खुला सिमाना चेलीबेटी बेचबिखनको मुख्य चुनौती


माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला समारोहलाई सम्बोधन गर्दै ।
धरान । माइती नेपालकी अध्यक्ष तथा सिएनएन हिरो २०१० अनुराधा कोइरालाले भारतसँगको खुला सिमाना चेलीबेटी बेचबिखन नियन्त्रणमा मुख्य चुनौती रहेको बताएकी छिन् । रोटरी क्लब अफ धरान तथा रोट्रयाक्ट क्लब अफ धरानको मंगलबार साँझ आयोजित पदस्थापन समारोहमा कोइरालाले यस्तो बताएकी हुन् । समारोहमा प्रमुख अतिथि रहेकी उनले सिमा नाकामा रहेका प्रहरीले आवतजावतमा कडाई नगर्दा पनि दलालहरुले नेपाली चेलीहरुलाई सजिलै भारतको कोठीसम्म पुर्याउने बताइन् ।
धरान आउने क्रममा विराटनगरको जोगवनी नाका पुगेकी उनले त्यसबेला प्रहरीले कसैलाई पनि कडाई एवं निगरानी नगरेको प्रत्यक्ष अनुभव बताइन् । ‘म आफै पनि जोगवनी नाका गएको थिएँ, पुलिसलाई को आयो गयो भनेर वास्तै छैन, यो खुला सिमानाले गर्दा नेपाली चेलीहरुलाई बेचबिखन हुनबाट जोगाउन ठुलो समस्या भइरहेको छ’–उनले भनिन् । भारतमा बेचिने नेपाली चेलीहरुको संख्या अढाई लाख भएको अनुमान गरिएपनि प्रहरीमा भने चौध सयको हाराहारीमा मात्रै उजुरी परेको कोइरालाले बताइन् । न्युन संख्यामा मात्रै उजुरी हुनको कारण पनि प्रहरीको व्यावहार तथा स्वभाव भएको उनको भर्नाइ छ । ‘भारतको कोठीमा अझै पनि अढाई लाख नेपाली महिला छन् भन्ने अनुमान छ, तर पुलिसमा रिपोर्ट भने १४ सय मात्रै छ’–उनले भनिन्–‘पुलिसमा रिपोर्ट गर्न किन जादैनन् त भन्दा पुलिसको व्यवहार र स्वभावमा परिवर्तन नै भएको छैन, छोरी हरायो भनेर रिपोर्ट गर्न जादा पोइला गयो भनेर उल्टै खिसि गर्ने चलन छ ।’

भारतीय कोठीमा ६ देखि १६ बर्षसम्मका बालिका तथा किसोरीहरुलाई जर्बजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको पनि उनले बताइन् । त्यसमध्ये पनि ६ देखि ९ बर्षसम्मका बालिकाहरुको संख्य अत्यधिक छन् । भारतमा सानो उमेरका बालिकाहरुसँग सम्बन्ध राख्दा रोगबाट बचिन्छ भन्ने धारणा छ । त्यसैले कोठी सञ्चालकहरुले इञ्जेक्सन लगाएर बालिकाहरुको शारीरिक बनौट बढाउछन् र उनीहरुलाई यौन कार्यमा संलग्न गराउने गरेको कोइरालाले खुलाइन् । शुरुवातमा भारती प्रहरीले कोठी सञ्चालकहरुबाट हप्ता असुल गरेर उल्टै संरक्षण गर्ने गरेपनि अचेल भने उद्दार गरेर नेपाल फकाउने गरेको भन्दै उनले खुशी व्यक्त गरिन् । नेपालमा पनि शक्तिमा रहेका व्यक्तिहरुले नै डान्स बार र क्याबिन रेष्टुरेष्ट खोलेर गलत क्रियाकलाप गराइरहेकोप्रति उनले सबैको ध्यानाकर्षण गराइन् । ‘विश्वका तीन प्रमुख अपराध मध्ये मावन बेचबिखनको अपराध नेपालमा ठुलो समस्याकोरुपमा छ, यसलाई रोक्न माइती नेपाल र म प्रयत्न गरिरहेका छौं’–उनले भनिन्–‘यसमा समाजका सबै तह र तप्काले साथ दिनुपर्छ, रोटरियनले पनि चेलीबेटी बेचबिखनको विरुद्धमा केही गर्नुस् ।’

          माइती नेपालकी अध्यक्षलाई धरानमा अभिनन्दन


रोटरी क्लब अफ धरान र रोट्रयाक्ट क्लब अफ धरानले माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई अभिनन्दन गरेको छ । रोटरीको ३० औं तथा रोट्रयाक्टको १४ औं पदस्थापन समारोहमा चेलीबेटी बेचबिखन नियन्त्रणमा उल्लेख्य काम गर्नुका साथै प्रेरणाकी स्रोत बनेको भन्दै कोइरालालाई अभिनन्दन गरेको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित समारोहमा रोटरीका नवनियुक्त अध्यक्ष दिपक शाक्य, निवर्तमान अध्यक्ष युगलकुमार श्रेष्ठ, रोट्याक्टकी नवनियुक्त अध्यक्ष आयुष्मा शाक्य र निवर्तमान अध्यक्ष ब्रह्मज्ञ भटराईले अभिनन्दन गरेका थिए । उनले यसअघि सिएनएन हिरो २०१० को उपाधिसहित विभिन्न अवार्ड तथा सम्मान पाइसकेकी छिन् ।

 यसैगरि, सोही समारोहमा स्वास्थ्य क्षेत्रको माध्यमबाट समाजमा पुर्याएको सेवाको कदर गर्दै बीपी प्रतिष्ठानका चिकित्सक एवं मृगौला रोग बिशेषज्ञ डाक्टर सञ्जिव शर्मालाई भोकेशनल अवार्ड प्रदान गरिएको छ । उनलाई प्रमुख अतिथि एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले अवार्ड प्रदान गरिन् । डा.शर्माले मृगौला रोगबाट सर्वसाधारणलाई बचाउन जनचेतनामुलक केएचडिसि कार्यक्रम सञ्चालन गरेर निःशुल्क परीक्षणको व्यवस्था गरेका थिए । यो कार्यक्रम लिएर उनी पूर्वको विभिन्न शहर, गाउँमा मात्रै होइन, घर घरमा पुगेर परीक्षण गराउथे ।

यस्तै, गीत संगीतको क्षेत्रमा योगदान पुर्याएको भन्दै गायिका रमला श्रेष्ठलाई पनि भोकेशनल अवार्ड प्रदान गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा उनले ५ सय भन्दा बढी गीतहरुमा स्वर दिइसकेकी छिन् । सोही समारोहमा २००७ सालको क्रान्तिमा डोजरलाई ट्यांकर बनाएर क्रान्ति सफल बनाउन महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय गौरमणी सिंहलाई पनि मरणोप्रान्त बिशेष सम्मान दिइएको थियो । उनको सम्मान दुई छोरीले ग्रहण गरेका थिए । यस्तै, शिक्षा एवं विकास निर्माणको क्षेत्रमा भौतिक, आर्थिक सहयोग गरेकी वृद्धा साधाना श्रेष्ठलाई पनि बिशेष सम्मान गरिएको थियो । उनीहरु सबैलाई कोइरालाले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदा गरेकी थिइन् ।



 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे