काठ तस्करको गिरोह धरानमा पक्राउ


धरान । ठुलो परिमाणमा सखुवाको गोलिया काठसहित तस्करीमा संलग्न गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनीहरुसँगै गोलिया काठ खरीद गरेर लुकाई राखेको अवस्थामा भेटिएको धरान ८ स्थित उत्तम फर्निचर उद्योगका सञ्चालकलाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा धरान १५ का काजिमान राई, धरान ११ का रमेश भनिने नरेन्द्र राई र धरान ८ का रमेश राई छन् । यस्तै, उत्तम फर्निचर उद्योगका चन्द्र श्रेष्ठलाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । सुचनाको आधारमा प्रहरीले सोमबार बिहान करिब अढाई बजे सर्दु खोला क्षेत्रबाट सखुवाको गोलियासहित काजीमान र नरेन्द्रलाई पक्राउ गरेको थियो । दुवैले को १ ख २३७५ नम्बरको मिनि ट्रकमा लुकाएर ६ वटा गोलिया धरानतर्फ ल्याउदै गरेका थिए । ट्रकमा ५ फुटे लम्बाईको ३ वटा र ७ फुटे लम्बाईको ३ वटा सखुवाको गोलिया थियो । काजीमान मिनिट्रकका चालक र मालिक दुवै हुन् । उनीहरुले सुनसरीको बक्लौरी र भलाचौरबीचमा पर्ने जंगलबाट राती सालको रुख काटेर ल्याउदै गरेका थिए । 
पक्राउ परेका काजिमानको वयानको आधारमा प्रहरीले धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा छापा मार्दा त्यहाँ थप ८ वटा सखुवाको गोलिया लुकाइरहेको अवस्थामा फेला परेको थियो भने चिरानी गरिसकेको अवस्थामा पनि थप काठ फेला परेको थियो । प्रहरीले उद्योगको कारोबारको जिम्मेवारी लिएका रमेश राईलाई तत्काल पक्राउ गरेको थियो । तस्करीको काठ फेला परेपछि उद्योगका सञ्चालक चन्द्र श्रेष्ठलाई पनि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘सुचनाको आधारमा ट्रकमा धरान ल्याउदै गरेको अवस्थमा काठसँगै तस्कर फेला पर्यो, उनीहरुले पहिला पनि फर्निचर उद्योगमा लगेको वयान दिएपछि त्यहाँ पनि छापा मार्दा सालको गोलिया भेट्यौं’–डिएसपी थापाले भने–‘फर्निचर उद्योगका सञ्चालकलाई पनि नियन्त्रणमा लिएका छौं । पक्राउ परेका मान्छे, काठ, गाडीसहित सबै वन कार्यालयमा बुझाउछौं ।’

रातको समयमा तस्करी गरेर काठ ल्याउदै गरेको गोप्य सुचना पाएपछि इलाका प्रहरी कार्यालयले प्रहरी निरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा एक टोली सर्दु क्षेत्रमा खटाएको थियो । पक्राउ परेका नगेन्द्र राई र उत्तम फर्निचरका रमेश राई लामो समयदेखि काठ तस्करीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नगेन्द्रले दक्षिणी वन क्षेत्रमा सालको रुख काटेर राती धरानमा तस्करी गर्ने र उत्तम फर्निचर उद्योगले खरीद गर्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । यो उद्योगमा गत माघमा पनि धरानकै लांघाली वन समुहमा अवैधरुपमा काटेको काठ फेला परेपनि वन कार्यालयले कारबाही गरेको थिएन । ‘काठ तस्करहरुको नेटवर्क छ भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, त्यो नेटवर्कमा को को छन् भन्ने थप अनुसन्धान गछौं’–प्रहरी निरीक्षक रिजालले भने । उत्तम फर्निचर उद्योगका सञ्चालक श्रेष्ठले भने उद्योग आफ्नो नाममा दर्ता भएपनि डेढ बर्षदेखि रमेश राईलाई ठेक्कामा दिएकोले आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् । 
वन कार्यालयका अनुसार वरामद भएको काठको कुल परिमाण २०३.१३ क्युफिट रहेको छ । यो धरानमा पक्राउ परेको हालसम्मकै ठुलो परिमाण काठ हो । विष्णुपादुका इलाका वन कार्यालय धरानका सहायक वन अधिकृत ज्ञानकुमार लामाले प्रहरीले बुझाएपछि म्याद थप गरेर वयान लिएर अनुसन्धान गर्ने र सरकारी वकिलमार्फत मुद्दा दायर गरिने बताए । ‘प्रहरीले वनलाई बुझाएपछि अनुसन्धान र वयानको क्रम शुरु हुन्छ, फर्निचर उद्योगमा तस्करीको काठ फेला परेकोले सञ्चालक पनि अनुसन्धानको दायरामा आइहाल्छन्’–लामाले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे