बस व्यावसायीको सिण्डिकेटले पहाडी रुटमा ठप्प

धरान । राज्यले सिण्डिकेट प्रणाली खारेज गरेपनि सार्वजनिक सडकमा बस व्यावसायीहरुको एकाधिकार तोडिन नसक्दा सर्वसाधारण जनताले सहजरुपमा यातायात सेवा पाउन सकेका छैनन् । सडकमा व्यावसायीहरुको एकाधिकार विवादकै कारण मंगलबारदेखि कोशी अञ्चलको पहाडी क्षेत्रमा यात्रुबाहक सवारी साधन ठप्प बनेको छ । अचानक सवारीसाधन नचल्दा सयौं सर्वसाधारण जनताहरु गन्तव्यमा नपुगी बीचमा अलपत्र छन् ।
मितेरी यातायात प्रालिले जेठ १ गतेदेखि काठमाण्डौं–तेह्रथुम रुटमा रात्रीकालीन बस सेवा सञ्चालनमा ल्याएदेखि नै कोशी अञ्चलका बस व्यावसायीहरुले विरोध जनाउदै आएका थिए । मितेरीका सञ्चालक र कोशी अञ्चलका बस व्यावसायीहरुबीच पटक पटक छलफल भएपनि समस्या हल हुन सकेको थिएन । मंगलबार बिहान करिब ४ बजे काठमाण्डौंबाट तेह्रथुम जिल्लातर्फ गइरहेको मितेरीको ना ५ ख १२२५ नम्बरको बसलाई धरानमा नियन्त्रण लिएर टायरको हावा खुस्काई दिएपछि विवादले उग्ररुप लिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक मजदुरलाई पक्राउ गरेपछि कोशी अञ्चलका बस व्यावसायी र मजदुरहरुले सडकमा बस तेस्र्याएर पहाडी रुटमा चल्ने यातायात ठप्प पारे ।
धरानको भानुचौक र बसपार्क क्षेत्र अस्तब्यस्त भएपछि प्रहरीले साढे ८ बजेतिर पक्राउ परेका मजदुरलाई छोडेपनि व्यावसायीहरुले पहाडी रुटमा गाडी नचलाउने निर्णय गरेपछि सयौं यात्रुहरु धरानमै अलपत्र छन् । प्रशासनले वार्ताको पहल गरेर ठोस निर्णय र सहमति नभएसम्म कोशीको पहाडी रुटमा सार्वजनिक यातायातका साधान नचलाउने ८ वटा बस व्यावसायी तथा माइक्रो व्यावसायीहरुको अडान छ । धरानबाट मात्रै दैनिक अढाई सय गाडी पहाडी क्षेत्रमा जाने गर्छ । कोशी राजमार्ग हुदै धरानबाट धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरसम्म यातायातका साधान चल्छन् । व्यावसायीको विवादले मंगलबार भने कुनै पनि सवारी धरानबाट छुटेनन् । टिकट काटेर गाडीमा बसिसकेका यात्रुहरुलाई पनि व्यावसायीहरुले ओरालेका थिए । ‘बिहान ४ बजेको पहिलो बस थियो, गाडी छुट्नै नपाई बन्द भयो । हामी त अलपत्र पर्यौं’–जरायोटार ४ भोजपुरका टिकाराम राईले भने–‘साढेको जुधाई बाछाको मिचाई जस्तै भयो । गाडी मालिकहरुको विवाद रहेछ ।’ उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचार सकेर मंगलबार घर फर्किदै थिए ।
खासमा यो विवाद मेची र कोशी अञ्चलका व्यावासायीहरुको सडकमा आफुहरुको कब्जा(एकाधिकार) हुनुपर्छ भन्ने भावनाले निम्तिएको जानकारहरुको बुझाई छ । कोशी र मेचीका बस व्यावसायीहरु आफ्नो एकाधिकार भएको क्षेत्र एवं सडकमा एकले अर्कोलाई बस चलाउन नदिन अनेक हतकण्डा अपनाउने गरेका छन् । अहिले विवादमा आएको मितेरी यातायातमा मेचीका व्यावसायीहरुको पनि लगानी छ । मितेरीका लगानीकर्ता मध्ये एक भक्त लामा राज्यबाट रुटपरमिट लिएर वैधानिकरुपमा गाडी चलाउन खोज्दा कोशीका व्यावसायीहरुले अराजकशैली देखाएको आरोप लगाउछन् । तेह्रथुमका जनतालाई राहत पुग्ने गरी सिधै राजधानी चल्ने रात्री बसको आवश्यक भएर पनि कोशीका बस व्यावसायीहरुको सिण्डिकेटको कारणले नै समस्या भएको उनले बताए । ‘हामीले राज्यको निकायबाट रुटपरमिट लिएका छौं, तेह्रथुमका जनतालाई रात्री बस आवश्यक पनि छ । तर कोशीका व्यावसायीहरु तेह्रथुमबाट बस चल्नै हुदैन भन्छन्’–लामाले भने–‘सिण्डिकेट राज्यले खारेज गरिसक्यो, तर यहाँ व्यावसायी संघको नाममा ज्यादती हटेको छैन ।’ तेह्रथुम काठमाण्डौं रुटमा मितेरीबाहेक अर्को फेसबुक नामको रात्रीकालीन बस गरी दुई वटा मात्रै चल्छन् । तेह्रथुम जाने ठुला साना सबै सवारीले रुट परमिट भने वसन्तपुरसम्मको मात्रै पाएका छन् । तर, ती सबै सवारी म्याङलुङसम्मै पुग्ने गर्छन् ।
कोशीमा पूर्वाञ्चल यातायात व्यावसायी संघ, कोशी बस व्यावसायी संघ, संयुक्त बस व्यावसायी संघ, सिद्धार्थ माइक्रो व्यावसायी संघ, ओमसाई मिनी माइक्रो व्यावसायी संघलगायत ८ वटा संघहरु छन् । मेचीमा पनि व्यावसायीहरुका यस्तै अनगिन्ती संघ छन् । यी संघमा सदस्यता एवं आवद्ध नभईकन राज्यबाट रुटपरमिट लिएर पनि सार्वजनिक यातायातका साधान गुड्न सक्दैनन् । तर, सप्तकोशी बस व्यावसायी संघका सचिव हरि थापा भने सिण्डिकेट लगाएको कुरा अस्वीकार गर्दै रात्री सेवाको बसले लोकल यात्रुलाई पनि चढाएर लोकल व्यावसायीलाई धारासायी बनाउन खोजेकाले मात्रै विरोध जनाएको बताउछन् । ‘रात्री बस ४ बजेपछि छुट्ने हो, तर तेह्रथुमबाट यी बस १२, १ बजेतिरै छुट्छन् । धनकुटा, धरान, इटहरीको लोकल पेसेन्जर पनि उठाइदिन्छ’–सचिव थापालले भने–‘राज्यले पनि आवश्यकता नहेरीकनै परमिट दिन्छ ।’ अहिले धनकुटाको हिले–काठमाण्डौं रुटमा मात्रै रात्री बस चलाउन आग्रह गरेपनि मितेरीका सञ्चालकले जर्बजस्ती गरेको उनले बताए । अञ्चल यातायात व्यावस्थापन समितिका संयोजक एवं सुनसरीका प्रजिअ सुर्दशन ढकालले यातायात सुचारु गराउन व्यावसायीहरुसँग पहल गर्ने बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे