बजेट अभावले बहुजातीय संग्रहालय निर्माणमा ढिलाई

बजेट अभावले निर्माण कार्य रोकिएको धरान १४ स्थित बहुजातीय संग्रहालस्थल ।
धरान । ‘ज्युदो संग्रहालय’कोरुपमा रहने भनिएको धरान १४ स्थित बहुजातीय संग्रहालयको निर्माण कार्य बजेट अभावले कछुवा गतिमा भइरहेको छ । निर्माण कार्य थालनी भएको ४ बर्ष बितिसके पनि अहिलेसम्म पाँच प्रतिशत मात्रै काम सकिएको निर्माण समितिले जनाएको छ ।
बजेट अभावमा निर्माण कार्य ढिलाई भइरहदा बर्षेनी लागत पनि बढीरहेकोले चिन्ता पनि बढाएको समितिले जनाएको छ । आदिबासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद सुनसरीको पहलमा ०६७ सालदेखि यहाँ बहुजातीय संग्रहालय निर्माण थालिएको थियो । संग्रहालयको लागि नगरपालिकाले दुई बिघा ४ कट्ठा जग्गा उपलब्ध गराएको छ । ‘बजेटको राम्रो व्यवस्था नै हुन सकेन । अहिलेसम्म पाँच प्रतिशत मात्रै काम भएको छ’–निर्माण समितिका अध्यक्ष एवं परिषदका पूर्वअध्यक्ष ङावा लप्टु शेर्पाले भने–‘जति ढिलो भयो, महंगीले गर्दा लागत पनि बढीरहेको छ ।’

निर्माण समितिका अध्यक्ष शेर्पाका अनुसार चार बर्षअघि यो संग्रहालयको लागत ३५ करोड ६७ लाख पुग्ने अनुमान गरिएको थियो । पर्याप्त बजेट उपलब्ध हँुदा पाँच बर्षभित्रै निर्माण पुरा हुने भएपनि अहिले भने निर्माणकर्ताहरु नै संग्रहालय कहिलेसम्म तयार होला भनेर भन्न सक्दैनन् । संग्रहालयमा अहिलेसम्म जिविस, धरान नगरपालिका, पर्यटन मन्त्रालय र जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान लगायत निकायबाट प्राप्त भएको एक करोडको हाराहारीमा मात्रै लगानी भएको छ । संग्रहालय निर्माणस्थलमा अहिलेसम्म जमिन सम्याउने, कम्पाउण्ड वाल र सामुदायिक भवन मात्रै बनेको छ । ‘यो हाम्रो धेरै महत्वपुर्ण र महत्वकांक्षी योजना हो, तर बजेटले गर्दा सपना जस्तो भइरहेको छ, एक दिन कसो पुरा नहोला’–शेर्पाले भने ।
नेपालकै उत्कृष्ट बनाउने भनिएको यो संग्रहालयमा हिमाल, पहाड र तराईको तीन तहको संरचना निर्माण गरिनेछ । त्यहाँँ हिमालको संरचनामा हिमाली क्षेत्रमा बसोबास गर्ने जातिको मौलिक पूख्यौली घर निर्माण गरिनेछ भने पहाडी र तराईको तहमा पनि ती क्षेत्रमा बस्ने जातिहरुको घर बनाइनेछ । त्यहाँ उनीहरुको जातीय ऐतिहासिक वस्तुहरु, जातीय साँस्कृतिक बाजागाजाहरु, जातिसम्बन्धित पुरातात्विक भा“डाकु“डाहरु, ताम्रपत्र, रुक्का, सनद, इस्तिहार, लालमोहर, ऐतिहासिक मूर्तिकला तथा चित्रकलाहरु, सामाजिक रीतिरिवाज झल्काउने वस्तुहरु, धार्मिक ग्रन्थ, देवीदेउताका प्रतिमाहरु, जाति÷जनजातिस“ग सम्बन्धित विभिन्न उपकरणहरु (ढिकी जा“तो), जातीय गरगहना, भेषभूषाहरु र जातीय खानाका विविध परिकारहरु राखिने छन् । ‘आदिबासी जनजातिको मात्रै होइन, गैरजनजाति र दलितहरुको पनि घर र सँस्कृति राखिनेछ, सबै जातजातिहरुको टिपिकल सँस्कृति हेर्न सकिन्छ, जातीय भेषभुषासहित महिला–पुरुषहरुले जातीय खाना राख्छन् र उनीहरुले नै संग्रहालयको वस्तु र इतिहासबार आगन्तुकलाई बेलीविस्तर लगाउछन्, त्यसैले ज्युँदो संग्रहालय भनिएको हो’–परिषदका जिल्ला अध्यक्ष खम्बासिंह गुरुङले भने–‘यसले पर्यटन प्रर्वद्धनमा नयाँ आयाम थप्ने आशा लिएका छौं ।’ संग्रहालयमा एउटा अडोटोरियम हल पनि निर्माण हुनेछ ।
अध्यक्ष गुरुङका अनुसार बजेट व्यवस्थाको लागि सबैतिर पहल भइरहेको छ । पर्यटन तथा सँस्कृतिमन्त्रीले क्रमिकरुपमा बजेटको व्यवस्था गर्ने आश्वासन दिएका छन् भने आर्थिक बर्ष ०७१÷०७२ को लागि नगरपालिका, जिविसमा योजना पेश भइसकेको छ । ‘यो तरिकाले निर्माण सम्पन्न गर्न एकदमै गाह्रो छ, संग्रहालय राज्यकै सम्पत्ति हो, त्यसैले नगरपालिका, जिविसले पनि बजेटको लागि सरकार, दातृनिकायसँग पहल गरिदिनुपर्छ भनिरहेका छौं’–अध्यक्ष गुरुङले भने–‘धरानबासीको पनि अपनत्व बढाउन एकीकृत सम्पत्ति करमा संग्रहालयको लागि पनि पैसा संकलन गराउने कि भनेर छलफल भइरहेको छ, साथै जातीय संस्थाहरुले आफै घर बनाउछ भने पनि संग्रहालयको योजनाभित्र रहेर बनाउन दिने छलफल गदैछौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे