सिँचाईले विस्थापित बनाएकाहरुलाई गाँस बासको चिन्ता


धरान । जग्गा अतिक्रमण गरेको भन्दै सुनसरी–मोरङ सिँचाई आयोजनाले नहर आसपासको घर, टहरा भत्काई दिएपछि बिचल्ली बनेका बराहक्षेत्र १, चतराका सर्वसाधारणहरु केही दिन यता विरामी पर्न थालेका छन् । आयोजनाले घर भत्काइदिएपछि छिमेकी, आफन्तको घरमा आश्रय लिएका र डेरामा बसेका विस्थापितहरुलाई यतिबेला गाँस, बास र कपासको चिन्ताले पनि सताएको छ । राम्रो बासस्थानको अभाव, फोहोर खानेकुरा र फोहोर पानीले केटाकेटीहरुलाई घाउखटिरा आउन थालेको छ भने बुढाबुढीहरुलाई खुट्टा सुन्निने समस्या देखिन थालेको पीडितहरुले बताएका छन् । राज्यले नै घरबारबिहिन बनाएर गरिखाने बाटो पनि बन्द गरिदिएकोले भोकभोकै बस्नु परिरहेको उनीहरुको गुनासो छ । लुगाफाटो पनि बचाउन नपाउदा बर्षायाममा उनीहरुको विचल्ली छ । अहिले अधिकांश स्थानीयहरु आयोजनाले डोजर र स्काभेटर लगाएर भत्काएको घरको अवशेष अघि बसेर दिन कटाउने गरेका छन् ।
‘बर्षायाम भएकोले लुगाफाटा र खानेकुरा जोगाउनै भ्याइएन । बचेको चामल पनि ढाडिएको छ, बुढाबुढी र केटाकेटीलाई के खुवाउने ?’–चिन्तित हुदै विष्णुमाया राईले भनिन्–‘पानी फोहोर छ, बर्षातले भिजेका छौं, सबै जना विरामी पर्न थालिसक्यो ।’ पीडितहरुका अनुसार अहिलेसम्म आयोजनाले अढाई सयभन्दा बढी घरटहरा भत्काइसकेको छ । ती मध्ये अधिकांशले घरमा किराना, चिया नास्ता पसल गरेर परिवारको गुजारा चलाएका थिए । अहिले घर नै नरहेपछि धेरै परिवारलाई बिहान बेलुकीको छाक टार्न नै धौ धौ छ । ‘चिया नास्ता पसल थियो, अब कसरी गुजारा चलाउने साह्रै चिन्ता छ’–६१ बर्षीय दुर्गाबहादुर बस्नेतले भने ।
नहर किनारबाट विस्थापित भएकाहरु छिमेकी र आफन्तजनको घरमा आश्रय लिएका छन् । उनीहरु एउटै कोठामा कोचिएर बस्नु परेको भन्दै उनीहरु राज्यप्रति नै आक्रोशित छन् । ‘हामी यो देशकै नागरिक हौं, तर राज्यले नै हामीलाई उठिबास बनायो’–पीडित सानुमाया बस्नेतले भनिन् ।

                    नहरमा नपर्ने घर पनि भत्काएको आरोप

सिँचाई आयोजनाले आफ्नो जग्गामा पनि नपर्ने घरटहरा भत्काएको भन्दै स्थानीय एवं विस्थापितहरुको गुनासो छ । नगर सफाई गर्नुपर्ने भन्दै अतिक्रमित क्षेत्र खाली गराउनुअघि दुई पटक जग्गा नापी गर्दा तोकिएको सिमानाभित्र बाहेकको क्षेत्रको पनि घरटहरा भत्काएको उनीहरुको आरोप छ । आयोजनाका कर्मचारी र प्रहरीलाई पहिला नापी भएको क्षेत्रसम्म मात्रै भत्काउन आग्रह गर्दा पनि जर्बजस्ती घरटहरा भत्काइदिएको उनीहरुको भनाई छ । ‘शुरुमा उनीहरुले नै नापी गर्दा तपाईको घर सिँचाईको जग्गामा छैन, भत्कदैन भन्थ्यो, पछि त प्रहरीले डोजर ल्याएर भत्काइदिइ हाल्यो’–कमलमाया राईले भनिन्–‘अहिले छोरीको झुप्रोमा १० जनाको परिवार दुःख गरेर बसेका छौं ।’

स्थानीयका अनुसार नहर किनारमा ०२२ सालदेखि बसोबास गरेकाहरु थिए । उनीहरुको तीन पुस्ता पनि यही फैलिइसकेको छ । अहिले भने तीनै पुस्ता छिन्नभिन्न हुने अवस्थामा पुगेकोले उनीहरु चिन्तित छन् । शुरुमा नहरको मुहानदेखि १३ किलोमिटर दक्षिण क्षेत्रबाट मात्रै बस्ती हटाउने भने पनि पछि कुम्भ र बोलबम मेलाको लागि बाटो साघुरो भयो भन्दै जर्बजस्ती हटाएको सप्तकोशी उच्चबाँध आदिबासी जनजाति सरोकार मञ्चका सदस्य एवं स्थानीय निरज राईले बताए । नहर मुहान क्षेत्रमा थप घर भत्काउन आएको स्काभेटर र प्रहरीलाई मंगलबार भने स्थानीय एवं पीडितहरुले प्रतिकार गरेर फकाईदिएको थियो । शुरुमा नहरको जग्गामा नपर्ने घर भनेपनि अहिले जर्बजस्ती भत्काउन खोजेपछि प्रतिकार गरेको राईले बताए । ‘अब हामी सहेर बस्दैनौं, घर भत्केको प्रमाणीकरण र पूर्नस्थापनाको व्यवस्था नगरे प्रतिकारमा उत्रिन्छांै’–राईले भने ।
........

               बालसन्त र कृष्णदासलाई राज्यकै संरक्षण


नहरको जग्गा क्षेत्र अतिक्रमण गरी घर बनाएको भन्दै सिँचाई आयोजनाले सर्वसाधारणको घरटहरा धमाधम भत्काएर विचल्ली बनाएपनि बराहक्षेत्र १, चतरास्थित सिँचाईको ठुलो क्षेत्रफल कब्जा जमाएर बसेको बालसन्त र कृष्णदास जी महाराजलाई भने त्यहाँबाट नहटाएको भन्दै पीडितहरु राज्यप्रति रुष्ट छन् । उनीहरुले निर्धा जनतालाई प्रहरी लगाएर सडकमा पुर्याउने राज्य प्रशासनले बालसन्त र महाराजलाई भने सिँचाईको जमिनबाट किन नहटाएको भन्दै प्रश्न तेस्र्यारहेका छन् । ‘जनतालाई चाहि उठिबास गर्ने सरकारले त्यत्रो जमिन ओगटेर बस्ने वालसन्त र कृष्णदासलाई भने किन त्यहाँबाट हटाउदैन ?’–आक्रोशित हुदै दुर्गा बस्नेतले भने–‘कानुन गरिब जनतालाई मात्रै लागु हुने हो ?’


आयोजनाले घर भत्काइदिएपछि विस्थापित बनेकी श्यामकुमारी राईले जनतालाई उठिबास गर्ने राज्यले नै साधु सन्तलाई भने जोगाएको बताए । उनीहरुलाई सिँचाईको जग्गाबाट हटाएमा आफुहरु पनि सहजहरुमा सिँचाईको जमिन छोडिने उनको भनाई छ । हाल कृष्णदास र वालसन्त बसेको स्थानबाट विगतमा मुआब्जा दिएर सर्वसाधारणहरुलाई हटाइएको थियो । अहिले नहर किनारबाट सर्वसाधारणहरुलाई वल प्रयोग गरेर राज्यले हटाइरहेपनि उनीहरुलाई भने छुट दिएको छ ।


यसैबीच, सिँचाई नहरको जग्गाबाट हटाइएकाहरु मिलेर सिँचाई नहर पीडित पूनःस्थापना संघर्ष समिति गठन गरेका छन् । उनीहरुले हरिपुर द्धन्दपीडितहरुलाई पूनस्थापना, गाँस, बास कपासका साथै सुरक्षाको प्रत्याभुति दिलाउन पनि माग गरेका छ । यस्तै, ज्यादतीपुर्वक हटाइएको स्थानीयबासीलाई क्षतिपूर्तिको व्यवस्था गर्न, बराहक्षेत्रकै सरकारी पर्ती जग्गामा बसोबास गराउन, ज्यादती गर्ने प्रहरीलाई कारबाही गर्न पनि माग गरेको छ । धार्मिक एवं जातीय विभेदको अन्त्य गरी कानुनी राज्यको सिद्धान्त अनुसार सबैलाई समान व्यावहार गर्दै कृष्णदास र बालसन्तद्धारा कब्जा गरिएको सिँचाईको जग्गाबाट उनीहरुलाई पनि हटाउन समितिले माग गरेको अध्यक्ष अजित राईले बताए ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे