीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि निकेतन उच्चमाविले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । तर, दोस्रो हाफमा धरान मोडेलका रोमन तामाङले बराबारी गोल गरेर खेल टाइब्रेकरमा पुर्याए । खेलको म्यान अफ दि शिक्षा निकेतनका प्रवेश राई घोषित भए ।
यस्तै, दोस्रो खेलमा पञ्चकन्याले पब्लिक मावि फुस्रेलाई ३–० गोलअन्तरले हरायो । पञ्चकन्याको जितको लागि समिर परियार, अर्जुन पुरी र सुरेश तामाङले एक एक गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच पब्लिक माविका विवेक राई घोषित भए । प्रतियोगितामा शनिबार सेमीफाइनल खेलहरु हुनेछ । प्रतियोगिता शुरु हुनुअघि अग्रज खेलाडीद्धय कुमार सुब्बा र सुरेश श्रेष्ठले रेफ्रीलाई वल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । बिशेष अतिथि एवं एन्फा केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राई, धरान फुटबल क्लबका उपाध्यक्ष धनप्रसाद राई, प्याब्सन सुनसरीका अध्यक्ष नरबहादुर थापालगायतले बोलेका थिए ।


प्रतियोगितामा धरान मोडेल स्कुल, शिक्षा निकेतन उच्चमावि, ल्याबोरेटोरी उच्चमावि, पब्लिक उच्चमावि, पञ्चकन्या मावि, माउण्ट हर्मोन एकेडेमी र पब्लिक उच्चमावि, फ्रसेले भाग लिएको छ । प्रतियोगिता माविस्तरको भएपनि १६ बर्षमुनिका खेलाडीहरुले मात्रै भाग लिन पाउने आयोजक समितिका उपाध्यक्ष नविन राईले बताए । प्रतियोगिताको विजेता टिमले क्षेत्रीयस्तरको छनौट प्रतियोगिता खेल्न पाउनेछन् र त्यहाँको विजेता र उपविजेता टिमले राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउनेछ ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे