एन्फा टेक्निकल सेन्टरले एकेडेमी शुरु गर्ने


धरान । पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर सुचारु गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)ले गठन गरेको नयाँ सञ्चालक समितिले उमेर समुहका(बाल )खेलाडीहरु छनौट गरेर एकेडेमी सञ्चालन गर्ने भएको छ ।
एकेडेमी सञ्चालन गर्न सदस्य सचिव तिलक राईको संयोजकत्वमा १५ सदस्यीय स्थानीयस्तरको व्यावस्थापन समिति गठन गरिसकेको नवगठित सञ्चालक समितिले जनाएको छ । समितिले शनिबार पत्रकार सम्मेलन गर्दै १४ बर्षमुनिका उमेर समुहबाट २५ जना खेलाडी विद्यार्थीहरुको छनौट गरेर आवासिय सुविधासहित एकेडेमीमा राख्ने योजना सार्वजनिक गरेको हो । समितिका अनुसार पहिलो चरणमा साउन १० र ११ गते पूर्वाञ्चलका १६ जिल्लामा जिल्लास्तरमा खेलाडी छनौट हुनेछ भने अन्तिम चरणको छनौट साउन १६ र १७ गते धरानमा हुनेछ । अन्तिम छनौटमा परेका २५ जना खेलाडीहरुलाई धरान १८ स्थित डिपोट उच्चमाविमा अध्ययनको व्यावस्था गरिएको सञ्चालक समितिका सदस्य सचिव एवं व्यावस्थापन समितिका संयोजक तिलक राईले बताए ।
उनका अनुसार जिल्लास्तरबाट छनौट भएर आएका उत्कृष्ट खेलाडीको अन्तिम छनौट धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा गरिनेछ । उत्कृष्ट २५ को छनौट केन्द्रीय वरिष्ठ प्रशिक्षकहरुको उपस्थितिमा हुनेछ । उनीहरुलाई चार बर्षको अवधिसम्म टेक्निकल सेन्टरमा आवासिय सुविधासहित राखिनेछ भने पढने व्यवस्था पनि सेन्टरले नै गर्नेछ । ‘हाम्रो यो कदमले दुई बर्षदेखि खण्डहर बन्दै गएको टेक्निकल सेन्टरलाई पूर्नजीवन प्रदान गर्नेछ, र एकेडेमीले पूर्वाञ्चलका प्रतिभावान बाल खेलाडीहरुको पहिचान हुनेछ र भविष्यमा यिनीहरुबाटै क्षमतावान राष्ट्रिय खेलाडी तयार हुनेछ’–एकेडेमीको लक्ष्यबारे संयोजक राईले भने ।

समितिका अनुसार एकेडेमी सञ्चालन गर्न करिब २५ लाख खर्च हुने अनुमान गरिएको छ । यसअघि, एन्फा केन्द्रले बर्षेनी १५ लाख उपलब्ध गराउथ्यो भने नगरपालिकाले ४ लाख, जिविसले एक लाख बजेट उपलब्ध गराएको थियो । यसअघि सेन्टरमा ०६६ सालदेखि पहिलो ब्याच राखेर एकेडेमी सञ्चालन गरिएपनि विगत दुई बर्षदेखि भने कुनै गतिविधि एवं कार्यक्रम नहुदा सेन्टर करिब बन्द अवस्थामा थियो । एकेडेमी शुरु गर्न विभिन्न स्रोतको खोजी गरिने एकेडेमी व्यावस्थापन सञ्चालन समितिले जनाएको छ । समितिका सहसंयोजक एवं धरान फुटबल क्लबका पूर्वअध्यक्ष सुवास राईका अनुसार चार बर्षे अवधिको लागि खेलाडी छनौट गरिएपनि दुई बर्षपछि नै यु १६, यु १७ को छनौटमा खेलाडीहरुलाई सहभागी गराइनेछ । ती छनौटमा उत्कृष्ट ठहरिएकाहरुले उमेर समुहको राष्ट्रिय टोलीमा पर्ने अवसर पाउनेछन् भने केन्द्रको एकेडेमीमा नै थपप्रशिक्षणको अवसर पनि पाउने राईले जानकारी गराए ।
एन्फा केन्द्रीय समितिले गत असार १८ गते पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष सन्तोष बाँनिया संयोजक रहने गरी १६ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको थियो । जिल्ला समिति र साविकको सञ्चालक समितिलाईसमेत जानकारी नगराई विघटन गरेर नयाँ समिति गठन गरेकोमा संयोजकसमेत रहेका केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राई र एन्फा सुनसरी भने सन्तुष्ट छैनन् । केन्द्रीय उपाध्यक्ष राई एन्फा अध्यक्ष गणेश थापाले मनोमानी निर्णय गरेको, आर्थिक अनियमितता गरेकोलगायत आरोप लगाउदै अन्य उपाध्यक्षसँगै आन्दोलनमा छन् ।

नयाँ गठित समितिका सदस्य सचिव तिलक राई भने टेक्निकल सेन्टर सञ्चालन र उपाध्यक्षको आन्दोलनबीच सामञ्जस्यता नरहेको दाबी गर्छन् । ‘उहाँ(किसोर राई) केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, हामी सम्मान गछौं तर टेक्निकल सेन्टर र उहाँहरुको आन्दोलनको कुनै सामञ्जस्यता छैन’–राईले भने–‘भ्रष्टचार भएको छ भने सम्बन्धित निकायले त्यो मुद्दा हेर्छ । यो सेन्टर सञ्चालनमा आउदैमा उहाँहरुको आन्दोलनमा कुनै असर पुग्दैन । उहाँहरु जिम्मेवार पदाधिकारी हुनुभएकोले पक्कैपनि बुझ्नुहुनेछ भन्ने आशा लिएका छौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे