धरान साहित्य महोत्सवको तयारी तीब्र


धरानको भानुचौकस्थित आदिकवि भानुभक्त आयार्चको सालिक । असार २९ गते उनको द्धि शतबार्षिकी हो ।
धरान । द्धिशतबार्षिकी भानु जयन्तीको अवसर पारेर आयोजना हुन लागेको तीन दिने धरान साहित्य महोत्सव ०७१ के तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गर्दै महोत्वसले धरान र आसपासको क्षेत्रलाई साहित्य, कला र संगीतको शहरकोरुपमा पहिचान दिलाउने आशा व्यक्त गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न गएको बैशाख महिनामा नै भाषाविद् एवं प्राध्यापक डा.टंक न्यौपानेको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको थियो भने साहित्य, कला र संगीत क्षेत्रको विभिन्न संघसंस्थाहरुलाई पनि महोत्सवको जिम्मेवारी बाँडफाँड गरिएको थियो । संयोजक न्यौपानेले महोत्सवको अन्तिम तयारी तीब्ररुपमा भइरहेको र देश विदेशबाट अतिथिहरु आउन थालिसकेको पनि बताए । 
उनका अनुसार विगतमा भन्दा फरकढंगले सर्वसाधारण जनतासम्म पुग्ने गरि साहित्यिक महोत्सव आयोजना गरिनेछ । यसको लागि साहित्य, कला र संगीतप्रति आमजनताको चासो र ध्यानआर्कषण गराउन सडक एवं चोक चोकमा कार्यक्रमहरु गरिनेछ । ‘साहित्य, कला र संगीतको कार्यक्रमहरु कोठाभित्र सिमित छ, त्यसलाई आम जनताको माझमा पुर्याउन र चासो बढाउन सडक, चोकमा कार्यक्रम गर्ने तयारी छ’–संयोजक न्यौपानेले भने । असार २८ गते शुरु हुने महोत्सव ३० गतेसम्म जारी रहनेछ । असार २९ गते भानुजयन्ती पर्छ । तीन दिवसिय महोत्सवको अवसरमा राई, लिम्बू, नेवार, गुरुङ,मगरलगायत विभिन्न नेपालेली भाषाका आदि श्रष्टाको पनि खोजी, स्थापना र सम्मान गरिने संयोजक न्यौपानेले बताए ।                                 आयोजक समितिका अनुसार महोत्सवको पहिलो दिन छाताचोकबाट विभिन्न जातिको साँस्कृतिक झाँकीसहित र्याली निकालिनेछ । सोही क्रममा भानुचोकस्थित भानुभक्तको सालिक र तीनकुनेस्थित श्रीजंगाको सालिकमा माल्र्यापण हुनेछ । सदन सभा भवनमा आयोजना हुने उद्घाटन समारोहमा साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएका विमल स्मृति पुस्तकालयका संस्थापक एवं कवि गुरुङका पिता पुर्णबहादुर गुरुङको नागरिक ताम्रपत्रसहित नागरिक अभिनन्दन हुनेछ । बहुभाषिक कविता गोष्ठी, भानुचौकमा सडक नाटक पनि प्रर्दशन हुनेछ भने भानुचौकमा तीन दिनसम्म चित्रकला र पुस्तक प्रर्दशनी हुनेछ ।

उद्घाटन समारोह सकिएपछि अभिनन्दित व्यक्तित्व पुर्णबहादुर गुरुङलाई सदन सभा भवनदेखि पैदलसहित उनको निवासस्थल बुद्धचोक पुर्याइने कार्यक्रम छ । त्यहाँ उनीसहित साहित्यकार, कलाकार एवं संगीतकर्मीहरुलाई स्थानीयले पनि भव्यतापुर्वक स्वागत गर्नेछन् भने साँझ चोकमा सडक नाटक, सडक कविता वचन र डकुमेन्ट्री प्रर्दशनी पनि हुने आयोजक समितिका सचिव चेवन राईले जानकारी दिए । उनका अनुसार दोस्रा र तेस्रो दिन सैनिक भवनमा हुने कार्यक्रमहरु साहित्यिक गोष्ठी एवं बहस, पुस्तक विमोचन एवं कविता वाचन, गीत संगीत प्रस्तुतीलगायत कार्यक्रमहरुमा केन्द्रीत हुनेछ । ‘वरिष्ठ गीतकार राजेन्द्र थापाको एकल मुक्तक वाचन हुनेछ । नेपाली साहित्यमा युवा लेखन, समकालीन नेपाली साहित्यमा काव्यिक चेतनालगायत बिषयमा वहस, विर्मश हुनेछ’–सचिव राईले भने–‘कलाकार मनमोहन थपलियाले शास्त्रीय संगीतको प्रस्तुती गर्नुहुनेछ भने स्थानीय कलाकारहरुको पनि प्रस्तुती हुनेछ ।’
महोत्सवमा धरान, सुनसरी,मोरङ्ग, धनकुटा, झापा, इलाम,पाँचथर, काठमाण्डौंलगायत विभिन्न स्थानबाट साहित्यकार, कलाकारहरु सहभागी हुने आयोजकले जनाएको छ । यस्तै, भारतको आसाम, वर्मा र अमेरिकामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका साहित्यकारहरु पनि सहभागी हुनेछन् । महोत्सवलाई सम्पन्न गराउन साहित्यिक गोष्ठी उपसमितिको संयोजक वाङमय समाज, चित्रकला प्रर्दशनीको संयोजक युमा फाइन आर्ट एकेडेमी, संगीत उपसमितिको संयोजक धरान संगीत प्रतिष्ठान, नाट्य उपसमितिको संयोजकमा नाट्य महासंघ सुनसरी, जनजातिय साँस्कृतिक एवं झाँकी प्रर्दशनी उपसमितिको संयोजक आदिबासी जनजाति नगर समिति, पुस्तक प्रर्दशनीको संयोजक भिगोरस नेपाल र प्रचारप्रसार उपसमितिको संयोजकको जिम्मेवारी पत्रकार महसंघ रहेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे