सुनचादीको गहना र नगद ५२ लाख वरामद


धरान । प्रहरीले धरान ४ स्थित एक घरबाट ठुलो परिमाणमा सुनचादीको गहना र नगद ५२ लाख वरामद गरेको छ । बिशेष सुचनाको आधारमा दिपक अग्रवालको घरमा शनिबार बिहानै छापा मारेको प्रहरीले ७० केजी चादीका गरगहना र नगद ५२ लाख फेला परेको थियो । सुनका गहना जस्तो सामानसमेत वरामद भएपनि त्यसको परिमाण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
धरानस्थित कोशी अञ्चल प्रहरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार बिहानै अग्रवालको घरमा छापा मारेको थियो । रित पुर्याएको माछा मार्दा बोरामा प्याक गरेर खाटमुनि लुकाईरहेको अवस्थामा गरगहना र नगद फेला परेको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘यी सामानको आवश्यक कागज पत्र घरधनीले देखाउन सकेनन्, हामीले सुनचादी व्यावसायी संघको रोहबरमा वरामदी मुचुल्का बनाएर ल्याएका छौं’–इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै डिएसपी थापाले भने ।

प्रहरीले घरधनी दिपक अग्रवाललाई पनि सोधपुछको लागि नियन्त्रणमा लिइएको जानकारी दिएको छ । सुनचादीको गहना घरमा फेला परेपनि अग्रवाल स्वयम भने सुनचादी व्यावसायी होइनन् । उनको धरान ८, तीनकुनेस्थित औद्योगिक क्षेत्रमा प्लाष्टिक उद्योग छ । उनले सो सुनचादीको गहना र नगद सुनचादी व्यावसायी संघ सुनसरीका अध्यक्ष सुनिल अग्रवालको भएको वयान दिएका छन् । सुनिल अग्रवाल आफ्नो ससुरालीतर्फका नातेदार भएकोले ती सामान राख्न दिएको उनको भनाई छ । अध्यक्ष सुनिल अग्रवाल हाल उपचारको लागि भारत गएकोले सामानको वैद्यताबारे थप खुल्न नसकेको प्रहरीले जनाएको छ ।

वरामद भएको सुनजस्तो सामानको तौल र सुन भए नभएकोबारे प्रमाणिकरणको लागि सहयोग गर्न सुनचादी व्यावसायी संघलाई आग्रह गरिएको प्रहरीले जनाएको छ । प्रमाणित भइसकेपछि राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने प्रहरी निरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । सो घरमा अवैध गतिविधि भइरहेको सुचना प्राप्त भएपछि प्रहरी टोलीले शनिबार बिहानैदेखि निगरानी बढाएको थियो । सुचना पक्का भएपछि डिएसपी थापा, प्रहरी निरीक्षक मुकुन्द रिजालसहितको टोलीले सो घरमा छामा मारेको थियो ।
प्रहरीको कदमप्रति सुनचादी व्यावसायीहरु भने असन्तुष्ट छन् । सुनचादी व्यावसायी संघका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले ती सुनचादी संघका सुनसरी अध्यक्ष सुनिल अग्रवालको भएको र त्यो बाहिरबाट नल्याएको बताए । संघका अध्यक्ष अग्रवाल उपचारको लागि गएको र व्यावसाय सम्हालिरहेका उनको छोराले शुक्रबार आफन्तको घरमा सामानहरु राखेर गएको शाक्यको भनाई छ । ‘सुनिल अग्रवाल उपचार गराउन गएका थिए, बुबाको उपचारको लागि छोरा पनि भारत जानुपरेपछि पसल र घरमा राख्नुभन्दा आफन्तकोमा सुरक्षित हुन्छ भनेर त्यहाँ छोडेर गएको हो’–उनले भने–‘यो घटनाबारे भोली व्यावसायीबीच छलफल हुन्छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे