विवादले शहरी सेवा केन्द्रको सम्झौता रद्द


धरान । सार्वजनिक शौचालयसहितको शहरी सेवा केन्द्र सञ्चालनको विवाद नसुल्झिएपछि नगरपालिकाले वार्ड विकास तथा बजार सुधार समितिसँगको सम्झौता रद्द गरेको छ । केन्द्र सञ्चालनमा आएदेखि नै समितिमा शुरु भएको विवाद मिलाउन पटक पटक प्रयास भएपनि सुल्झन नसकेपछि सहमतिमा नै सम्झौता रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बिहिबारदेखि सम्झौता रद्द भएको जानकारीसहितको पत्र समिति र सरोकारवालाई बुधबार पठाएको थियो । सम्झौता रद्द भएपछि तत्कालको लागि नगरपालिकाले नै केन्द्रको सञ्चालन गर्ने र आवश्यक छलफल एवं निर्णय गरेर नयाँ विधिबाट केन्द्र सञ्चालनको जिम्मा दिइने नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । ‘समितिमा आन्तरिक विवाद भइरह्यो, हामीले पटक पटक मिल्न भन्यौं, नमिलेपछि सहमतिमा नै सम्झौता रद्द गरेका हौं’–खतिवडाले भने–‘ तत्काल नगरपालिकाले सञ्चालन गर्छ, आवश्यक छलफल गरेर नयाँ विधिबाट सञ्चालन गछौं ।’
शहरी वातावरण एवं सर्वसाधरणलाई विभिन्न सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्र्तगत भानुचौकमा गत बर्ष केन्द्रको निर्माण भएको थियो । केन्द्र मर्मत एवं विकास र सञ्चालनको लागि नगरपालिका र धरान ६ स्थित वार्ड विकास तथा बजार सुधार समितिबीच १० बर्षे सम्झौता भएको थियो । सम्झौता वमोजिम एक बर्ष निर्माण अवधि र ९ बर्ष सञ्चालन अवधि रहेको थियो । त्यसस्थानमा विगतमा सार्वजनिक शौचालय मात्रै थियो । शौचालय अति आवश्यक भएपनि अव्यावस्थित एवं त्यहाँबाट निस्कने दुर्गन्धको कारण स्थानीयले हटाउन माग गर्दै आएका थिए । त्यसलाई व्यवस्थित गर्न तथा सर्वसाधारणलाई अन्य सुविधा दिन केन्द्र बनाइएको थियो । केन्द्रमा सार्वजनिक शौचालयसँगै ४ वटा व्यावसायीक कोठा, स्नान गृह र लकर रुम पनि निर्माण भएको छ । सर्वसाधारण यात्रुले लकरमा आफ्नो सामान सुरक्षित राख्ने, नुहाउने तथा त्यहाँ सञ्चालित पसलबाट सर्वसुलभ अन्य सेवा सुविधा उपलब्ध गराउने केन्द्रको उद्देश्य हो ।

केन्द्र निर्माणको क्रममा नै मुल समिति र निर्माण समितिका संयोजक विष्णु राईबीच विवाद शुरु भएको थियो । निर्माण सम्पन्न भएपछि निर्माण समितिले नै केन्द्र गैरकानुनीरुपमा सञ्चालन गरेर आम्दानी नदेखाएको मुल समितिले आरोप लगाउदै आएको थियो । संयोजक राईले भने मुल समितिले निर्णय गरेर नै आफुलाई निर्माणसँगै सञ्चालन र व्यावस्थापनको जिम्मा लगाएको र आम्दानी बैंक खातामा सुरक्षित रहेको दाबी गर्दै आएका थिए । यही विवाद सुल्झन नसकेपछि नगरपालिकाले सम्झौता रद्द गरेको हो । विवादकै कारण लकर रुम सञ्चालनमा आएको छैन भने न्युनतम मुल्यमा मात्रै व्यावसायिक कोठा भाडामा लगाउने सम्झौताविपरीत चर्को मुल्यमा कोठा भाडा लगाइएको छ ।
सार्वजनिक निजी साझेदारी अवधारणअनुरुप यो केन्द्र कुल ३४ लाख ९४ हजार ३ सय २६ रुपैया लागतमा निर्माण भएको थियो । त्यसमध्ये स्थानीय १७ जनाले सेयरवापत ६ लाख ९८ हजार ८ सय ६८ रुपैया केन्द्र निर्माण गर्न लगानी गरेका छन् । नगरपालिकाले सम्झौता वमोजिम सञ्चालनको एक बर्षको रकम दामाशाहीले कटाएर बाँकी फिर्ता गर्ने जनाएको छ । तर, शेयर लगानीकर्ताहरुले भने केन्द्र स्थानीय(लगानीकर्ता)हरुले नै सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । ‘केन्द्रमा हामी १७ जनाको शेयर लगानी छ, त्यसैले हाम्रो लगानी सुरक्षित गर्न पनि हामीलाई सञ्चालन गर्न दिइनुपर्छ, यसको लागि पहल गछौं’–विघटित केन्द्र सञ्चालन तथा व्यावस्थापन समितिका सचिव धर्म तामाङले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे