तस्कार छुटाउन गिरोह सक्रिय, प्रलोभनमा नपर्ने प्रहरी पुरस्कृत



धरान । ठुलो परिमाणमा सखुवाको गोलिया काठसहित रंगेहात पक्राउ परेका काठ तस्करीमा संलग्नहरुलाई छुटाउन विभिन्न व्यक्तिहरु लागिपरेका छन् । पक्राउ परेको बेलामा प्रहरीलाई आर्थिक प्रलोभन दिएर उक्किन नसकेपछि अहिले मुद्दा कमजोर बनाउन ती व्यक्तिहरु जुटेको स्रोतले जनाएको छ ।
पाँच दिन अघि(सोमबार) इलाका प्रहरी कार्यालय धरानको टोलीले सर्दु खोला क्षेत्रबाट मिनि ट्रकमा सखुवाको गोलियासहित चालक काजीमान राई र तस्कर रमेश भनिने नरेन्द्र राई पक्राउ परेका थिए । तस्कर नगेन्द्रको वयानको आधारमा उत्तम फर्निचर उद्योगमा छापा मार्दा थप सखुवाको गोलिया र चिरान गरेको अवैध काठ फेला परेको थियो । प्रहरीले उद्योगका सञ्चालक चन्द्र श्रेष्ठ र कारोबारको जिम्मेवारी हेरिरहेका रमेश राईलाई पनि पक्राउ गरेको थियो । प्रहरी निरीक्षक मुकुन्द प्रसाद रिजालको नेतृत्वमा छापा मार्न सर्दु खोला र फर्निचर उद्योगमा पुगेको प्रहरी टोलीलाई तस्करको गिरोहले त्यतिबेला नै आर्थिक प्रलोभन दिएर जोगिन खोजेको थियो । तर, प्रहरी प्रलोभनमा नपरेपछि गिरोह निराश बनेको थियो ।

स्रोतका अनुसार धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा लामो समयदेखि नै तस्करीको काठ ल्याउने गरेको थियो । यसअघि पनि वन समुह र वन कार्यालयले छापा मारेर अवैध काठ लकडी वरादम गरेपनि मिलेमतोमा कारबाही हुनबाट जोगिएको स्रोतको दाबी छ । ‘यहाँ धेरै पहिला देखि नै अवैध काम भइरहेको थियो, फर्निचर उद्योग र तस्करको सञ्जाल छ । तर, कसरी हो, कारबाही हुनबाट जोगिन्थ्यो’–स्रोतले भन्यो–‘अहिले पनि मुद्दा कमजोर बनाउने र जोगाउने चलखेल शुरु भइसकेको छ ।’ स्रोतका अनुसार फर्निचर उद्योगका श्रेष्ठलाई जोगाउन राजनीतिक दल, उनका नातेदार र नजिकका साथीहरु दौडधुप गरिरहेका छन् । गत माघ २३ गते धरानकै लांघाली वन समुहबाट उत्तम फर्निचरमा राती रुख काटेर ठेलामा ल्याएको प्रमाणसहित उपभोक्ताले समातेको थियो । तर, यो घटनामा वन कार्यालयले उत्तम फर्निचरलाई जोगाएको थियो । त्यतिबेला ठुलै रकमको चलखेल भएको उपभोक्ताहरुको अनुमान छ ।
इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय सिंह थापाका अनुसार चार जना मध्ये फर्निचर उद्योगका सञ्चालक श्रेष्ठलाई जोगाइदिन भन्दै फिल्डमा खटिएका प्रहरीलाई केहीले प्रलोभन दिलाएका थिए । तर, कर्तव्यनिष्ट प्रहरी प्रलोभनमा नपरेकोले सञ्चालकलाईसमेत पक्राउ गरेर वनमा बुझाएको डिएसपी थापाले बताए । ‘फिल्डमा खटिएको टोलीलाई प्रस्ताव आएकै हो, लविङ पनि भयो । तर हाम्रो टोली प्रलोभनमा परेन । त्यसपछि कार्यालयमा त कोही आएकै छैन’–डिएसपी थापाले भने । सोमबार वरामद भएको २०३.१३ क्युफिट सखुवाको गोलिया र चिरान काठ, एउटा मिनिट्रकसहित चार जनालाई इलाका प्रहरी कार्यालयले वनलाई बुझाइसकेको छ । यो धरानमा पक्राउ परेको हालसम्मकै ठुलो परिमाण काठ भएको वन कार्यालयले जनाएको छ ।

वन कार्यालयले पनि उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिसकेको छ । सो घटनाको लागि जिल्ला वन कार्यालयले सेक्टर वन कार्यालयका सहायक वन अधिकृत लखनलाल चौधरीलाई अनुसन्धान अधिकृत तोकेको छ । ‘हामीलाई प्रलोभन र दबाब कहिबाट आएको छैन । उसका आफन्तहरु त बुझ्न,भेट्न आउछन्, यो त सामान्य कुरा हो’–अनुसन्धान अधिकृत चौधरीले भने–‘यत्रो काठ, गाडी र मान्छे पनि पक्राउ परेको छ । मुद्दा कमजोर बनाउने भन्ने कुरै हुदैन ।’ जिल्ला वन अधिकृत राजबहादुर राउतले पनि आँखैअघि ठुलो लागतको तस्करीको काठसहित पक्राउ परेकोले सहजै उम्कन नसक्ने बताए । उनले पनि कसैबाट दबाब नआएको दाबी गरे । पक्राउ परेका चारै जना हाल तरहरास्थित वनको सशस्त्र सुरक्षा क्याम्पको हिरासतमा राखिएको छ ।
पक्राउ परेकामध्ये नरेन्द्र र रमेश राई लामो समयदेखि काठ तस्करीमा संलग्न छन् । उनीहरुले धरानमा सञ्जाल बनाएर नै वन क्षेत्रबाट सखुवाको गोलिया तस्करी गरेको अनुसन्धानबाट खुलेको छ । नरेन्द्रले यसअघि पनि सुनसरीको दक्षिणी वन क्षेत्रबाट रातको समयमा गोलिया तस्कारी गरेर धरान ल्याउने गरेका थिए । उनले यसअघि प्रायः धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा ल्याउने गरेको खुलेको छ ।

                                   इन्स्पेक्टरसहित पाँच प्रहरी पुरस्कृत


इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले काठ तस्करको प्रलोभनमा नपरी उत्कृष्ट काम गर्ने पाँच जना प्रहरीलाई नगदसहित पुस्कृत गरेका छन् । डिएसपी थापाले रेकर्डमा जनिने गरी प्रहरी निरीक्षक मुकुन्द प्रसाद रिजाल, असई गणेश श्रेष्ठ, हवल्दारद्धय गणेश लुईटेल, जीतबहादुर गिरी र जवान धर्मेन्द्र सिंहलाई पुरस्कृत गरेका हुन् ।
रातको समयमा काठ तस्करलाई पक्राउ गरेको र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएकोले पुरस्कृत गरेको डिएसपी थापाले बताए । ‘डिउटीमा उत्कृष्ट काम गरेको, प्रलोभनमा नपरी कर्तव्यनिष्ट भएकोले रेकर्डमा जनिने गरि पुरस्कृत गरेको हुँ, यसले प्रहरी संगठनकै शिर उचो बनाएको छ’–उनले भने । निरीक्षक रिजालको कमाण्डमा खटिएको टोलीले पाँच दिनअघि सोमबार बिहान करिब अढाई बजे सर्दु खोला क्षेत्रमा काठ तस्करलाई रंगेहात पक्राउ गर्न सफल भएको थियो । समातिएको तस्करकै वायनको आधारमा धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा पनि छापा मार्दा ठुलो परिमाणमा सखुवाको गोलिया फेला परेको थियो । तस्कर र उद्योगका सञ्चालकले पनि त्यसबेला ३ लाख रुपैयासम्मको प्रलोभन दिएका थिए । तर, प्रहरी टोलीले अस्वीकार गर्दै उनीहरुलाई पक्राउ गरेर वन कार्यालयमा बुझाएको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे