मान्छे छुटाइदिने भन्दै ठगी गर्ने खम्बुवानका अध्यक्ष पक्राउ


धरान । जाहेरी परेपछि कानुनी कारबाहीको लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा ठगी गरेको अभियोगमा खम्बुवान राष्ट्रिय मोर्चाका सुनसरी जिल्ला अध्यक्ष शिखर खम्बुलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नजिकैको एक घरमा बिहिबार साँझ लेनदेन गरिरहेको अवस्थामा नगद ५० हजारसहित खम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
खम्बुले प्रहरी, प्रशासन र सरकारी वकिललाई मिलाउन भन्दै पैसा लिएको अभियोग छ । प्रहरीलाईसमेत पैसा खुवाउनु पर्ने भन्दै मोलमोलाई भइरहेको गोप्य सुचना पाएपछि खटिएको प्रहरी टोलीले कार्यालय नजिकै रहेको धरान १९ स्थित राधिका राईको घरबाट नगदसहित नै खम्बुलाई पक्राउ गरेको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘रितपुर्वक जाहेरी दरखास्त भई कानुनीरुपमा कारबाही प्रक्रिया अघि बढीरहेको अवस्थामा शिखर खम्बुले छुटाउनको लागि प्रहरी, प्रशासन र सरकारी वकिललाई समेत मिलाउन भन्दै ६० हजार चाहिन्छ, नत्र मान्छे जेल जान्छ भनेर बार्गेनिङ गरेको रहेछ, अन्त्यमा ५० हजारमा कुरा मिलेको सुचना पायौं र तत्कालै नगदसहित नै पक्राउ गर्न सफल भयौं’–डिएसपी थापाले भने ।

प्रहरीका अनुसार धरान १७ का आशा सुनुवारले आफ्नै श्रीमान्ले कुटपिट गरेको उजुरी दिएपछि श्रीमान् किसोरकुमार राई असार ४ गते पक्राउ परेका थिए । केही सार्वजनिक अपराध ऐनअन्र्तगत कारबाही प्रक्रिया बढीरहेको बेला खम्बुवानका अध्यक्ष शिखरले किसोरकी दिदीलाई भाई छुटाउन भन्दै शुरुमा ६० हजार मागे पनि ५० हजारमा मिलेका थिए । ‘अरु मुद्दामा पनि यसरी नै बार्गेनिङ गर्ने गरेको अपुष्ट खबरहरु पाएका छौं, उसलाई यस्तो कामा सघाउने अरु पनि छन् भने तिनिहरुलाई पनि कारबाहीको दायरामा ल्याउछौं’–डिएसपी थापाले भने । यसअघि एउटा मुद्दामा हामीलाई केही दिनुपर्छ, मिलाइदिन्छौं भनेको थाह पाएपछि खम्बुको टोलीलाई प्रहरी कार्यालयबाट निकाला गरेको पनि उनले जानकारी दिए ।
आरोपित खम्बुलाई प्रहरीले शुक्रबार वरादम भएको नगदसहित सार्वजनिक गरेको थियो  । पत्रकार समक्ष उनले अपराध स्वीकार गर्दै अन्य पनि घटनामा संलग्न रहेको बताए । उनले घटनामा राधिका राई, अनेमसंघकी कल्पना श्रेष्ठ र उमेश राई नामका व्यक्तिहरु पनि संलग्न भएको प्रहरीलाई जानकारी दिएपनि आफुलाई मात्रै पक्राउ गरेको बताए । मोलमोलाई भएको ५० हजारमध्ये २५ हजार मात्रै आफुले लिने र बाँकी २५ हजार तीन जनामा बाँडफाड गर्ने सहमति भएको उनले खुलाए । डिएसपी थापाले भने मुख्य नाइके नै खम्बु भएकोले पक्राउ गरेको र खम्बुको वयानबाट नाम खुलेका अन्यलाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए । खम्बुलाई ठगी अपराधमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । मुलुकी ऐनको ठगीको महलमा विगो कायम भएमा विगो भराई विगो बराबारको जरीवाना र ५ बर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ । आरोपित खम्बु गत संविधानसभा चुनावमा खम्बुवानबाट समानुपातिक उम्मेदार थिए । यो पार्टीबाट समानुपातिक मतको आधारमा केन्द्रीय अध्यक्ष आर.के.खम्बु संविधानसभा सदस्य छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे