तेक्वान्दोमा आयोजक टिम च्याम्पियन

प्रतियोगिताको च्याम्पियन बनेको टिम
धरान । पूर्वाञ्चल क्षेत्रीय अन्तर नगरपालिका तेक्वान्दो प्रतियोगितामा आयोजक धरान तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ । शनिबार धरान १० स्थित कवर्ड हलमा सम्पन्न प्रतियोगितामा आयोजकले ३ स्वर्ण एक रजत र एक काँस्य पदकसहित च्याम्पियन बनेको हो ।
यस्तै, प्रतियोगिता ३ स्वर्ण र एक काँस्य पदक जितेको धनकुटा नगरपालिका दोस्रो बन्यो । च्याम्पियन बनेको आयोजकको लागि महिला ४४ केजी तौल समुहमा सिना मादेन, पुरुष ५० केजी तौलमा विवेक राई र पुरुष ५४ केजी तौल समुहमा अर्जुन सुनुवारले स्वर्ण पदक दिलाएका थिए । यसबाहेक, आयोजकको लागि महिला ४६ केजी तौल समुहमा अनिता राईले एक रजत दिलाइन् भने पुरुष ४५ केजी तौल समुहमा योगेश राईले एक कास्य पदक दिलाए ।

दोस्रो बनेको धनकुटा नगरपालिकाको लागि महिला ५५ केजी तौल समुहमा सृर्जना बिक, ४६ केजीमा सुनिता तामाङ र पुरुष ४५ केजी तौल समुहमा संगम राईले स्वर्ण पदक जितेका थिए । धनकुटाको लागि महिला ४४ केजी तौल समुहमा पर्वती राईले थप एक काँस्य पदक दिलाइन् । प्रतियोगतामा धरान नगरपालिकाका नारायण राईले ५० केजी तौल समुह र ४५ केजी तौल समुहमा तुफान बिकले रजत पदक जितेका थिए भने इटहरी नगरपालिकाको लागि ५४ केजी तौलमा सतिस काफ्ले र ५५ केजी तौलमा सुसिला राईले दुई रजत पदक दिलाए । यस्तै, विराटनगर उपमहानगरपालिकाको लागि ४४ केजी तौल समुहमा निर्मला श्रेष्ठले एक रजत पदक जितेकी थिइन् । प्रतियोगितामा महिलातर्फ आयोजककी सिना मादेन र पुरुषतर्फ धनकुटाका संगम मादेन बेष्ट फाइटर घोषित भए ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई आयोजक डोजाङका अध्यक्ष गोपाल राई, प्रमुख अतिथि एवं नेपाली सेनाका इटहरीस्थित पूर्वीपृतना हेडक्वार्टरका पृर्तनापति विनोद बस्न्यात, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङ, टेबलटेनिसका बरिष्ठ प्रशिक्षक विनोद शाक्य, बराह ज्वेलर्सका गंगा कालिकोटेलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता धरान तेक्वान्दो डोजाङले शुक्रबारदेखि आयोजना गरेको थियो । प्रतियोगितामा पूर्वको ९ वटा नगरपालिका र आयोजकको एक गरी १० वटा टिमले भाग लिएको छ । प्रतियोगितामा विभिन्न ६ वटा तौल समुहमा स्पर्धा भएको थियो । प्रतियोगिताको स्वर्ण पदक विजेता खेलाडीहरुले राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे