डन छुटाउन घोषणापत्र लत्याउदै कांग्रेसको बन्द



धरान । ‘नेपाली जनताको शान्तिप्रतिको आकांक्षालाई सम्बोधनगर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माणका लागि आगामी दिनमा नेपाली कांग्रेसले कुनै पनि अवस्थामा नेपाल बन्द वा कुनै स्थान विषेश बन्द जस्तो कार्यव्रmम राख्ने छैन र त्यस्ता कार्यलाई प्रोत्साहन गर्ने छैन । बन्दलाई बन्द गर्ने नीति कांग्रेसले लिनेछ ।’
गत मंसिर ४ गते सम्पन्न संविधानसभाको दोस्रो चुनावअघि नेपाली कांग्रेसले आम जनतामाझ बन्द,हडताललाई बन्द गर्ने नीति अबलम्बन गर्ने भनेर आफ्नो घोषणापत्रमार्फत प्रतिवद्धता गरेको थियो । उसको यो प्रतिवद्धताले जनता, उद्योगी व्यावसायी खुशी थिए । घोषणापत्रमा कुनै पनि अवस्थामा नेपाल बन्द वा कुनै स्थान बिशेष बन्द कार्यक्रम नगर्ने र प्रोत्साहन नगर्ने उल्लेख छ । तर, चुनावअघि जनतासामु पार्टीले गरेको घोषणा एवं प्रतिवद्धताविपरीत नेपाली कांग्रेस सुनसरीले दुई दिनदेखि धरानमा चक्काजाम गर्दै आएको छ ।

मादकपदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका तरुण दलको सुनसरी कार्यबाहक सभापति सिजन गुरुङको रिहाईको माग गर्दै कांग्रेसले शनिबारदेखि चक्काजाम गर्दै आएको छ । कांग्रेस कार्यकर्ताहरुले शनिबार र आइतबार धरानको भानुचौकमा चक्का जाम गर्यो । चक्काजामको कारण एक घण्टासम्म कुनै पनि सवारीसाधान चल्न पाएनन् । धरानबाट पहाडी क्षेत्र र तराईतर्फ जाने मोटरसाइकल, यात्रुवाहक एवं मालवाहक सवारीसाधान ठप्प रह्यो । सयौं सर्वसाधारण जनताले अनाहकमा दुःख पाए । ‘आफ्नै पार्टी सरकारमा छ, त्यही पार्टी बन्द,हड्ताल गर्छ । चुनाव अघि घोषणा पत्रमा पनि बन्द नगर्ने भन्थ्यो’–भानुचौकमा रमिता हेरिरहेका एक वृद्धले चिन्ता व्यक्त गर्दै भने–‘नेपालको दलहरु कहिल्यै नसुध्रिने भयो ।’

पूर्वमा गुण्डागर्दी र ठेक्कापट्ठा गरेर अकुत सम्पत्ति कमाएको भनिएका तरुण दलका सुनसरी कार्यबाहक सभापति गुरुङ अन्य चार जना सहयोगीसहित गत असार २१ गते धनकुटाको भेडेटारबाट पक्राउ परेका थिए । मादक पदार्थ सेवन गरेका उनले चेकिङको क्रममा प्रहरीमाथि नै हातपात गरेको आरोप छ । उनीहरुलाई तत्काल धनकुटा सदरमुकाम पठाइएर सार्वजनिक अपराध ऐनअन्र्तगत मुद्दा चलाइएको छ । उनको रिहाईको माग गर्दै नेपाली कांग्रेसको सुनसरी जिल्ला समितिले जिल्लामा चक्का जाम गर्ने निर्णय गरेको हो । कांग्रेस जिल्ला सहसचिव विकास आचार्यले घोषणापत्रमा बन्द नगर्ने भनिएपनि बाध्यात्मक परिस्थितिको कारण सांकेतिकरुपमा एकघण्टा बन्द गर्नुपरेको बताए । ‘घोषणापत्रमा बन्द नगर्ने भनिएकै हो, तर बाध्यात्मक परिस्थिति आइलाग्यो । हाम्रो निर्दोष कार्यकर्ता समातियो । तरपनि बजार, शैक्षिकसंस्था बन्द गरेका छैनौं’–आचार्यले भने–‘जनता बन्द,हडताल चाहदैन, त्यो पनि थाह छ, तर लोकतान्त्रिक मुल्यमान्यता स्थापित गराउने आन्दोलनमा जनताले थोरै समय भएपनि दुःख सहिदिन आग्रह गर्दछु ।’


सुनसरीको हाँसपोशा गाविस घर भएका गुरुङले गुण्डागर्दी, ठेक्कापट्टाबाट सम्पत्ति जोड्दै राजनीतिमा छिरेका हुन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पनि प्रहरीमा उजुरी छ । केही महिनाअघि तरहरा बजारमा एक युवालाई दिउसै तरबारले काटेको अभियोग लागेपछि उनी फरार भएका थिए । गत चैत महिनामा उनी धरानमा तास–जुवा खेलिरहेको अवस्थामा पनि समातिएका थिए । उनी पार्टीको संरक्षण र आडमा कानुनी कारबाही हुनबाट भने जोगिर्दै आएका छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे