काठ तस्करलाई १० दिनको म्याद थप


धरान । ठुलो परिमाणमा तस्करी गरिरहेको सखुवाको गोलिया काठसहित रंगेहात पक्राउ परेका चार जनालाई इलाका वन कार्यालय धरानले म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । वन कार्यालयले आरोपितसँग वयान लिएर मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतबाट १० दिनको म्याद थप भएको र अनुसन्धानलाई तीब्ररुपमा अघि बढाइएको सहायक वन अधिकृत ज्ञानकुमार लामाले बताए । उनका अनुसार सर्जिमिन गर्ने र पक्राउ परेकाले नाम पोलका अन्य व्यक्तिहरुको खोजीमा वन कार्मचारीहरु जुटिसकेको छ । तीन दिनअघि(सोमबार) धरान प्रहरीले सखुवाको गोलिया काठसहित चार जनाहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका धरान १५ का काजिमान राई, धरान ११ का रमेश भनिने नरेन्द्र राई, धरान ८ का रमेश राई र उत्तम फर्निचर उद्योगका चन्द्र श्रेष्ठ हाल तरहरास्थित वनको सशस्त्र सुरक्षा क्याम्पको हिरासतमा राखिएको छ ।
वन कार्यालयका अनुसार पक्राउ परेकामध्ये नरेन्द्र र रमेश राई लामो समयदेखि काठ तस्करीमा संलग्न रहेको खुलेको छ । उनीहरुले धरानमा सञ्जाल बनाएर नै वन क्षेत्रबाट सखुवाको गोलिया तस्करी गरेको अनुसन्धानबाट देखिएको वन कार्यालयले जनाएको छ । ‘पक्राउ परेकाहरुले अरु पनि नाम पोलेका छन्, तस्करीमा ठुलो नेटवर्क रहेछ ।’–सहायक वन अधिकृत लामाले भने–‘वयान लिइसक्यौं, अदालतबाट दश दिनको म्याद थप भएको छ । गोप्यरुपमा अनुसन्धान र खोजी शुरु गरिसकेको छौं ।’


प्रारम्भिक अनुसन्धानबाट नरेन्द्रले यसअघि पनि सुनसरीको दक्षिणी वन क्षेत्रबाट रातको समयमा गोलिया तस्कारी गरेर धरान ल्याउने गरेको खुलेको छ । उनले यसअघि प्रायः धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा ल्याउने गरेको खुलेको छ । यो उद्योग चन्द्र श्रेष्ठको नाममा दर्ता छ भने त्यहाँको सम्पुर्ण कारोबार रमेश राईले जिम्मा लिएका थिए । गत माघ २३ गते पनि यो उद्योगमा रातको समयमा ठेला गाडा प्रयोग गरेर लांघाली वन क्षेत्रमा सखुवाको रुख ढालेर गोलिया ल्याएको फेला परेको थियो । तर, त्यसबेला भने वन कर्मचारी दाहिने हुदा उद्योग सञ्चालक कारबाही हुनबाट जोगिएको थियो । सञ्चालक श्रेष्ठले ठेला आफ्नो भएपनि राती अरुले चोरेर लगेको भन्दै सहजै पन्छिएका थिए ।
गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार बिहान करिब अढाई बजे सर्दु खोला क्षेत्रबाट ६ वटा सखुवाको गोलियासहित काजीमान र नरेन्द्रलाई पक्राउ गरेको थियो । दुवैले को १ ख २३७५ नम्बरको मिनि ट्रकमा लुकाएर गोलिया धरानतर्फ ल्याउदै थिए । पक्राउ परेको नरेन्द्रको वयानको आधारमा प्रहरीले धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा छापा मार्दा त्यहाँ थप ८ वटा सखुवाको गोलिया लुकाइरहेको अवस्थामा फेला परेको थियो भने चिरानी गरिसकेको अवस्थामा पनि थप काठ फेला परेपछि सञ्चालक चन्द्र श्रेष्ठ र कारोबारको जिम्मेवारी लिएका रमेश राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट कुल २०३.१३ क्युफिट काठ वरामद गरेको थियो । यो धरानमा पक्राउ परेको हालसम्मकै ठुलो परिमाण काठ भएको वन कार्यालयले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे